भाइरलको चपेटामा ‘तीज गीत’

भाइरलको चपेटामा ‘तीज गीत’

काठमाडौं : हरितालिका ‘तीज’ नजिकिँदै छ। महिलाका सुखदुःख र जीवन संघर्षका कथा सुनाउने चाडको हिन्दु धर्मावलम्बीको मुख्य पर्व हो। तीजलाई रमाइलो पर्वको रूपमा लिइन्छ। तीज आउनुपूर्व नै रेडियो, टीभी तथा विभिन्न सञ्चारमाध्यममा बजाइने तीजका भाकाले रौनक बढाउँछ। विशेषतः भगवान् शिवको पूजा आराधनासहित दर खाने र तीजका भाकामा नृत्य गरेर मनाइने गरिन्छ।

दिदीबहिनीले कर्मघरमा पाएका दुःख, भोगेका प्रताडना र संघर्षलाई भाका बनाएर तीज बन्ने गर्थे। यस्तै कथा कहानीका सुमधुर गीत सुनेरै हुर्किएका हौ हामी। तर पछिल्लो समय आएका गीतहरू सुमधुर बन्न सकेका छैनन्। बजारमा आएका तीज गीतबाट तीजको मौलिकता नै गायव हुँदैछ। तीजका भाका हराएको छ, दाजुभाइ र दिदीबहिनीको सुमधुर सम्बन्ध, माया ममता पोखिने तीज गीतमा लय र ममता हराएको छ। पछिल्ला तीज गीतमा छाडा शब्द थुपारिएका छन्, अश्लीलता लेखिएका छन् भद्दा मजाक र द्विअर्थी भावमा गीत बनाइएका छन्। भाइरल बनाउने होडमा लेखिएका तीज गीत रत्यौली बनिरहेका छन्। 

शान्ति श्री परियार र हरि गिरीको स्वरमा रहेको यो गीत को शब्द हेरौं। सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु परेको छ। गायिका शान्ति श्री परियारले सार्वजनिक रूपमा माफी नै मागेकी छन्। सुरुवातमा तीज गीत भनेर निकालिएको यो गीत व्यापक आलोचना भएपछि आइटम गीतको रूपमा समेटिएको थियो। 

फोनमै माग्ने पप्पी
कति साह्रो नट्टी
के भो माया के भो
मनले के के सोच्यो सोच्यो, मलाई सिरानीले घोच्यो
काले के के वोल्यो, बोल्यो मलाई
विस्ताराले पोल्यो।

सासू बज्यै बोलको गीतमा खेम सेन्चुरीले आवाज दिएका छन्। यो गीतमा पनि उनले महिला वर्गको हुर्मत लिएका छन्। राति राति तन्नेरी भेट्न आउने तिम्रै छोरी नखरमाउली हो भन्दै आरोप लगाएका छन्। 
राति राति भेट्न आउनी, आटी आटी भेट्न आउने 
तिम्रै छोरी, निको छैन चाल
आफ्नै छोरी नखरमाउली, सासू बज्यै
मै तन्नेरीलाई गाल। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सदस्य शिव हमालले कलाकार तथा गीतकारले आफ्नो दायित्व बिर्संदा तीज भाकामा अश्लीलता पसेको बताए। उनी भन्छन्, यस वर्ष हाम्रो जानकारीमा आए अनुसार दुई सयभन्दा बढी गीत बजारमा आएका छन्। एउटा गीतलाई कम्तीमा पनि दुई लाख खर्च भए पनि चार करोड लगानी त यसैमा डुब्यो। तर सबै गीत दुई लाखमा तयार हुँदैनन्।

पुराना गीतहरूमा कथा बुनिएका हुन्थे। माइतीको सम्झनामा चेलीले आत्मीयता पोखेकी हुन्थिन्। बह खोलेकी हुन्थिन्। बाबाले बिहे गरेर पठाएपछि घरमा के के भोगे भनेर कहानी सुनाएकी हुन्थिन्। हक अधिकारका कुरा सुनाएका हुन्थे, सम्झनाका कोसेली पठाएका हुन्थे। तर अहिलेका गीतहरूले तीजको मर्मलाई समेट्न सकेन।

कुनै गीत २०, २५ लाखसम्म पनि लगानी गरेर बनाइएको हुन्छ। हरेक वर्षको तीजमा ५ देखि ६ करोड त गीतमै लगानी हुन्छ। यीमध्ये निकै कम गीत्ले मात्रै आफ्नो लगानी उठाउँछन्।

‘गीत चलाउने भन्ने बहानामा जे पनि लेख्न थालियो। जस्ता पनि शब्द, लय र शैली मिसाउन थालियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संगीतमा आएको विकृतिको विषयमा काम गरिरहेको छ। यो एउटा सामाजिक संस्था हो। हामीले आग्रह मात्रै गर्ने हो, कतिपयले मान्नु हुन्छ, कतिले हुँदैन। गीत, संगीतको विकृति हटाउन त सरकारी संयन्त्रले नै काम गर्नुपर्ने हो। तर त्यस्तो देखिँदैन। आधिकारिक निकाय नै छैन। गीतकार, गायकगायिका र कलाकार नै सचेत हुने हो भने गीत संगीतको संरक्षण गर्न सकिन्छ। लोक संस्कृतिको जगेर्ना गर्न सकिन्छ।’

प्रतिष्ठानका अर्का सदस्य, सर्जक तथा विन्ध्यवासिनी म्युजिक प्रालिका अध्यक्ष सुवास रेग्मी भन्छन्, ‘भाइरलको निसानामा तीज गीत पर्‍यो। कोही कलाकारलाई संस्कृति जोगाउनु नै छैन, चलेका कलाकारलाई पैसा भए पुग्यो, उसलाई रत्यौली गाउन भनियोस् कि अश्लील शब्दमा लय भर्न भनियोस्, पैसा पाएपछि जस्तोसुकै काम गर्न तयार नै छ।’

लोकसंगीतमा लामो समयदेखि काम गरिरहेका सर्जकहरू पर्दा पछाडि छन्, चलेका र भाइरल कलाकारले तीज गीतको मजाक बनाएको रेग्मीको आरोप छ। उनी भन्छन्, ‘चलेका कलाकारले विभिन्न युरोपियन देशका पीआर लिएर बसेका छन्। यता प्रतिकूल हुनासाथ उतै पलायन हुने कलाकारलाई नेपाली संस्कृतिको के माया ? के सरोकार ? सबैलाई पैसा कमाउनु छ। भाइरल हुनु छ।’

‘अहिलेको समाजले पनि यस्तै द्विअर्थी गीत नै बढी हेर्ने गरेको रेग्मी बताउँछन्। राम्रा गीत कसैले हेर्दैनन्, अश्लील गीत रातारात भाइरल हुन्छन्। करोडौं कमाउँछन्।’ उनी थप्दै भन्छन्। गीतसंगीत सिर्जना मात्रै नरहेको उनका भनाइ छ। भन्छन्, ‘गीत संगीत विशुद्ध पैसा कमाउने पेसा मात्रै बन्यो। भद्दा गीत भाइरल हुनुमा तपाईं हाम्रै पनि त गल्ती छ नि। नराम्रो चिज नहेरे हुँदैन, पटक पटक किन हेर्नु ?’

पुराना गीतहरूमा कथा बुनिएका हुन्थे। माइतीको सम्झनामा चेलीले आत्मीयता पोखेकी हुन्थिन्। बह खोलेकी हुन्थिन्। बाबाले बिहे गरेर पठाएपछि घरमा के के भोगे भनेर कहानी सुनाएकी हुन्थिन्। हक अधिकारका कुरा सुनाएका हुन्थे, सम्झनाका कोसेली पठाएका हुन्थे। तर अहिलेका गीतहरूले तीजको मर्मलाई समेट्न सकेन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.