टोकरपुरस्थित लेकखर्कका पहिरो पीडितलाई ७ लाख ३२ हजार आर्थिक सहयोग
काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरो पीडितलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ। गएको शनिबार राति पहिरोमा परेर मृत्यु भएका र विस्थापित परिवारलाई ७ लाख ३२ हजार ५ सय रकम सहयोग गरेको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।
पहिरोमा परेर चण्डिका श्रेष्ठ, १८ महिने बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरी,बिन्दा पहरी र पुड्की पहरीको शव निकालिएको छ। २ जना अझै बेपत्ता रहेका छन्।
अध्यक्ष कडेरियाका अनुसार पहिरोमा परि ज्यान गुमाएका ८ जना र बेपत्ता भएका २ जनाका परिवारलाई जनही २५ हजारले एमाले रामेछापले २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । यसैगरी पूर्ण रूपमा घर क्षति भएका कर्णबहादुर पहरीलाई २० हजार, पशुधन क्षति भएको गोमा पहरी र गंगा पहरीलाई १० /१० हजार उपलब्ध गराइएको छ।
विस्थापित ५९ परिवारलाई पनि सहयोग
यता पहिरोको डरले विस्थापित भएर टोकरपुका विभिन्न घरमा शरण लिएर बसिरहेका ५९ परिवारलाई प्रतिपरिवार ५ हजार ५ सयका दरले एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् दोरम्बा गाउँपालिका–६ लखनपुर स्थायी ठेगाना भएका रत्न गौतमले ३ लाख २४ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको कडेलले जानकारी दिए।यसैगरी एमाले दोरम्बा शैलुङ्ग गाउँपालिका कमिटी र दोरम्बा शैलुङ्ग गाउँपालिका-काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रति परिवार थप २ हजारका दरले जम्मा १ लाख १८ हजार उपलब्ध गराइएको छ।
गौतमले विपत्तिमा परेका रामेछापका पीडितहरूलाई विभिन्न समयमा सहयोग गर्दै आएका छन्। राहत वितरणमा पुगेका गौतमले एक वर्ष अघि रहस्यमय ढंगले ज्यान गुमाएका टोकरपुरकै गणेश पाठककी पत्नी अम्बिका पाठकलाई समेत एक लाख रुपैँया आर्थिक सहयोग गरेका थिए।
पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। राहत वितरण गर्दै एमाले बागमती प्रदेश कमिटीका कैलाश ढुंगेलले विपतको बेलामा राज्य र राजनीतिक दलको बढी आवश्यक हुने बताए। उनले पहिरोले बगाएको पुल र पीडित परिवारका लागि स्थायी आवास निर्माण गर्न सरकारसँग पहल गर्ने बताए।
यस अगाडि उर्जा,जलस्रोत,तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम)ले पनि पहिरो निरीक्षण गरी मृतकका परिवारलाई जनहि १० हजारको दरले सहयोग गरेका थिए। यता दोरम्बा शैलुङ गाउँपालिकाले पनि विभिन्न निकायबाट खाध्यान्न लगायत राहत संकलन गरिरहेको र वितरण गर्ने तयारी गरिरहेको जनाएको छ।