मैनालीको मुकाम रणमैदानले पायो मदन पुरस्कार

मैनालीको मुकाम रणमैदानले पायो मदन पुरस्कार
सुन्नुहोस्

काठमाडौं : मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार मोहन मैनाली र जगदम्बा श्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ। 

गुठीको आज बसेको बैठकले ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गरेको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार र २०८० सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मैनालीले लेखेको ‘मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान’ पुस्तकका लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पुस्तकलाई परिश्रमपूर्वक ऐतिहासिक सन्दर्भ खोजबिन र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएकाले मैनालीको कृतिलाई मदन पुरस्कार दिइएको विज्ञप्तिमा उल्लेख छ। मदन पुरस्कारका लागि गुठीमा तीन सय चारवटा पुस्तक प्राप्त भएका थिए। त्यसमध्ये मैनालीसहित पाँच जनाको पुस्तक छनोटमा परेको गुठीले जनाएको छ।  

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भएको थियो। सम्मान कार्यक्रम भने २०१४ सालमा गरिएको थियो। गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार रुपैयाँ थियो। समयक्रममा बढ्दै २०७५ सालदेखि चार लाख रुपैयाँ राशि बनाइएको छ। 

२०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए। जोशीले तीनपटक मदन पुरस्कार पाएका छन्। 

रानी जगदम्बाको स्वर्गारोहणपछि उनको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा ‘जगदम्बा–श्री’ सम्मान  स्थापना गरेको थियो। एक लाख रुपैयाँ राशिको सम्मान २०४५ सालदेखि नै समर्पण गर्न थालिएको हो।
  
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा प्रकाशित उत्कृष्टमध्ये एक कृतिलाई प्रदान गरिन्छ। ‘जगदम्बा–श्री’ नेपाली भाषा, संस्कृति, साहित्यलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार भएको गुठीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.