नेकपा एसको बागलुङ सिंगो जिल्ला कमिटी एमालेमा समाहित
बागलुङ : नेकपा एकीकृत समाजवादीको बागलुङ जिल्ला कमिटी पुरै एमालेमा समाहित भएको छ । बिहीबार नेकपा एमाले बागलुङले समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरूलाई पार्टीमा स्वागत गरेको हो ।
एकीकृत समाजवादी बागलुङ जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ । एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइन्ट हस्तान्तरण गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई पार्टीमा स्वागत गरेका छन् ।
एमालेकी केन्द्रीय पोलिट्व्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र सचिव गणेश बहादुर थापामगर तथा एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन् । पार्टी विभाजनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको हुँदा एकीकृत भइ अगाडि बढ्ने निर्णयमा पुगेको उनीहरूले बताएका छन् । अनुभवको जगमा उभिएर राष्ट्रिय स्वाधीनता र श्रमजीवी जनताको पक्षमा पैरवी गर्दै प्रतिशोध र जडताबाट होइन, रचनात्मक र सृजनात्मक चेतनाको विकास गर्दै अगाडी बढ्नुपर्छ भन्ने भावनाका साथ एकताबद्ध भएर अगाडी बढ्ने संकल्प गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरूले पार्टी समायोजन गर्दै कम्युनिष्ट आनेलनको मूल प्रवाहको रुपमा स्थापित एमालेलाई थप मजबुत बलियो बनाउने प्रण समेत गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न र समाजवादको स्थापना गर्न बलियो निर्णायक राष्ट्रिय शक्तिको निर्माण आजको आवश्यकता भएकोले एमालेलाई बलियो निर्णायक राष्ट्रय शक्तिको रुपमा स्थापित गर्न सबै बामपन्थी, प्रगतिशील शक्तिहरूलाई पनि एमालेमा समाहित हुन विज्ञप्तिमा आग्रह गरेका छन् ।
एमालेमा समाहित भएका नेकपा एसका विभिन्न तहमा रहेका नेताकार्यकर्ताहरूलाई विधानका परिधिभित्र रहेर पूर्ववत् जिम्मेवारीमा पुनस्र्थापित गर्ने र नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीका स्थापित मुल्य, मापदण्ड र योग्यताका आधारमा उपयुक्त एवं यथोचित जिम्मेवारी प्रदान गर्ने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ । यस्तै नेता कार्यकर्ताहरुको उपयुक्त व्यवस्थापनलाई तात्विक निष्कर्णमा पुर्याउनको लागि एमालेका तर्फबाट मनकुमारी केसी, डा. सुर्य पाठक, इन्द्रलाल सापकोटा हिरा केसी र गणेश थापा तथा एकीकृत समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल गठन गरेको छ ।
नेकपा एमालेका इन्चार्ज गुरुङले विशेष कारणले बाहिर रहेका कमरेडहरु आफ्नै घरमा फकिएको र दाजुभाइबीच भेट भएको बताउँदै अब पछाडि नफर्किएर कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन अगाडि बढ्नुपर्ने बताए । ‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्दै अगाडि बढाउन र सामाजिक रुपान्तरणको आन्दोलनलाई थप उचाईमा पुराउन एकतावद्ध पार्टीबाट मात्रै सम्भव छ,’गुरुङले भने,‘हिजो विशेष कारणले बाहिर रहनु भएका कमरेडहरू आज आफ्नै घरमा आउनु भएको छ । आज दाजुभाइबीच पुर्नमिलन भएको छ । अब सँगै मुक्तिको आन्दोलन अगाडि बढाउनेछौं । अन्यत्र रहेका कमरेडरूलाई पनि एमालेमा समायोजन हुन आग्रह गर्दछु ।’
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले नेतृत्वले जुन उद्देश्यले एमालेबाट विद्रोह गरेर समाजवादीको जन्म भएको थियो त्यसको औचित्य प्रमाणित गर्न नसकेको कारण आफू एमालेमा फर्किएको बताए । ‘एमालेबाट विद्रोह गरेपछि समाजवादी निर्माण गरेका थियौं । मुख्य एजेन्डा नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित गर्ने, विचलन र विसंगतीहरुलाई अन्त्य गर्दै कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने उद्देश्यले जन्म भएको हो,' शर्माले भने,‘तर, नेतृत्व उद्देश्य अनुरुप पार्टीलाई अगाडी बढाउन चाहेन । सोही कारण पुरानै घरमा फर्किएर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने निर्णय गरेका छौं ।’
शर्मा समाजवादीको पोलिट्व्यूरो सदस्यमा हिजो मात्रै पराजित भएका थिए । शर्माले पोलिट्व्यूरो सदस्यमा पराजित भएकै कारण समायोजन नभएको बताउँदै निर्वाचित भएको भएपनि समायोजन प्रक्रियामा समावेश हुने बताए । जिल्ला अध्यक्ष लाल बहादुर थापाले अलग अलग रुपमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिंगो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको बताए ।
पार्टी जिल्ला अध्यक्ष हिराबहादुर केसीले बागलुङबाट नयाँ सन्देश दिन यो समायोजनको कार्यक्रम आयोजना गरिएको बताए । उनले टुटफुट र विभाजनले जनताको चाहना पुरा गर्न नसकिने बताउँदै एकता आवश्यक रहेको बताए । उनले केन्द्रमा सत्ताको लागि एकता र टुटफुट हुने गरेको बताउँदै जनताको चाहना र समृद्धिको लागि तल्लो तहबाट नै एकताको अभियान सञ्चालन गरिएको बताए ।