ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी

नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारको चेतावनीपछि निर्माण कम्पनी काममा फर्कियो

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी
फाइल तस्बिर।
सुन्नुहोस्

नवलपुर : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिए। 

'निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,' उनले भने, 'घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।' नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उनले बताए। 

'निर्माण व्यवसायी चाइनाको सरकारी कम्पनी हो,' उनले भने, 'जसरी हुन्छ नारायणगढ बुटवल सडक विस्तारको काम थप भएको समयमा सक्नका लागि हामीले डिप्लोमेटिक पहलसमेत थालेका छौँ ।' निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको ढकालले बताए। अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताए। 

निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिए। मनसुनअगाडि नै ‘सबबेस’ र ‘बेस’को काम सकिएको ठाउँमा कालोपत्रको काम पुनः सुरु गरिएको उनको भनाइ छ । 

अहिले नारायणगढ बुटवल सडकको पूर्वी खण्डमा पर्ने गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा कालोपत्र गर्ने काम भइरहेको थापा मगरको भनाइ छ । 'मनसुन अगाडि सबबेस र बेस निर्माण गरेर राखिएको ठाउँको कालोपत्र गर्ने काम सकेपछि बाँकी रहेका ठाउँमा सबबेस र बेस निर्माण गर्ने निर्माण व्यवसायीको तयारी छ,' उनले भने, 'अब मनसुनले असर पुर्‍याएन भने काम तीव्र गतिमा हुँदैछ ।' कालोपत्रको कामसँगै सडकका खाल्डाखुल्डी पुर्ने र सडकमा पानी छर्किने कामसमेत भइरहेको उनले बताए। 

नारायणगढबाट बुटवलसम्म एक सय १४ किलोमिटर रहेको यस खण्डलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । नारायणगढबाट दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेबाट बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्ड गरी सडक विस्तारको काम भइरहेको छ । ग्लोबल टेन्टरमार्फत दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले हात पारेको थियो । 

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएअनुसार असार मसान्तसम्म पूर्वी खण्डमा ५२ दशमलव ५१ प्रतिशत भौतिक र ४६ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस अवधिसम्म एक सय ७२ वटा कल्भर्ट निर्माण सम्पन्न, २२ वटा साना पुल निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । एकतर्फी हिसाब गर्दा एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्ने यस खण्डमा करिब ४५ किलोमिटर कालोपत्र तथा ४० किलोमिटर नाली निर्माणको काम सकिएको निर्देशनालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।   

यस खण्ड विस्तारका लागि विसं २०७५ माघमा सम्झौता भएर सोही वर्षको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको बुटवलमा शिलान्यास गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.