सफारी चालकको प्रदर्शन रोकियो, कोशी लोकमार्गमा यातायात सुचारु

सफारी चालकको प्रदर्शन रोकियो, कोशी लोकमार्गमा यातायात सुचारु
सुन्नुहोस्

विराटनगर : विराटनगरमा सीटी सफारी चालकको प्रदर्शनका कारण अवरुद्ध बनेको कोशी राजमार्ग (लोकमार्ग) सुचारु भएको छ। 

सफारी चालकले सडकको प्रदर्शन रोकेपछि लोकमार्ग नियमित रूपमा सञ्चालनमा आएको हो। विराटनगरको बरगाछीस्थित राजमार्गमा सफारी राखेर सीटी सफारी चालकले नाराबाजी र प्रदर्शन गर्न थालेपछि सवारी आवागमन पूर्णरूपले प्रभावित बनेको थियो। 

सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्दा यातायातका साधन चल्न सकेका थिएनन्। त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि पनि प्रदर्शन गरेका थिए। 

विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएको विरोधमा चालकहरु आन्दोलित बनेका हुन्। उनीहरुले सरकारी निर्णय तत्काल सच्याउनुपर्ने माग राखेका छन्। विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको थियो। 

त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका सफारी चालकले राजमार्गमा सफारी चलाउन पाउनुपर्ने माग गरेका थिए। सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन्। 
राजमार्ग नै अवरुद्ध पारेर आन्दोलन सुरु भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले सफारी चालकहरुलाई वार्तामा बोलाएका छन्। उनले भोलि (शनिबार) बिहान ११ बजेका लागि वार्तामा आउन आग्रह गरेका हुन्।
सीडीओले वार्तामा बोलाएपछि सफारी चालक प्रदर्शन रोकेर फिर्ता भएका छन्। तत्काललाई आन्दोलन रोकिएपछि लोकमार्ग नियमित रूपमा सुचारु भएको हो। 

सफारी चालकहरुलाई वार्तामा बोलाइएको र छलफलबाटै समस्याको समाधान गरिने जानकारी सीडीओ भट्टराईले दिए। उनका अनुसार सफारी चालक, ट्राफिक प्रहरी र नगर प्रहरीसहित जिल्ला प्रशासन कार्यालयमा वार्ता हुने छ। छलफलबाट कानुनबमोजिम र व्यवहारिकतासमेत हेरेर निष्कर्ष निकालिने भट्टराईको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.