दुई जहाजहरू ग्राउन्डेड भएपछि मन्त्री पाण्डेले निगमका अध्यक्षलाई सोधे ११ बुँदे स्पष्टीकरण

दुई जहाजहरू ग्राउन्डेड भएपछि मन्त्री पाण्डेले निगमका अध्यक्षलाई सोधे ११ बुँदे स्पष्टीकरण
सुन्नुहोस्

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ। संस्कृति पर्यटन तथा सहकारी मन्त्री बद्री पाण्डेले सेवा नै अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाएको भन्दै अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका हुन्। 

मन्त्री पाण्डेले अध्यक्ष अधिकारीलाई ११ बुँदे प्रश्न सोधेका छन्। निगमका जहाजहरूको मर्मत तथा सी-चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी-चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चित हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको जवाफ अध्यक्ष अधिकारीसँग मागरिएको छ। सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सी-चेकका लागि पठाइनुको कारण पनि मन्त्री पाण्डेले सोधेका छन्।

'नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफासमेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवं कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षति'बारे अध्यक्ष अधिकारीसँग जवाफ मागिएको छ।

यी हुन् अधिकारीलाई सोधिएका ११ बुँदे प्रश्न

१.निगमका जहाजहरूको मर्मत तथा सी–चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चित हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रक्रिया नसक्नुको कारण सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सी–चेकका लागि पठाइको सम्बन्धमा

२.जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता हुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी /गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईँले किन वहन गर्नु नपर्ने हो ?

३. सी–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी-चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बिचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाही पूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सी-चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्राष्ट्रियता ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा ।

६. समयबद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठुलो मात्रामा (करिब २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल–अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममा करिब  ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईँको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि प्राप्त नगर्दै कर्मचारीहरू खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापलाईको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.