सस्तो मूल्यमा आकर्षक केईका ईभी मोटर
राजधानीको भृकुटीमण्डपमा अटोमोबाइल कम्पनीहरूको कुम्भ मेला चलिरहेको छ। अझ विद्युतीय सवारी (ईभी) को त संसार नै त्यहाँँ छ। यही कुम्भ मेलामा चिनियाँँ ब्रान्ड केईले तीन नयाँ मोडलका ईभी गाडी सार्वजनिक गरेको छ। यही विषयमा केन्द्रित रही केई शोरुम, भाटभटेनीका जुनियर म्यानेजर–सेल्स मिनेश स्थापितसँग गरिएको कुराकानी :
केईले नाडा अटो शोमा सार्वजनिक गरेको ३ ईभी मोडल कस्ता छन् ?
अहिले विद्युतीय सवारी (ईभी) को मार्केटले नेपाली बजार लिइरहेको छ। ग्राहकहरूको आवश्यकताअनुसार नयाँ गाडीहरू सार्वजनिक गरेका छौं। अहिले ल्याएको ब्रान्ड भनेको केई (केएआईवाइई)भन्ने छ। यो चिनियाँँ ब्रान्ड नै हो। यसमा पनि तीन मोडल ल्याएका छौं । त्यसमा सानोमा दुई वटा र ठूलोमा एक छ। ह्याचब्याग र एसयूभी गरी दुई किसिमको छ।
सानोमा ३ ढोका र ५ ढोका गरेर ल्याइएको छ। तीन ढोकामा हामीसँग ई–क्यू ०२ र ५ ढोकामा ई–क्यू ०४ भन्ने छ। यी दुई मोडल नाडा अटो शोमा नै पहिलोपटक सार्वजनिक गरिएको हो। एसयूभीमा एक्सथ्री प्रो भने करिब एक महिनाअघि नेपालमा सार्वजनिक गरिएको थियो। यी तीन वटा मोडलहरूमा नै चिनियाँँ सीएटीएल प्रविधिको ब्याट्री जडान गरिएको छ।
ई–क्यू ०२ कस्तो ईभी हो र आकर्षक विशेषता के के हुन् ?
यी ३ मोडलको सेगमेन्ट नै फरक छ। यिनीहरूको डाइमेन्सन फरक छ। ई–क्यू ०२ सानो गाडी भए पनि आवश्यक आधारभूत फिचर सबै छ। यही मोडलका अन्य कम्पनीका गाडीभन्दा यो केही ठूलो र फराकिलो छ। यसको डिजाइन नै छरितो किसिमको छ। काठमाडौंंको जाम, पार्किङ नपाउने समस्या, साँघुरा गल्लीहरू ग्राहकहरूको भोग्ने दैनिक समस्या हुन्। यसमा यो क्यू ०२ दैनिक प्रयोगका लागि एकदम नै उपयोगी हुन्छ। यसका साथै सानो परिवार (बा, आमा र १ वा २ बच्चा) का लागि पनि यो आकर्षक बन्न सक्छ। यसका पनि २ भेरियन्ट छ। यसमा अरू फिचर उस्तै भए पनि ब्याट्री र रेन्ज भने थोरै फरक छ।
यसमा एउटा दुई सय किलोमिटर रेन्ज (एकपटक ब्याट्री चार्जपछि दिने माइलेज) र तीन सय किलोमिटर रेन्जको छ। यिनमा ४० किलोवाटको मोटर आउँछ। दुई सय किलोमिटर रेन्जको गाडीमा १९ किलोवाटको ब्याट्री आउँछ भने तीन सय किलोमिटर रेन्जमा २८.०८ किलोवाटको ब्याट्री आउँछ। दुई सय किलोमिटर रेन्जको गाडीको बजार मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने ३ सय किलोमिटर रेन्जको उक्त ईभीको बजार मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ। यसको ब्याट्री एसीको साथै डीसी स्टेसनबाट पनि चार्ज गर्न सकिने अर्को मुख्य विशेषता हो। बजारमा यो मोडलका ईभी गाडीमा डीसी चार्जिङ खासै पाउन सकिन्न।
नाडामा सार्वजनिक गरिएको ई–क्यू ०४ ईभी भिन्न कसरी छ ?
यो पाँच वटा ढोका भएको ईभी कार हो। क्यू २ कोभन्दा यो करिब एक फिटबराबरको लम्बाइ लामो छ। यसको मोटर भनेको पनि ४० किलोवाटको नै हो। यसको ब्याट्री २८.०८ किलोवाट पावरको ब्याट्री हो। यसले दिने रेन्ज पनि तीन सय किलोमिटर हो। यसको बजार मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। नाडामा सार्वजनिक गरिएको भएर यी ईभीको मूल्य बजार मूल्यभन्दा समायोजन गरिएको छ।
एक्स थ्री प्रोको बारेमा के भन्नुहुन्छ ?
एक महिनाअघि नै सार्वजनिक गरिएको यो ईभीको बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। काठमाडौंंमा सार्वजनिक गरिएको भए पनि बाहिर पनि यो गाडी लगिसक्नु भएको छ। ग्राहकहरूले रिभ्यु पनि गरिरहनु भएको छ। पावर वा पर्फमेन्सको पक्षमा पनि सकारात्ममक प्रतिक्रिया पाइरहेका छौं। बजारमा आइसकेको पनि भएर होला नाडा पनि यसलाई ग्राहकहरूले रुचाइ रहनु भएको छ।
टेस्ट ड्राइभ गर्दै पनि हुनुहुन्छ। यसको डिजाइनमा अन्य ईभीभन्दा एसयूभीको नै महसुस गराउने किसिमको छ। यसको मोटरको कुरा गर्दा यो साइजको अन्य गाडीको भन्दा पावरफुल नै मोटर छ। १२० किलोवाटको मोटर यसमा प्रयोग भएको छ। ५३.६ किलोवाटको ब्याट्री दिइएको छ। यसले दिने रेन्ज भनेको ३ सय ७० किलोमिटर छ। यसका साथै यसमा पनि हामीले २ भेरियन्ट नेपालमा ल्याएका छौं। एउटा डिलक्स र अर्को फ्लागिसप छ।
डिलक्सको मूल्य ४६ लाख ९६ हजार र फ्लागिसपको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। यसमा फरक भनेको डिलक्समा सनरुफ आउँछ भने फ्लागिसपमा भिजनरूफ आउँछ। यसका साथै डिलक्समा टायरको साइज १७ इन्च छ भने फ्लागिसपमा १८ इन्चको छ। सिट पनि लिक्समा फब्रिक छ भने अर्को लेदर सिट छ।
बजारमा केई मोडलका गाडीहरू कहाँ किन्न पाइन्छ ?
आफ्टर सेल्स सर्भिसका लागि कस्ता सुविधा दिइएको छ ? नेपालमा केई ब्रान्डलाई लक्ष्मी गु्रप र गोल्छा अर्गनाइजेसनले आधिकारिक बिक्रेताका रूपमा बिक्रीवितरण गरिरहेका छन्। यसले गर्दा आफ्टर सेल्स सर्भिसका लागि ग्राहकहरूलाई फाइदा धेरै छ। नेपालमा यी दुई ठूला अटो मोबाइल समूह पुराना पनि हुन् र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका छन्।
केईको शोरुम नक्सा भाटभेटिनी र थापाथलीमा छ भने सर्भिस सेन्टर भने काठमाडौंंका तीनकुनेमा छ। चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सवालमा पनि दुवै ग्रपको प्रयोग गर्न सकिन्छ। यसका साथै नेपाल विद्युत् प्राधिकरणले बनाएका चार्जिङ स्टेसनमा पनि प्रयोग गर्न सकिन्छ।
नाडामा केईका मोडल किन्दा के कस्ता अफर राखिएको छ ?
नाडा अटो शोका लागि भनेर मूल्य समायोजना पनि गरिएको छ। यसका साथै, ४० हजार नगद छुट, एक वर्षको बिमामा छुट, सडक दस्तुरमा छुट, ब्याट्रीमा पनि १ लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी दिइरहेका छौं। यसका साथै ६ वर्षको करिब १८ पटकको सर्भिसिङ निःशुल्क गरिएको छ। एक्स थ्री प्रोमा पनि अरू माथि उल्लेख गरिएको सबै छुटसँगै नगद छुट ५० हजार छ भने ७ किलोवाटको चार्जर निःशुल्क दिइएको छ।
प्रस्तुति : सुनिता कार्की