काठमाडौं विश्वविद्यालय र हिमालय महालक्ष्मी टि गार्डेनबीच सहकार्य
काठमाडौं : काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्स र हिमालय महालक्ष्मी टि गार्डेन प्रालि बीच कृषि क्षेत्रमा विश्वविद्यालय र कृषि उद्योगको संयुक्त सहकार्यबाट उत्कृष्ट मानव श्रोतको विकाश गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा मिति भदौ १२ गते समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ।
उक्त समझदारी पत्रमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सका तर्फबाट डिन प्रा. डा. जनार्दन लामिछाने र हिमालय महालक्ष्मी टि गार्डेन प्रालि को तर्फबाट सञ्चालक, सुदर्शन चापागाईंले हस्ताक्षर गरे।
नेपालमा चिया खेतीको प्रारम्भिक चरणबाट नै हिमालय महालक्ष्मी टि गार्डेन प्रालिले चिया उत्पादन गर्दै आइरहेकोमा चिया खेती सम्बन्धमा नेपालका विश्व विद्यालयहरूमा छुट्टै कोर्षका रूपमा पढाइ नभइरहेकोले सो क्षेत्रमा प्राविधिक कर्मचारीहरूको अभाव रहेको वर्तमान अवस्थामा काठमाण्डौं विश्वविद्यालय र हिमालय महालक्ष्मी टि गार्डनेरको यो प्रयासले नयाँ अभ्यासको सुरुवात गर्ने र विकाशको एउटा चरणका रूपमा रहने विश्वास लिइएको छ।
उद्योग र विश्वविद्यालयको सहकार्यले सैद्धान्तिक र प्रयोगात्मक शिक्षाबाट उत्कृष्ट स्तरको शिक्षा प्राप्त गर्न सकिने भएकोले काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्स र हिमालय महालक्ष्मी टि गार्डेनबीच काठमाडौं विश्वविद्यालयको कृषि विभागमा अध्ययनरत विद्यार्थीहरूलाई हिमालय महालक्ष्मी टि गार्डेनमा प्रयोगात्मक र अनुसन्धानात्मक ज्ञान प्रदान गर्न पठाइने सहमति भएको छ। काठमाडौं विश्वविद्यालयले हिमालय महालक्ष्मी टि गार्डेनका कर्मचारीहरूलाई कृषि प्राविधिक तालिम प्रदान गर्दै चिया लगायत अन्य व्यावसायिक खेती सम्बन्धी ज्ञान, सिप र क्षमता बढाउने कार्यमा सहयोग गर्नेछ।
विश्वविद्यालयले हिमालय महालक्ष्मी टि गार्डेनमा एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गरी चिया तथा व्यावसायिक खेती लगायत कृषि उत्पादनमा विश्वविद्यालयका उच्च शिक्षाका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूबाट अनुसन्धान गराउने र निजहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने कार्य गराउनेछ, जसबाट चिया बगानहरू समेत लाभान्वित हुनेछन्।
यस प्रकारको चिया तथा कृषि उत्पादनमा अनुसन्धान गर्ने गराउने सहकार्यले काठमाडौं विश्वविद्यालयमा चिया लगायत अन्य व्यावसायिक खेतीमा प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम जनशक्ति उत्पादन हुने अपेक्षा लिइएको छ। हिमालय महालक्ष्मी टि गार्डेनले काठमाडौं विश्वविद्यालयको अनुसन्धानबाट प्राप्त निष्कर्षलाई चिया लगायत अन्य व्यावसायिक खेतीको उत्पादनमा प्रयोग गर्नेछ। यसबाट चिया तथा कृषिको क्षेत्रमा युगान्तकारी सुधार हुने तथा चिया उत्पादन तथा प्रशोधनमा समेत आधुनिकीकरण हुने अपेक्षा गरिएको छ।