सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु
परासी : निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर शुक्रबार दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले बताए।
मृत्यु हुनेमा घरभेटीका ३८ वर्षीय छोरा प्रकाश सिंह क्षेत्री, सोही ठाउँ बस्ने छिमेकी १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री बर्दघाट नगरपालिका–७ मोहम्मद राजा रहेका छन्। सेफ्टी ट्यांकीको उचाइ ८ फिट रहेको छ।
निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वाल भित्रबाट सुरुमा मिस्त्री मोहम्मद गएका थिए। उनी निसासिएपछि उनको उद्धारका लागि प्रकाश गएको र दुवै जना निसासिएपछि अन्तिममा गएका गणेशसमेत निसासिएका थिए।
तीनै जना निसासिएको खबर पाउन साथ अक्सिजनसहित पुगेको इलाका प्रहरी कार्यालयका सई महेश रायमाझीको प्रहरी टोली र स्थानीयले उनीहरूलाई बाहिर निकालेको थियो। बेहोस अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।