सुनुवाई समितिमा प्रस्तावित राजदूतका उजुरीकर्तासँग छलफल
काठमाडौं : संसदीय सुनुवाई समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँच जना उजुरीकर्तासँग छलफल गरेको हो। उजुरीकर्तासँगको छलफलपछि अब भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।
प्रस्तावित राजदूतहरूविरुद्ध ९ वटा उजुरी परेकोमा उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइकेल र अर्का एक जनाले आफ्नो उजुरीको औचित्य पुष्टि गरेको उनले बताए।
राजदूतको सुनुवाई सकिएपछि २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने समितिले जनाएको छ। सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो। संविधानअनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।