ढल्केवर स्वास्थ्य चौकीमा जनमतको छड्के

ढल्केवर स्वास्थ्य चौकीमा जनमतको छड्के
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरस्थित स्वास्थ्य चौकीमा जनमत पार्टीका स्थानीय नेताहरूले छड्के अनुगमन गरेका छन्। शुक्रबार जनमत पार्टीका मिथिला नगरपालिकाका नगर अध्यक्ष अभिमन्युप्रसाद महतोको नेतृत्वमा स्वास्थ्य चौकी पुगेका स्थानीय नेता कार्यकर्ताहरू त्यहाँको अवस्था बुझ्न स्थलगत निरीक्षण गरेका हुन्।

उनीहरूले स्वास्थ्य चौकीका प्रमुखसँग विभिन्न १० बुँदामा लिखित जवाफसमेत माग गरेका छन्। स्वास्थ्य चौकीमा व्यापक अनियमितता भएको भन्ने व्यापक जनगुनासो बढेपछि आफूहरूले पहलकदमी स्वरूप छड्के निरीक्षण गरेको जनमत पार्टीका धनुषा जिल्ला समन्वय समिति सदस्य सरोज कुमार सिंहले जानकारी दिए।

‘केही दिनअघि मात्रै कर्मचारीको हाजिरी रजिस्टर गायब भएको घटनाले अहिले माहोल तातेको छ। स्वास्थ्य चौकीमा व्यापक अनियमितता भएको गुनासाहरू पनि आइरहेको छ। सेवाग्राहीहरूले पनि उचित सेवा पाउन नसकिरहेको कुराहरू छ,’ सिंहले भने ‘स्वास्थ्य चौकीको वास्तविक अवस्था बुझ्न हामीले छड्के गरेका हौं। यस क्रममा हामीले धेरै कमिकमजोरीहरू पाएका छौं। लिखित जवाफ पनि मागेका छौं। सबै कुरा आइसके पछाडि हामी सुधारका लागि प्रयत्न गर्छौं।’

अहिले प्रदेश सरकारमा आफूहरूको पार्टीले नेतृत्व गरिरहेकाले स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रलाई मजबुत बनाउन आफूहरू प्रयासरत रहेको जनमत पार्टीका नगर अध्यक्ष अभिमन्यु महतोले बताए। उनले स्वास्थ्य चौकीमा स्थानीय सरकारले नजरअन्दाज गरेको आरोप लगाए। ‘हामीले स्थलगत बुझ्ने क्रममा स्वास्थ्य चौकीमा चरम लापरवाही देख्यौं। सरसफाईको अभाव। खानेपानीको कुनै प्रबन्ध नै भेटिएन,’ अध्यक्ष महतोले भने ‘यहाँका सबै समस्याहरू लिएर प्रदेश सरकार कहाँ जान्छौं। त्यसका लागि विभिन्न विषयमा स्वास्थ्य चौकी प्रमुखसँग जवाफ मागेका छौं।’

उनीहरूले कर्मचारी उपस्थिति हाजिरी रजिस्टर सम्बन्धमा, औषधि तथा उपकरण, आवश्यक जनशक्ति, भौतिक संरचना, प्याथोलोजीको अवस्था, प्रसूति सेवा, इमर्जेन्सी सेवा, निःशुल्क औषधिको विवरण र एम्बुलेन्सको अवस्था लगायत विभिन्न १० बुँदामा लिखित जवाफ मागेका छन्।

ती पत्र बुझ्दै स्वास्थ्य चौकीका इन्चार्ज सहदेव यादवले स्वास्थ्य चौकीको अवस्थाप्रति स्थानीय राजनीतिक दलले चासो देखाएको विषयलाई आफू सकारात्मक रुपमा लिएको बताए। स्वास्थ्य चौकीको क्रमिक सुधारका लागि आफूले पनि कसरत गरिरहेको उनको भनाइ थियो। विभिन्न शीर्षकमा जानकारी माग भई आएको विषयमा आफूले छिट्टै लिखित जानकारी उपलब्ध गराउने विश्वास दिलाए।

हाजिरी रजिष्टर कता गायब भयो भन्ने जिज्ञासामा इन्चार्ज यादवले भने ‘त्यो रजिष्टर फेला परिसकेको छ। त्यस विषयमा स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.