जतिबेला म हेलिकप्टर पाइलट बन्ने सपना बुनिरहेको थिएँ, विपनामै उडाउने पाइलटहरू मुलुकमा निकै कम थिए।
हेलिकप्टर उडाउन थालेपछि थाहा पाएँ, मेरो गाउँमाथिको आकाशमा हवाई मार्ग (एयर रुट) पर्दोरहेछ। सानो उमेरमा आकाशमा जहाज उडेको त्यति बेलासम्म हेरिरहन्थें, जबसम्म त्यो क्षितिजमा हराउँदैनथ्यो। त्यो बेलै मेरो सुषुप्त मनले भन्थ्यो, कुनै दिन म जहाज उडाउँछु। मनभित्र उब्जेको त्यो आकांक्षा आकाशतिर सानो चोर औंला देखाउँदै आमालाई सुनाउँथें, ‘ठूलो भएपछि म पाइलट हुन्छु।’ नभन्दै बालसुलभ मेरो मनोकांक्षा पूरा भएको छ। र दुई दशकदेखि आकाशमा उडिरहेको छु।
‘फ्लाइङ करिअर’मा धेरैचोटि आफ्नै गाउँमाथिको आकाश हुँदै उडेको छु। जबजब गाउँमाथि उड्दै हुन्छु, एकाएक ‘फ्ल्यासब्याक’मा पुग्छु। बाल्यकाल, गाउँको परिवेश, अभाव र संघर्षका ती विगत आँखाअगाडि झलझल्ती सिनेमाको पर्दामा झैं नाच्न थाल्छन्। मानिसको जीवनमा सुख र दुःख भनेका घामछायाजस्तै हुन्। तर मेरो बाल्यकाल र किशोरवयले कहिल्यै ‘घाम’ देखेन, केवल ‘छाया’को कैदी बनिरह्यो।
फ्ल्यास ब्याक
आमा बेलाबखत सुनाउनु हुन्छ,‘पहिलो सन्तान छोरी जन्मिई। त्यसपछिका दुई सन्तान खेर गए। एउटा छोरा र एउटा छोरी। त्यसपछि तँ जन्मेको, सात महिनामै।’ म जेठी दिदीभन्दा सात वर्ष कान्छो। मभन्दा पछि तीन बहिनी र एक भाइ जन्मिए। घरको आर्थिक अवस्था कमजोर, त्यसमाथि हामी धेरै सन्तान भएकाले बा–आमाले हामीलाई ठूलै दुःख बेसाएर हुर्काउनुभयो।
ठूलो हुँदासम्म मलाई सबैले ‘ड्राइभरको नाति’ भनेर बोलाउँथे। मेरा हजुरबा टेकबहादुर थापा राणाहरूको गाडी चलाउने ड्राइभर हुनुहुन्थ्यो रे ! उहाँको लाइसेन्स नम्बर १३। त्यस बखत गाउँमा गाडी चलाउने भनेपछि सबैले चिन्ने भइहाले। हाम्रो परिवार मात्रै होइन, सारा गाउँ नै उहाँको पेसाबाट चिनिन्थ्यो। उहाँका चार छोरामध्ये मेरो बुवा जेठो हुनुहुन्थ्यो। गरिबी र अशिक्षाले अचेटेको परिवेशमा उहाँ हुर्कनुभयो। जेठो छोरो भएकाले घरको काम सघाउन भनेर उहाँको बिहे चाँडै भएछ। गाउँघरमा त्यसबखत चाँडै बिहे गर्ने चलन नै रहेछ।
हजुरबाको परिवार ठूलो हुँदै जाँदा बुवा छुट्टै बस्नुपर्ने अवस्था आएछ। घरभन्दा माथिको जंगलमा रहेको गोठमा हजुरबाले बुवालाई भिन्नै राखिदिएपछि आमाका दुःखका दिन झनै कठिन बनेछन्। आमा ती दिन सम्झँदै कहिलेकाहीँ भन्ने गर्नुहुन्छ, ‘मैले त्यो जंगलमा हाडेउन्यु फोडेर बारी बनाएँ। अनि मकै लगाएँ।’
बुवाचाहिँ जागिर खान भनेर भारत आसामको कोइलाखात पस्नुभएछ हरेक ६–६ महिनामा घर आउनेजाने गर्नुहुँदोरहेछ। त्यही क्रममा जंगलको गोठमा आमा एक्लै। त्यही गोठमै जेठी दिदीको जन्म भएछ। केही अप्ठेरो पर्दा सहयोगका लागि छिमेकी तत्काल आउन नसक्ने जंगलको गोठ नै यथार्थमा हाम्रो ‘घर’ थियो। जेठी दिदीपछिका दुई सन्तान पनि त्यही गोठमा जन्मेर ‘खेर’ गएपछि आमा निकै आत्तिनुभएछ।
त्यसपछि मेरो जन्म भयो। मलाई केही भइहाल्ने हो कि भन्ने डरले आमा गाउँमा सर्नुभएछ, गोठ फापेन भनेर। गाउँमा एउटा पुरानो घर किनेर आमाले त्यहीं दिदी र मलाई हुर्काउन थाल्नुभयो। बुवाले कोइलाखातमा जति हाड घोटे पनि परिवारको आर्थिक अवस्थामा त्यसले खासै परिवर्तन ल्याएन। परदेशबाट फर्किएपछि उहाँले आफ्नै ठाउँमा काम खोज्न थाल्नुभयो। मैले थाहा पाउँदा उहाँ भक्तपुर दमकलमा सिपाहीको जागिर खानुहुन्थ्यो। जागिरका लागि उहाँ गाउँबाटै आउजाउ गर्नुहुन्थ्यो। आमा भने घरधन्दा र खेतीपातीमै व्यस्त रहनुहुन्थ्यो।
दिदी मभन्दा ८ वर्ष जेठी थिइन्। घरको काम हामी दुवै मिलेर गर्थ्यो। म जेठो छोरो भएकाले बा–आमाका दुःखका दिनलाई नजिकबाटै देखें, भोगें र कतिपय अवस्थामा त्यसको भागीदार पनि भएँ।
बुवाको जागिरबाट आउने तलब र खेतीको आयस्ता नै हाम्रो जीविकाको मुख्य स्रोत थिए। त्यो आयस्ताले मात्रै परिवारको छाक वर्षभरि टर्न मुस्किल थियो, यसका लागि मानो बेसाउनैपर्थ्यो। खेतीको उब्जनीले जम्माजम्मी नौ महिना धान्थ्यो, बाँकी महिना किनेरै जोहो गर्नुपर्थ्यो।
तीन महिना चुलोको जोरजाम गर्न हामी ज्यालादारी गर्थ्यो। कति दिन त स्कुल छुटाएर ज्यालादारी गर्नुपर्ने र पर्म जानुपर्ने अवस्था आउँथ्यो। ज्यालादारीबाहेक आमाले दूध र खुवा बेचेर पनि धेरथोर पैसा जम्मा पार्नुहुन्थ्यो। म सकभर स्कुल छुटाउँदैनथें। पढ्नुपर्छ भन्ने सोच मभित्र सानै उमेरदेखि बलियो थियो। त्यसैले हुनुपर्छ, भैंसीको भकारो सोहोर्ने, स्याउला–घाँस र भुस्सा काट्नेलगायत घरधन्दाको काम सकेर बिहान पर्म जान्थे। र हतारहतार गरेर स्कुल पनि पुगेकै हुन्थे।
गर्मीयाममा बिहान पढाइ हुन्थ्यो। त्यो समय म बिहान स्कुल र दिउँसो पर्म जान्थें। दिउँसो स्कुल छँदाचाहिँ बिहानै खेतीको काममा गइन्थ्यो। स्कुल जाने कुरालाई लिएर आमासँग भने पटक्कै कुरा मिल्दैनथ्यो। म स्कुल नछुटाऊँ र घरको काम पनि मिलाएर गरौं भन्थे, आमाको प्राथमिकतामा पहिले पर्म र त्यसपछि मात्रै स्कुल पर्थ्यो।
अहिले लाग्छ, सायद उहाँलाई पढाइको महत्वबारे उतिसारो ज्ञान थिएन। उहाँ आफैंले चाहिँ बाल्यकालमा पढ्न पाउनुभएन। चाँडै बिहे भयो, बच्चा जन्माउनु, हुर्काउनुपर्यो। दुःख र संघर्षमै जीवन बिताउन अभ्यस्त भएकाले हुनुपर्छ, पढ्नतिर प्रेरित गर्नेभन्दा पनि खेतको काम र पर्मलाई उच्च प्राथमिकतामा राख्नुहुन्थ्यो।
कहिलेकाहीँ म आमालाई मनाउन खोज्थें, ‘पर्म बिहानै गएर दिउँसो स्कुल जान्छु नि त।’ तर आमा निकै कडा मिजासको हुनुहुन्थ्यो। हमेसा उहाँको जोड पर्म जानेमै हुन्थ्यो। म पनि के कम ! झ्यालबाट हामफालेर लुक्दैलुक्दै स्कुल पुग्थें। गाउँले परिवेशमा हुर्केका र आर्थिक दृष्टिले कमजोर पारिवारिक पृष्ठभूमि भएका मजस्ता बालबालिका नियमित स्कुल जान पाउँदैनथे। कतिपय अवस्थामा बीचमै पढाइ छोड्नुपर्ने बाध्यात्मक अवस्था नेपाली समाजले नभोगेको होइन। चार दशकअघिको त्यो समयमा मात्रै होइन, हिजोआज पनि आर्थिक संकट बेहोरिरहेका निमुखा परिवारका बालबालिकाले मेरै नियति भोग्दै गरेका प्रशस्त दृष्टान्त भेटिन्छन्। यद्यपि मैले बाल्यकालमा जस्तो जीवन बाँचें, त्यो हाम्रो ग्रामीण समाजको तितो यथार्थ हो।
मलाई राम्रैसँग सम्झना छ, एउटा नयाँ कलम पाउनु पनि मेरा निम्ति निकै ठूलो कुरा हुन्थ्यो। कक्षा सातमा पढ्दै गर्दा किनेकै दिन फाउन्टेन पेन हराएपछि अमिलो मन पार्दै निकैबेर रोएको थिएँ। खासमा त्यो कलम आफ्नै पहिलो कमाइबाट किनेको थिएँ, ज्यालादारी गरेर। त्यसबेला ७ कक्षामा जिल्लास्तरीय परीक्षा हुन्थ्यो। म परीक्षाको तयारीमा थिएँ। कात्तिक र मंसिरको समय भएकाले धान भिœयाउने र गहुँ छर्नका लागि खेत खन्ने चटारो थियो। यो याममा पर्म र ज्यालाको काम नियमितभन्दा बढी नै हुन्थ्यो। मानिसहरू घरमा थोरै र खेत–खेतमा धेरै देखिन्थे। आफ्नै गाउँ र छिमेकमा पर्म गर्न त म यसअघि जाने गरेकै थिएँ। तर यसपटक गाउँबाट केही पर पनौती र बनेपानजिक नेवारहरूको खेतमा ज्यालादारी गर्न पुगें, ठूली दिदीको साथ लागेर।
गहुँ छर्नुअघि धान काटेको खेत कोदालीले खनिन्छ। खनेर बनेका माटाका डल्ला कोदालोले फोरेर एकनासको बनाउनुपर्छ। अनि मात्रै जमिन गहुँ छर्न योग्य हुन्छ। म त्यही डल्ला फोर्ने काम गर्न कोदालो बोकेर गएको थिएँ। दिनभर डल्ला फोरेको ७ मोहर (३ रुपैयाँ ५० पैसा) देखि ५ रुपैयाँसम्म ज्याला तोकिएको हुन्थ्यो। मैले पहिलो दिनमा सात मोहर ज्याला पाएँ। त्यो नै मेरो जीवनको पहिलो कमाइ थियो।
त्यही कमाइले ‘फ्लेम फाउन्टेन पेन’ किनेको थिएँ। त्यस बेला यो निकै चल्तीको कलम थियो। केही दिनभित्रै सुरु हुने परीक्षामा लेख्न भनेर किनेको ‘फाउन्टेन पेन’ किनेकै दिन घरबाटै हराउँदा म निकै अत्तालिएँ। यताउता खोजे, साथीभाइलाई सोधें, पत्तो लागेन। नभेटेपछि ‘पेन’ किन्दाको उत्साह एकाएक निराशामा बदलियो। मन कुँडिएर नरमाइलो लाग्यो। आफूलाई सम्हाल्नै नसकेपछि निकै बेर रोइरहें।
बाल्यकालमा यस्ता विरक्त लाग्दा थुप्रै क्षण भोगेको छु। ती गनिसाध्य र भनिसाध्य छैनन्। आङ ढाक्ने कपडाको अभावमा स्कुल नगई दुई दिन घरमै ओढ्ने ओढेर बस्नुपरेको टिठलाग्दो अवस्थाबाट समेत गुज्रिएको छु। म हुर्केको बखत यस्तो थियो, जति बेला वर्षको एकजोर नयाँ लुगा पनि मुस्किलले पाइन्थ्यो। नयाँ लुगा किन्नका लागि त दशैं नै कुर्नुपर्थ्यो।
सधैं एकैजोर लुगामै धसिइरहनु परेपछि छिट्टै उध्रिन्थ्यो, च्यातिन्थ्यो। बढीजसो त पाइन्टका पछाडिपट्टि दुइटा भ्वाङ पर्थे। च्यातिएको र उध्रिएको ठाउँमा आफै सिउँथें। प्वाल परेको ठाउँमा पानका बुट्टा बनाएर टाल्थें अनि लगाउँथे। पाँच–छ कक्षामा पढ्दै गर्दा यस्तो अवस्थासम्म भोग्नुपर्यो कि लगाउनलाई मसँग एउटा सर्ट (कमिज) समेत हुँदैनथ्यो। आफूसँग भएको एकजोर कमिजसमेत च्यातिएपछि एक आफन्तसँग मागेर स्कुल गएको सम्झना आज पनि मेरो मानसपटलमा ताजै छ। दुई दिनपछि ती आफन्तले कमिज फिर्ता लगे। त्यसपछि कमिज नभएकै कारण दुई दिन स्कुल जान सकिनँ। अर्को कमिज किन्न नसक्दासम्म घरमै बर्की ओढेर बस्नुपर्यो।
निकै टिठलाग्दा थिए, ती दिनहरू। त्यसका बावजुद पनि पढ्ने चाहना उत्कट हुन्थ्यो। पढ्नुपर्छ भन्ने भावना मनभित्र उम्लिन्थ्यो। त्यसैले काम गर्दैगर्दा पनि किताब वरिपरि नै हुन्थे। परीक्षा नजिकै आउँदा कामको चापले पढ्न नपाउँदा भने मन नराम्ररी कुँडिन्थ्यो। त्यो प्रतिकूल समयलाई पनि अनुकूल बनाउन म प्रयत्न गरिरहन्थें।
- भिसा नपाएपछि निराश थिएँ र केही विचलित पनि। जिद्दी स्वभावका कारण प्रयास जारी नै राखें। त्यसपछि रूसको ‘फस्र्ट मस्को एभिएसन कलेज’मा ‘अप्लाई’ गरें, मेरो आवेदन स्वीकृत भयो र रूसी एम्बेसीमा भिसा लिन उतिसारो समस्या भएन। आफ्नै लगानीमा पाइलट पढ्न जाँदै थिएँ।
आज पनि सम्झन्छु, थाप्लोमा मलको डोको अनि हातमा पुस्तक भएका ती दिनहरू डोकोभरि मल राखेर खेतमा पुर्याउनु पर्थ्यो। त्यो समयलाई पनि किन खेर फाल्ने भनेर हातमै पुस्तक लिएर पढ्दै हिँड्थें। खेत जाने बाटो अलि अप्ठेरै हुन्छन्, गाउँघरतिर। अलि समथर बाटो आएपछि केही लाइन पढ्दै, घोक्दै हिँडिन्थ्यो। गाईभैंसीका लागि खोले पकाउँदै गर्दा पनि अगेनो छेउमा बसेर दुई–चार लाइन घोकेकै हुन्थें।
स्कुले जीवनमै गाँस, बाँस र कपास आममानिसका आधारभूत आवश्यकता हुन् भनेर पढेको थिएँ। ती दिन फर्केर हेर्दा लाग्छ, म र मेरो परिवारका लागि ती फगत किताबी कुरामात्रै रहेछन्। जीवनको एउटा कालखण्डमा हामी यी तमाम आधारभूत आवश्यकताबाट धेरैजसो वञ्चित रह्यौं। आकाश छेक्ने एउटा बास त थियो तर गाँस र कपासको संकट पटकपटक बेहोर्नुपर्यो।
अर्को एउटा घटना बिर्सनै सक्दिनँ, जतिबेला म आठ कक्षामा पढ्थें। साउन भदौको महिना। भरखरै रोपाइँ सकिएको थियो। अघिल्लो वर्षको उब्जनी सकिइसकेकाले घरमा एक गेडो चामल थिएन। मानौं, अनिकाल लागेजस्तै भएको थियो। चामल किन्न पैसा नभएपछि दुई सातादेखि लगातार मकैको च्याख्लामा निर्भर थियौं। गाउँघरमा अप्ठेरो पर्दा पैंचो लिने चलन हुन्छ। तर छिमेकीहरू नै मकैको च्याख्ला खानुपर्ने उस्तै नियति भोग्दै थिए। हरेक दिन मकैका च्याख्ला वा उसिनेको मकै खाँदाखाँदा वाक्क लागिसकेको थियो। चामलको भात नखाएको १५ दिन जति भएको हुँदो हो। एक दिन म विवाह भइसकेकी दिदीको घर गएँ। यतिका दिनपछि भात पाउँदा टन्नै खाएँ। खाएको एकैछिनमा म लठ्ठ भएछु र भुइँमै निदाएछु।
मेरो काँधमा कामको बोझ अरू
बढ्दो थियो किनभने दिदीको बिहे भइसकेको थियो। परिवारको अर्थतन्त्रको ग्राफ दिनानुदिन झर्दो क्रममा थियो। अभावले पिछा छोडेको थिएन तैपनि म कहिल्यै विचलित भइनँ। संकट र अभाव जति खेप्नुपर्थ्यो, त्यसले मनभित्र ऊर्जा बढाउँथ्यो र थप आत्मविश्वास जगाउँथ्यो।
सानो उमेरमा धेरै कुरा सोच्न सक्ने कुरै रहेन। जीवनलाई विभिन्न कोणबाट हेर्न, तौलन सकिन्नथ्यो। यद्यपि कसरी हो, मनले कहिल्यै हरेस खाएन। लाग्छ, मेरा बुवा–आमाबाट यी गुण ममा सरेका थिए। यातायातको राम्रो सुविधा नरहेको त्यसबेला भक्तपुरदेखि कुशादेवी छोटो दूरी पक्कै होइन। तर बुवा दमकलको जागिर सकेर घर आउनेबित्तिकै सिधै खेतमा काम गर्न पुग्नुहुन्थ्यो, आमा त्यत्तिकै मेहनती। अझ उहाँमा बलियो आत्मविश्वास र निडर स्वभाव थियो। बुवाको मेहनती र आमाको आँटिलो स्वभावबाट म औधी प्रभावित थिएँ। सायद यी
गुणहरू मैले विरासत वा आनुवांशिक (जेनेटिक) रूपमा पाएको हुँला।
आमाबाट अत्यन्त प्रभावित भएको एउटा घटना सम्झिँदा अहिले पनि मनभित्र रमाइलो अनुभूति सञ्चार हुन्छ। जोस जाँगर भरिएर आउँछ। परिवारभित्र कुरा चल्यो, अब खेत किन्नुपर्छ। बुवाले एक रोपनी जग्गा हेर्नुभएको रहेछ। गाउँको जग्गा सस्तोमै पाइन्थ्यो। एक–दुई लाखमा फाँटै किन्न सकिन्थ्यो त्यसबेला।
हामीले किन्ने भनेको जग्गाको मोल दुई हजार जति भनिएको थियो। तर बुवाले दुई हजार पनि जोहो गर्न सक्नुभएन। सामान्य जागिरेसँग दुई हजार जम्मा गर्ने ल्याकत नै कहाँ हुन्थ्यो र ! अहिलेका किशोरकिशोरीका लागि यी भोगाइ पत्याउनै नसकिने कथा लाग्न सक्छन्। तथापि यी कथिएका कहानी होइनन्, वास्तविक भोगाइ हुन्। हाम्रो परिवारको कथा भए पनि यसले मुलुकको ग्रामीण परिवेश र पुरानो समयको मनोविज्ञानलाई राम्रैसित झल्काउँछ।
हुन त हरेक नयाँ पुस्ताका लागि पुरानो पुस्ताका भोगाइ कथा झैं बन्दा हुन्, पत्याउनै मुस्किल पर्ने। २००७ सालतिर र त्योभन्दा अघिको समाजमा त सय रुपैयाँ नै निकै ठूलो धनराशी हुन्थ्यो रे ! तर, त्यही सय रुपैयाँ कमाउनु पनि सानो कुरा हुन्थेन। अलिपछिको समय भए पनि हाम्रो परिवारले भने दुई हजारसमेत जोहो गर्न सकेन।
बा–आमा दुवै पैसाको जोरजाममा लाग्नुभएको थियो। तर जम्मा हुन सकिरहेको थिएन। सस्तो जग्गा उम्किने भो भनेर बा निकै छटपटिनुभयो। आमा जसरी पनि किन्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो।
सस्तो जग्गा पाएको बेला पैसा जुटाउन नसक्दा घरमा निराशाको वातावरण थियो। यही निराशाबीच एक दिन आमाले तामाका दुई गाग्री सिक्का ल्याएर अगाडि राखिदिनुभयो। हामी सबै छक्क पर्यो।
वास्तवमा उहाँले भैंसीको दूध, खुवा बेचेर जोगाएको पैसा अलिअलि गर्दै जम्मा गर्नुभएको रहेछ। सुका, मोहर, १० पैसे, २५ पैसे सिक्का छुट्याएर गन्नमात्रै हामीलाई पूरै एक दिन लाग्यो। यसरी अनेक उपाय निकालेर पैसाको बन्दोबस्त भयो र हामी अन्ततः त्यो जग्गा जोड्न सफल भयौं।
गाग्रीमा साँचेर राखिएका ती सिक्काहरूले परिवारको तत्कालीन आवश्यकता पूर्तिमात्रै गरेनन्। त्यस घटनाले मलाई अझ दृढ बन्न र मेहनत गर्न प्रेरित गर्यो। समय खेर फाल्नु हुँदैन, कुनै पनि काम मनदेखि गर्नुपर्छ भनेर उतिबेलै सोच्थें, अहिले यो सोचाइ झनै प्रगाढ भएको छ। जनजिब्रोमा झुन्डिएको भागवद् गीताको ‘कर्ममा तिम्रो अधिकार छ, फलमा चाहिँ होइन’ भन्ने सन्देशलाई मैले आत्मसात गर्दै कर्म गर्न पाउने मौकालाई आफ्नो अधिकारकै रूपमा लिएको छु।
काम र पढाइबीचको तालमेल मिलाउँदै लैजानु मेरा निम्ति कम्ती चुनौतीपूर्ण थिएन। यद्यपि आफ्ना अघिल्तिर आइपरेका हरेक कर्म निरन्तर गरिरहें। परिवारको आर्थिक अवस्था प्रतिकूल हुनुको बावजुद मैले काम र पढाइलाई एकसाथ लान सकेको थिएँ। स्कुले पढाइमा म जति टाठो थिएँ, घरधन्दा र ज्यालादारी काममा पनि म उत्तिकै फुर्तिलो थिएँ। पातलो जिउ र सानो कदको भए पनि म औधी काम गर्न सक्थें। भैंसीको दूध दुहुने कामचाहिँ कहिल्यै गरिनँ। त्यसबाहेक हरेक कामको अनुभव छ, मसँग।
घाँसदाउरा र सोत्तर काट्ने, खेत खन्ने, डल्ला फोर्ने, रोपाइँका बेला खेतमा आली लगाउने, रोप्ने सबै काममा म अब्बल नै थिएँ। घाँस काट्नमा महिलाहरूले पनि सायदै मलाई उछिन्न सक्थे। गाउँलेहरू काम त रामेश्वरले गरेजस्तो पो भन्थे। ज्याला गर्दै जाँदा पूरै फाँटको काम ठेक्कामा लिन थालें।
कात्तिक र मंसिरको धानबाली भित्र्याउने मौसममा खेत नै ठेक्कामा लिएर काम गर्थे। खेत धनीसँग निश्चित रकममा ठेक्का लिएपछि खेताला बटुल्थे र काम लगाउँथें। एसएलसीको परीक्षा दिने समयमा चाहिँ ज्यालादारी काम मबाट छुट्यो।
एसएसली मुखैमा आइपुगेपछि म परीक्षा तयारीका लागि गाउँकै केही साथीसँग बनेपामा डेरा लिएर बसेको थिएँ। परीक्षा सेन्टर बनेपामै पर्ने भएकाले नाताले दाइ पर्ने कुमार थापा, भोलानाथ अधिकारी, बच्चुराम अधिकारी, विष्णुप्रसाद सापकोटा र म सँगै बसेका थियौं। एउटा साँघुरो कोठा, त्यतिविधि सफासुग्घर पनि थिएन। त्यहीं हामी पाँचजना खाँदिएर बस्थ्यौं, ‘कम्बाइन्ड स्टडी’ गर्न भनेर।
एउटै सिरकमा गुटमुटिएर घन्टौंसम्म पढ्थ्यौ। यसरी २०३९ सालमा गाउँकै कुशादेवी माविबाट एसएलसी पास गरें। साढे तीन दशकअघिको त्यो अवस्था र अहिलेको परिवेशको तुलना गर्नुपर्दा सपनाजस्तो लाग्छ। त्यो समयसँग तुलनै गर्न नमिल्ने एउटा स्वर्णिम अवसरको वातावरण अहिलेको पुस्ताले पाएको छ।
पहिलो काठमाडौं यात्रा
एसएलसीपछि मेरो जिन्दगीको नयाँ अध्याय प्रारम्भ भयो। २०४० सालमा क्याम्पस पढ्न भनेर म राजधानी काठमाडौं आएँ। आमा, बा, हजुरआमाका साथ लागेर सानो छँदा पनि आएको त थिएँ तर अध्ययन गर्दै कर्मथलो बनाउने उद्देश्यले राजधानी छिरेको यो पहिलोपटक थियो।
ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसमा वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह –आईकम)मा भर्ना भएँ। मेरा माइला काकाको घर नजिकै जावलाखेलमा भएकाले सुरुमा त्यहीं बसेर क्याम्पस जान थालें। काकाको घरमा बस्ने राम्रो बन्दोबस्त थियो। काकाकाकीले कहिल्यै कुनै कमी हुन दिनु भएन। तर पनि किनकिन त्यहाँ बस्नै सकिनँ।
माया गर्ने आफन्त हुँदाहुँदै पनि परनिर्भर भए कि भन्ने प्रश्न मनभित्र उठ्न थाल्यो। आत्मनिर्भर भएर बाँच्नुपर्छ भन्ने मान्यता राख्थैं सानैदेखि। मनभित्र गढेको त्यही मान्यता र केही काम नगरी बस्नै नसक्ने स्वभावले स्वतन्त्र जीवनयापनका लागि उत्प्रेरित गर्यो। अनि म काकाको घर नजिकै डेरा लिएर बसें।
खेलकुदमा पनि रूचि थियो, मलाई। गाउँमा खेलकुदका लागि न गतिलो ठाउँ हुन्थ्यो न त खेलकुद सामग्री वा आवश्यक तालिम नै उपलब्ध हुन्थ्यो। गाउँको खोलामा पौडिने र फाँटमा फुटबल खेल्ने बाहेकका गतिविधिमा लाग्ने अवसर थिएन। राजधानी आएपछि म दशरथ रंगशाला धाउन थालें। पढाइको अतिरिक्त ‘मार्सल आर्ट’ सिक्दै थिएँ। हरेक दिन पाटनढोकाबाट ‘मार्सल आर्ट’ खेल्न रंगशाला आउनुपर्थ्यो। सितेरियो कराते ‘ग्रिन बेल्ट’ सम्म खेलेपछि निरन्तरता दिन सकिनँ। कारण, पढाइ सँगसँगै काम गरेर कमाउनु पनि थियो।
यस्तैमा मैले भोटेबहालमा एक जना मारवाडीको स्वामित्वको ‘बालाजी सपिङ सेन्टर’मा काम पाएँ। काम पाएपछि जावलाखेलबाट डेरा सर्नुपर्यो। त्यसपछि न्युरोड छेवैको टेहबहालस्थित एउटा नेवारको घरलाई आफ्नो मुकाम बनाएँ। घरधनी एउटी बूढीआमा थिइन्। उनी मलाई आफ्नै छोरोलाई जस्तै व्यवहार गर्थिन्। एक्लै डेरामा बसेको देखेर कहिलेकाहीं खाना पकाउन सघाउँथिन्। ‘पर्दैन, आफैं गर्छ’ भनेर जिद्दी गरे पनि उनी मान्दै नमान्ने। बिहान ८ बजे नै माडवारीको पसल पुग्नुपर्थ्यो। त्यहाँ चिया ल्याउने, पसल बढार्नेजस्ता काम गर्थें। काम थालेको १५ दिनमै साहु खुसी भए। उनले पसलको हिसाबकिताब राख्ने र स्टोरको जिम्मासमेत मलाई दिए।
तीन महिना जति भएको थियो। त्यही सपिङ सेन्टरमा काम गर्ने एक जना सिनियर मारवाडी कामदारसँग मेरो मनमुटाव सुरु भयो। जागिर खाएको थोरै समयमै पसलको ‘हर्ताकर्ता’ भएको देखेर सायद ऊ मसँग ईष्र्यालु बनेको थियो। उसको सधैंको फुर्तीफार्ती र निहुँ खोज्ने स्वभाव मलाई असह्य हुन थालेको थियो। दिनहुँ हामीबीच भनाभन हुन थाल्यो, जसकारण मानसिक तनाव थपियो।
एक दिन पशुपतिनाथ मन्दिर जाँदा ऊसँग बाटोमा जम्काभेट भयो। पसलमा उसले गर्ने व्यवहारले ममा पारो चढिसकेको थियो। मौका यही हो भन्ने ठानेर उसलाई बाटैमा बेस्सरी भकुरें। त्यस दिनदेखि पसलमा काम गर्न जानै छाडिदिएँ। मारवाडीको पसलमा काम गर्दागर्दै लोकसेवा आयोगको परीक्षा पनि दिएको थिएँ।
न्याय सेवाका लागि केही कर्मचारी माग गरिएको थियो, मैले मुखिया पदका लागि आवेदन दिएको थिएँ। मारवाडीको पसल छाडेर यत्तिकै बरालिएकै समयमा नतिजा प्रकाशन भयो। लिखितमा नाम निस्कियो। संयोगले अन्तर्वार्तामा पनि उत्तीर्ण भएँ। त्यसपछि मेरो कर्मक्षेत्र बन्यो, न्याय सेवा।
अदालतमा आठ वर्ष
न्याय सेवासम्बन्धी छोटो तालिमपछि मलाई भक्तपुर जिल्ला अदालतमा खटाइयो। यो २०४२ जेठ महिनाको कुरा हो। त्यसबेला त्यहाँ महिला न्यायाधीश सत्यमाया माथेमा र अर्का न्यायाधीश हरिप्रसाद शर्मा हुनुहुन्थ्यो। एक वर्ष के पुगेको थियो, भक्तपुर अदालतबाट सरुवा भएर म काभ्रे पुगें।
२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वोचनको तयारी चल्दै थियो, त्यही समय काभ्रे जिल्ला अदालत सरूवा गरियो। भक्तपुर छँदा त्यहीं डेरा लिएको थिएँ। काभ्रे सरूवा भएपछि कहिले भक्तपुरबाटै त कहिले घरबाटै कार्यालय जान थालें। अदालतको जागिर मेरा लागि नयाँनयाँ कुरा सिक्ने एउटा अवसर थियो। वकिल, न्यायाधीश, झगडिया आदि थरीथरीका मानिससँग व्यवहार गर्नुपर्थ्यो। यही जागिरले धेरै कुरा सिकायो र बिस्तारै व्यक्तिगत सम्पर्क पनि बढ्दै गयो।
हुन त मानिसले भौतिक अवसान नहुँदासम्म सिकिरहन्छ। इच्छाशक्ति हुने हो भने हरेक पाइलामा नयाँ कुरा सिक्न सकिने रहेछ। अदालतका सुरुवाती दिनमा म नयाँ कुरा सिक्ने, नयाँ मानिससँग सम्पर्क स्थापित गर्नेमै केन्द्रित रहें। छोटो अवधिमै न्यायाधीश स्तरका व्यक्तिहरूसँग सम्पर्क र संगत बढ्दै थियो।
तत्कालीन न्यायाधीश रामहरि शर्मा श्रीमान्ले काभ्रेबाट काठमाडौं सरुवा गरिदिएपछि त्यो सम्पर्कको दायरा अझ फराकिलो बन्यो। केही समयभित्रै काठमाडौं जिल्ला अदालतका कर्मचारीहरूबीच चिनिने भइसकेको थिएँ। पत्रकार पदम ठकुराठी गोलीकाण्डमा पक्राउ परेका भरत गुरुङ, डिबी लामा र जगत गौचनसँगको बयान लिएपछि म र सहकर्मी नानीराम खड्का चर्चाका पात्र भएका थियौं।
पञ्चायतकालमा हालीमुहाली गरेका यी तीन जनाको बयान लिन कुनै पनि सहकर्मीले अघि बढ्ने आँट गरेनन्। हामी दुईलाई भने यी मानिसहरूले के भन्ने हुन् भन्ने उल्टै खुलदुली हुन्थ्यो। उनीहरूको बयान लिने अनि म्याद थप्ने हामी दुई नै सधैं अघि सर्थ्यो। यसैगरी, राजनीतिज्ञ एवं कूटनीतिज्ञ हृषिकेश शाहसँग उनीमाथि लगाइएको राष्ट्रविप्लव मुद्दाको बयान लिने अवसर पनि मलाई नै जुरेको थियो।
काठमाडौं जिल्ला अदालत हुँदै सर्वोेच्च अदालतको तामेली फाँटमा पनि काम गर्ने मौका मिल्यो। म्याद तामेल गर्ने कजलिस फाँट परेकाले मेरो भूमिका अर्थपूर्ण हुन्थ्यो। त्यहाँ १२ वटा मुद्दा फाँट निरीक्षणको जिम्मा मेरै थियो। हरेक दिन कुन मुद्दा कुन बेन्चमा राख्ने भन्ने काम यसै फाँटअन्तर्गत तय हुन्थ्यो। न्यायाधीशहरू मुद्दा ‘यति नम्बर वा यो बेन्चमा पारिदेऊ’ भन्न आउँथे।
अदालतमा अनुहारभन्दा पनि नामबाट धेरैले चिन्ने भइसकेको थिएँ। सबैजसो न्यायाधीशको प्रिय भएको थिएँ, किनभने उनीहरू मेरो काम गर्ने तरिकाबाट खुसी थिए। कसैलाई दुःख नदिई फटाफट काम गरिदिने, स्पष्ट कुरा गर्ने र निडर स्वभावका कारण सायद सबैको मन जितेको थिएँ, मैले। त्यसैले होला न्यायाधीशहरूसँग नजिकको चिनजान र उठबस हुन्थ्यो।
सबैजसो न्यायाधीशहरूमा ‘अप्ठेरोमा काम गर्ने रामेश्वर नै हो’ भन्ने छाप परेको थियो। त्यसैले अदालतभित्र आइपर्ने कुनै पनि चुनौतीपूर्ण काममा मलाई कुनै न कुनै रूपमा सहभागी गराइन्थ्यो। मुद्दाको म्याद, मिति तोक्ने, मुद्दा कहाँ कुन अवस्थामा छ ? हेर्ने र रिपोर्ट बनाउने जिम्मा मलाई नै दिइन्थ्यो।
न्यायाधीशहरूसँगको सरसंगतले मलाई फाइदै थियो। काठमाडौं जिल्ला अदालतमा सरूवा भएर आएको केही दिनमात्रै भएको थियो, न्यायाधीश नरेन्द्रकुमार श्रेष्ठले अकस्मात् सोध्नुभयो, ‘मोटरसाइकल चलाउन जान्दछौ ?’ मलाई त्यस बेला मोटरसाइकल चलाउन आउदैनथ्यो तैपनि ‘चलाउन सक्छु’ भनिदिएँ। ‘ल, अब अर्काे सातादेखि तिमी र म सँगै आउने है’, उहाँले भन्नुभयो। न्यायाधीशलाई अदालतले सुविधाअन्तर्गत मोटरसाइकल वा कुनै सवारीसाधन त दिँदैनथ्यो। तर कुनै घटना विशेषमा जफत हुने सवारीसाधन अदालत परिसरमा राखिने हुँदा ती प्रयोजनविहीन बनेका हुन्थे। यस्ता साधन अनौपचारिक रूपमा प्रयोग गर्ने प्रचलन थियो।
यस्तै एउटा मोटरसाइकलमा उहाँको आँखा परेको रहेछ। उहाँलाई घर पुर्याउन र ल्याउन सके बाँकी समय आफैंले चढ्न पाइने थियो। तर फसादको कुराचाहिँ मैले मोटरसाइकल चलाउन सिकेकै थिइनँ तर चलाउन जानेको छु भनेर ढाँटेको थिएँ। अब मोटरसाइकल सिक्नुको विकल्प थिएन। हात लागेको त्यो अवसर गुमाउन पनि चाहन्नथें। त्यही दिनदेखि मोटरसाइकल सिक्न थालें। एक सातामै लन्ठ्याङलुन्ठुङ भए पनि चलाउन सक्ने भएँ।
पछाडि क्यारिज भएको ठूलो खालको डबल सिलिन्डरको होन्डा मोटरसाइकल थियो। न्यायाधीश श्रेष्ठ पछाडिको क्यारिज समातेर बस्नुहुन्थ्यो। म उहाँलाई अफिस ल्याउने पुर्याउने गर्थें। चलाउन जाने पनि लाइसेन्स लिइसकेको थिइनँ। पूरै डेढ वर्ष बिनालाइसेन्स चलाएँ।
अदालतको नोकरी दौरान कतिपय तीता अनुभव पनि सँगालियो। अहिले सम्झिँदा अनौठो लाग्छ। तीन दशकअघिको त्यो समय र अहिले कति धेरै बदलाव आइसकेको छ। खासगरी सूचना र प्रविधिको क्षेत्रमा। काठमाडौं जिल्ला अदालतमा काम गर्दा टेलिफोनसँग जोडिएको एउटा प्रसंग म कहिल्यै भुल्न सक्दिनँ।
टेलिफोनको प्रयोगजस्तो सामान्य विषयलाई लिएर सहकर्मीसँग झगडासम्म गर्नुपर्ने अवस्था सिर्जना भएको त्यो घटना रोमाञ्चक पनि छ। कम्तीमा हाम्रो जीवनशैली, सोच र सुविधाको अवस्थामा आएको परिवर्तनलाई यो घटनाले प्रतिविम्बित गर्न सक्छ।
२०४४ वैशाखको कुनै दिन अदालतका तहसिलदार बलबहादुर केसीको कोठामा बसिरहेको थिएँ। उनको अघिल्तिरको टेबुलमा रातो टेलिफोन सेट थियो। कोठामा रहेका थप दुइटा टेबुल–कुर्सीमा अन्य सहकर्मी बस्थे। सायद त्यस दिन अरू कर्मचारी आइपुगिसकेका थिएनन्। म केसीसँग गफिँदै थिए। फोनको घन्टी बज्यो। उनले फोन उठाए र जवाफमा ‘मलाई थाहा छैन’ भनेर राखिदिए।
सरकारी कार्यालयहरूमा चिया र गफमा घन्टौं बिताउने प्रवृत्ति हिजो पनि थियो र अहिले पनि छँदै छ। कुराकानी चल्दै थियो, फेरि घन्टी बज्यो। यसपालि केसी अझ रूखो किसिमले प्रस्तुत भए र फोन ढ्याक्क राखिदिए। आधा घण्टाजति केसीको कोठामा बसुन्जेलमा चार–पाँचपटक फोनको घन्टी बज्यो। हरेकचोटि उनी रूखो किसिमले प्रस्तुत हुन्थे र ढ्याक्क रिसिभर राखिदिन्थे। उनको हर्कत मलाई अनौठो लागिरहेको थियो। तर कुरा के रहेछ भन्नेबारे मैले भेउ पाउन सकिरहेको थिइनँ।
सोधें, ‘सर, कसलाई खोजेको रहेछ ?’ ‘ताप्लेजुङबाट केदारलाई खोजेको रहेछ, म कहाँ बोलाउन सक्छु ?’ उनी कड्किए। केदार कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। उनी एक सिधासादा कर्मचारीका रूपमा चिनिन्थे। केसीले केदारप्रति गरेको व्यवहारले नमज्जा लाग्यो। म उनको कोठाबाट बाहिरिएँ। त्यो समय टेलिफोन सेवामा आममानिसको पहुँच पटक्कै थिएन। कार्यालयमै पनि हरेक कोठामा टेलिफोन सेट हुँदैनथ्यो। अहिलेजस्तो हातहातमा मोबाइल, इन्टरनेट सुलभ थिएन। सूचनाको आदान–प्रदान गर्न मानिसहरू अधिकतर चिठीपत्रमै निर्भर रहन्थे।
भोलिपल्टसम्म पनि मलाई अघिल्लो दिनको घटनाले चिमोटिइरह्यो। कार्यालय आउनेबित्तिकै कार्यालयका अर्का सहयोगीलाई केदारलाई बोलाउन पठाएँ। केही समयपछि केदार ‘नमस्ते सर’ भन्दै कोठामा प्रवेश गरे। उनलाई सोधें, ‘ताप्लेजुङमा तिम्रो को छ ? हिजो त्यहाँबाट फोन आएको थियो ?’ ‘घर नै ताप्लेजुङ हो सर। आमा धेरै बिरामी हुनुहुन्थ्यो। सायद केही खबर गर्न पो टेलिफोन आएको थियो कि ?’
उनले यतिमात्रै के भनेका थिए, मलाई एकाएक कहाँबाट रिस उम्लिएर आयो, थाम्नै सकिनँ। सरासर तहसिलदार केसीको कोठामा गएँ र टेलिफोन भुइँमा बजारें। तार चुटाइदिएँ र टेबुलको सिसा पनि फोडिदिएँ। ‘बिरामी आमाको खबर आउँदा पनि टेलिफोन नदिने ? लाजसरम छैन ?’ भन्दै केसीलाई नराम्ररी झपारें। यो घटनाले अदालतभरि ठूलै हंगामा भयो।
तहसिलदार केसीले सर्वोच्च अदालतका रजिस्ट्रारलाई उजुरी गरेछन्। तीन–चार दिनपछि रजिस्टार रिद्धिमान बज्राचार्यले मलाई कार्यकक्षमा बोलाउनु भयो। भीमकाय शारीरिक बनोटका उहाँको अघिल्तिर पर्दा जो कोही नर्भस हुन्थे। उहाँ त्यही न्यायाधीश हुनुहुन्थ्यो, जसले २०४२ सालमा भएको बमकाण्डका अभियोगी रामराजाप्रसाद सिंहको मुद्दाको फैसला गर्नुभएको थियो। नमस्कार गर्दै उहाँको कार्यकक्षमा छिरें। ‘आऊ, बस।’, उहाँले भन्नुभयो।
उहाँकै टेबुल अगाडिको कुर्सीमा बसें। ‘वेल डन।’ एकछिन त म अकमकिएँ अनि आश्चर्यचकित भएँ। ‘के भयो र सर ?’ मैले नम्र भावमा सोधें। ‘म तिमीलाई भाइ भन्छु है !’, उहाँले आत्मीय भावमा भन्नुभयो। ‘भइहाल्छ नि सर !’ उहाँ जे सोध्नुहुन्थ्यो, म त्यसको जवाफमात्रै फर्काइरहेको थिएँ। अनुमान त मलाई भइसकेको थियो, टेलिफोन काण्डलाई लिएर उहाँले बोलाउनुभएको भन्ने। कतै स्पष्टीकरण सोधिने त होइन ? अनुशासनको कारबाही हुने त होइन ? भित्रभित्रै अनेकौं शंका उठिरहेका थिए। बोलाउनुको कारण त्यही रहेछ। उहाँले केही खामहरू देखाएर भन्नुभयो, ‘यी सबै तिमीविरुद्ध आएका उजुरी हुन्।’
कुनै पनि खाम नखोलीकन च्यात्दै थप्नुभयो, ‘तिमीले जे गर्यो, ठीक गर्यो।’ त्यसपछि चिया मगाउनुभयो र ‘केही फरक पर्दैन जाऊ’ भनेर पठाउनुभयो। म चिया पिएर आफ्नै कार्यकक्षमा फर्किएँ। यो घटनापछि मेरो मनोबल निकै बढ्यो। आवेशमा आएर टेलिफोन फुटाइदिने शैली गलत भए पनि म सत्यको पक्षमा थिएँ। त्यसैले रजिस्ट्रारको कार्यकक्ष छिर्दा सत्य कुराचाहिँ बताउने छु भनेर आँट आएको थियो। उल्टै उहाँले नै ‘वेल डन’ भनेपछि झन् ऊर्जा थपियो।
भनिन्छ, अन्याय गर्नु अपराध हो, अन्याय सहनुचाहिँ त्योभन्दा ठूलो अपराध। झन् त्यसमाथि न्यायकै मन्दिरमा कार्यरत कर्मचारीमाथि पदका आधारमा भेदभाव हुनु सहन सकिने कुरै थिएन। म सानैदेखि अन्याय सहनै सक्दिनथें। कसैसँग हम्मेसी डर लाग्दैन थियो। त्यसैले कोही न कोहीसँग भनाभन वा कुटपिटका घटना भइरहन्थे। हेर्दा ती घटना मेरो व्यक्तिगत स्वभावसँग जोडिएको देखिए पनि भित्री कुरा सही–गलत, न्याय–अन्यायकै सन्दर्भसँग जोडिएको हुन्थ्यो।
अदालतलाई न्यायको मन्दिर भनिन्छ। अन्यायमा परेकाहरू न्यायको खोजीमै त्यो मन्दिर पुग्ने हुन्। तर त्यहाँ कार्यरत निमुखा कर्मचारीहरू कतिपय बेला आफ्नै सहकर्मीका जालझेल र खोचे थाप्ने प्रवृत्तिको सिकार भइरहेका हुन्छन्। सुरुवाती दिनमा अदालतमा नयाँ कुरा सिक्न पाइन्छ भनेर म हौसिएको थिएँ। दिनहरू बित्दै गएपछि अदालतको जागिर मेरा लागि कुनै आकर्षणको विषय रहेन।
दीर्घकालीन ‘करिअर’को दृष्टिले पनि अदालतमा जुन पद र स्थानमा थिएँ, त्यसको ठूलो अर्थ थिएन। मलाई त्यो जागिरले सन्तुष्ट बनाउन सकिरहेको थिएन। एकतमासका दिनचर्याका कारण मनभित्र छटपटाहट बढिरहेको थियो। यही गर्छु, यसै गर्छु भन्ने प्रस्ट ‘रोडम्याप’ त थिएन तर पनि केही नयाँ गर्नुपर्छ भन्नेमा दृढ थिएँ। नयाँ केही गर्न खोजिरहेको थिएँ।
एक दिन कुरैकुरामा अधिकर्ता शेषराज पराजुलीले मन छुने कुरा गर्नुभयो, ‘यो अदालतको जागिरले आठ–पाँच टरिहाल्छ, त्यसपछि मान्छेले नयाँ केही गर्ने खोज्दैन।’ उहाँ उमेरले पाका र अनुभवी कानुन व्यवसायी हुनुहुन्थ्यो। उहाँको कुरामा चाख लिँदै मैले सोधें, ‘के हो आठ–पाँच भनेको ?’ ‘अदालतमा काम गर्नेको दैनिक खर्च चलिहाल्छ अनि जीवनमा नयाँ केही गरौं भन्नेतिर मान्छे सोच्दैन, यसरी जीवन बितेको पनि पत्तै हुँदैन’, उहाँले थप्नुभयो, ‘उमेर हुँदै केही नयाँ कामबारे सोच्नुपर्छ, नत्र यसरी नै जीवन बित्छ।’
पराजुलीको कुरा यति घत लाग्यो कि म करिब–करिब अदालतको जागिर छोड्ने निष्कर्षमा पुगें। बढुवाको पालो आइसकेको थियो तर त्यसका लागि पहल गरिनँ। दुईचोटि बढुवा छोडिदिएँ। मनभित्र सधैं अदालतको कुवाभित्रै जीवन खेर जान दिन हुँदैन। उमेर छँदै नयाँ काम गर्नुपर्छ भन्ने सोचले जरा गाडेको थियो। तर यही गर्छु भन्ने निक्यौल गर्न सकिरहेको थिइनँ।
२०४७ सालमा मेरो सरूवा रसुवा जिल्ला अदालतमा भयो। जागिरका दौरान थुप्रै न्यायाधीशसँग आत्मीय सम्बन्ध विस्तार भइसकेको थियो। सरुवापत्र बुझेपछि आफूले अत्यन्त आदर गर्ने न्यायाधीश केशवप्रसाद उपाध्यायलाई भेट्न गएँ। त्यति बेला उहाँ क्षेत्रीय मुख्य न्यायाधीश हुनुहुन्थ्यो। सरूवाका कारण मभित्र एक प्रकारको द्विविधा थियो, खटिएको ठाउँमा जाऊँ कि जागिर नै छोडूँ ? त्यही द्विविधाग्रस्त मानसिकता बोकेर न्यायमूर्ति उपाध्यायको जोरपाटीस्थित निवासतिर हिँडें। बाहिर बेस्सरी पानी दर्केकाले निथ्रुक्क भिजेको थिएँ म। उहाँ निवासमै भेटिनुभयो।
‘श्रीमान्, सरूवा रोकिदिनुपर्यो’, मैले अनुनय गरें। उहाँले त उल्टै मलाई हप्काउनुभयो, ‘स्नातक गरिसकेको मान्छे किन यो जुनियर पदमा टाँसिइरहेको ?’ उहाँले हौसला दिँदै जानुभयो, ‘तिमीहरू जस्तो युवा मान्छे यस्तो जागिरमा अल्झिनुहुन्न। हेर, समय बितेको पत्तै हुन्न। समयमै केही सोचिहाल्नुपर्छ।’
शेषराज पराजुलीका कुराले त्यसै पनि केही समयदेखि के गर्ने कसो गर्ने भनेर चिमोटिरहेको थियो, झन् न्यायमूर्ति उपाध्यायको कुराले बेस्सरी थप्पड नै हानेजस्तो अनुभूति हुन थाल्यो। मन निकै उद्वेलित थियो, अब अगाडिको भविष्य कसरी तय गर्ने ? यसरी मानसिक द्वन्द्व चलिरहेका बेला बाल्यकालमा साँचेको ‘पाइलट’ बन्ने सपना जागृत भयो।
सानै छँदा आमालाई ‘ठूलो भएपछि जहाज उडाउँछु’ भनेको सम्झें। कताकता मैले आफ्नो लक्ष्य ठम्याएजस्तो लाग्यो। अन्ततः मनमनै अठोट गरें, ‘अब अदालत छोडेर पाइलट बन्छु।’ सानैदेखि मलाई जे सोच्यो त्यही गर्नुपर्थ्यो। पराजय स्वीकार्नै नसक्ने, जसरी भए पनि जित्नैपर्ने जिद्दी स्वभावको थिएँ। नियमित पढाइका अतिरिक्त विभिन्न रचनात्मक क्रियाकलापमा पनि उत्तिकै सक्रियता जनाउँथे। स्काउटको ट्रुप लिडर थिएँ। नाटक, वादविवादमा भाग लिन्थे। स्कुलमा हुने धेरैजसो प्रतियोगितात्मक कार्यक्रममा म नै विजयी हुन्थें।
कक्षा आठमा पढ्दा ‘तरबारभन्दा कलम बलियो’ शीर्षकको वादविवादमा पहिलो भएँ। पछि जिल्लास्तरीय प्रतियोगितमा भाग लिने अवसर पाएको थिएँ तर त्यहाँ भने मैले जित्न सकिनँ। त्यो पराजयपछि कैयौं दिन स्कुल नै गइनँ। शिक्षकहरू घरै आएर निकै सम्झाइबुझाइ गरेपछि मात्रै स्कुल जान थालें।
अर्काे एउटा ‘कन्फेसन’ पनि छ, कक्षा सातमा पढ्दाको। स्कुलमा दौड प्रतियोगिता भएको थियो, जसमा म पनि एक प्रतिस्पर्धी थिएँ। दौडको सिटी फुकियो। जित्ने अठोटसहित दौडँदै थिए, प्रतिस्पर्धी साथीले मलाई उछिन्यो। दूरी तय हुन केही बाँकी थियो, मैले छिर्के लगाएर उसलाई लडाइँदिए र आफू पहिलो भएँ।
बालककाल र स्कुले जीवनका पानाहरू एकपछि अर्को खुल्दै जान थालेपछि म फेरि एकपटक जिद्दी हुँदै थिएँ। बाल्यकालमा उब्जेको आकांक्षाले महत्वाकांक्षाको रूप लिँदै थियो। ‘अब म अदालतमा खुम्चिन्नँ बरू आकाशमा पखेटा फिजाउँछु’ मनमनै सपनाको उडान भर्न थालें।
अभिकर्ता शेषराज पराजुली र न्यायमूर्ति केशवप्रसाद उपाध्यायको उपदेशले मेरो बाल्यकालको सपनामा पाइन थपिदियो। लक्ष्य त लिएँ तर पाइलट कसरी बन्ने ? अदालतको एउटा सामान्य कर्मचारीको मनभित्र हुर्किएको सपना पूरा हुन त्यति सजिलो थिएन। पाइलट कसरी र कहाँ पढ्न पाइन्छ भन्ने विषयमा कुनै ज्ञान थिएन।
कुरा धेरै पुरानो होइन, साढे दुई दशकअघिको मात्रै हो। तर अहिलेजस्तो सूचनाको पहुँच सहज थिएन। इन्टरनेटको विकासले अहिलेको पुस्तालाई सूचना खोज्न सजिलो बनाइदिएको छ। त्यसबखत यी सुविधा थिएनन्, त्यसैले पाइलट विषयको पढाइ र तालिमबारे जानकार अनुभवीहरू खोज्न थालें। त्यस विषयका सूचना जुटाउन लागिपरें।
सोध्दै जाँदा थाहा पाएँ, पाइलट दुई खाले हुँदा रहेछन्। एउटा ‘फिक्स विङ्’ (स्थिर पखेटा) फ्लायर र अर्काे ‘रोटरी विङ्’ (घुम्ने पखेटा)। ‘फिक्स विङ् फ्लायर अर्थात् हवाईजहाज उडाउने पाइलट। ‘फिक्स विङ्’ पाइलट भनेका अलि सुटेड बुटेड भएर हिँड्नुपर्ने, सुटकेस पनि अरूले बोकिदिनुपर्ने, कताकता अलि विलासी जीवनशैली बिताउनुपर्ने भन्नेजस्तो मेरो सुरुवाती सोचाइ थियो। म आफू अलि ‘रफटफ’ नै हुन रूचाउने भएकाले मैले ‘फिक्स विङ्’ रोजिनँ। ‘रोटरी विङ्’ फ्लायर मेरो स्वाभाविक रोजाइमा पर्यो।
‘रोटरी विङ् फ्लायर’ अर्थात् हेलिकप्टर पाइलट। जतिबेला म हेलिकप्टर पाइलट बन्ने सपना बुनिरहेको थिएँ, विपनामै उडाउने पाइलटहरू मुलुकमा निकै कम थिए। सेनाको हवाई बाहिनीका पाइलटहरू मात्रै हेलिकप्टर उडाउँथे। मैले सेनाका एक–दुई पाइलटसँग परामर्श र सुझाव लिएँ। हेलिकप्टर पाइलट भइसकेपछिका चुनौती र अवसर के–कस्ता हुँदारहेछन्, यस क्रममा सकेजति जान्ने कोसिस गरें। जति मान्छेसँग भेट्थें, उति नै हेलिकप्टर पाइलट बन्ने हतारो मनभित्र जाग्थ्यो।
हेलिकप्टरप्रति मेरो आकर्षण बढ्नुको अर्काे कारणचाहिँ, यसले पहाडी जनजीवनसँग सिधा साक्षात्कार गराउन सक्छ। नेपालको सन्दर्भमा हेलिकप्टर त्यस्तो एकमात्र साधन हो, जसले कैयौं दुर्गम बस्ती तथा जिल्लालाई केन्द्रसम्म जोडेको छ र जोड्न सक्छ। नेपाली ग्रामीण जनजीवन बुझ्न पनि पाइने, जहाज उडाउने लक्ष्य पनि पूरा हुने। यस्तै सोचेर मैले ‘रोटरी विङ् फ्लायर’ बन्ने अठोट गरेको थिएँ।
अठोट त गरें तर कसरी उडाउने हेलिकप्टर ? एउटै उपाय थियो, विदेशमा पाइलट अध्ययन र तालिम गर्न जाने। अन्ततः मैले हेलिकप्टर पाइलट पढ्ने निर्णय लिएँ।
त्यसपछि तालिम र अध्ययनका लागि विदेश पठाउने कन्सलटेन्सी धाउनु मेरो दैनिकीजस्तै बन्यो। मैले अमेरिकाको ओक्लोहोमा राज्यको टोल्सास्थित स्पार्क एयर कलेजमा हेलिकप्टर अध्ययन तालिमका लागि ‘करेसपोन्ड्स’ गरें। अदालतमा काम गर्दाका परिचित ध्रुवविक्रम शाहकी बहिनी सलिना शाहले यसका लागि सहयोग गरिन्। आई–२० (आई ट्वान्टी) आयो तर अमेरिकी दूतावासले मलाई पत्याएन।
भिसा नपाएपछि निराश थिएँ र केही विचलित पनि। जिद्दी स्वभावका कारण प्रयास जारी नै राखें। त्यसपछि रूसको ‘फस्र्ट मस्को एभिएसन कलेज’मा ‘अप्लाई’ गरें, मेरो आवेदन स्वीकृत भयो र रूसी एम्बेसीमा भिसा लिन उतिसारो समस्या भएन।
आफ्नै लगानीमा पाइलट पढ्न जाँदै थिएँ। खर्चको गतिलो प्रबन्ध गर्नुपर्थ्यो। मैले अदालतमा काम गर्ने दौरानमा पार्टनरसिपमा चार आना जग्गा भक्तपुरमा किनेको थिएँ, जम्मा २५ हजारमा। बुवाले पनि बानेश्वरमा सात आना जोड्नुभएको रहेछ। उहाँले चार हजार तिर्नुभएको त्यो जमिन दुई लाख ५० हजारमा बेचियो।
२०४६–४७ सालतिर अदालतमा काम गर्दागर्दै गलैंचाको पनि सानोतिनो व्यापार सुरु गरेको थिएँ। यसरी पाइपाई जम्मा गरेको रकमलाई विनिमय गरेर करिब १२ हजार डलर (त्यसबेला करिब ६ लाख) मैले पाइलट अध्ययनका निम्ति जुटाएँ र रुस हान्निएँ।
(द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ आज विमोचन हुँदैछ । त्यसैको एक पाठको अंश नेपालीमा यहाँ प्रस्तुत गरिएको हो।)