चीनको लागि ६ हजारले लिए सीमा पास
हुम्ला : चीनसँग सिमाना जोडिएका जिल्लाका नागरिकहरूलाई चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङ काउण्टीको निश्चित क्षेत्रमा ओहोरदोहोर गर्न दिने नेपाल र चीनबीच दुई पक्षीय सम्झौता अनुरूप चीन आवागमन कार्यलाई व्यवस्थित गर्न 'अध्यागमन नियमावली २०५१'को नियम ४४ (क)ले दिएको अधिकार अनुसार गृहमन्त्रायले कार्यविधि बनाएको छ ।
नेपालका उत्तरी सीमावर्ती जिल्लाका १५ जिल्लाका नागरिकहरूलाई चिनियाँ हाटबजारसम्म आउजाउ गर्न सीमापास दिने व्यवस्था छ । सीमावर्ती क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालयबाट एक वर्षे अस्थायी प्रवेश पास लिएर चीनतर्फ ३० किलोमिटर आउजाउ गर्दै आएका छन् । त्यसभन्दा बढी दुरीमा प्रवेशका लागि भिसा चाहिन्छ ।
तिब्बतसँग सीमा जोडिएका हुम्ला, मुगु र डोल्पामा तीनवटा नाका विगतदेखि नै कोराना महामारीदेखि ठप्प थियो । हुम्लाको हिल्सा नाका, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाकाबाट व्यापारिक गतिविधि हुँदै आएको छ । हुम्लाको हिल्सा नाका कर्णाली प्रदेशको समृद्धिको आधार मानिन्छ । यद्यपि हिल्सा नाकाबाट हुम्लीले लाभ लिन सकिरहेका छैनन् ।
दैनिक ५०/७० जना आवतजावत
हुम्लाको सदरमुकाम सिमकोटदेखि हिल्सानाकासम्म ९५ किलोमिटर दुरीमा गाडी चल्न थालेपछि चीनको ताक्लाकोटसँग हुम्ली निर्भरता बढेको छ । हुम्लाको सिमकोट गाउँपालिका र चीनको सीमानासँग जोडिएको नाम्खा गाउँपालिकाका अधिकांश नागरिकहरू ताक्लाकोटमा होटेल, पसल र अन्य व्यवसाय गरेर जीविकोपार्जन गर्छन् भने केही नागरिकहरू श्रम गरी ताक्लाकोट बस्ने गरेका छन् । हिल्सानाबाट दैनिक ५०/७० जना नेपालीहरू आउजाउ गर्दै आएको हिल्सा प्रहरीचौकीले जानकारी दिएको छ । दैनिक उपभोग्य वस्तु र मजदुरी जानेहरूको संख्या बढदै गएको हिल्सा प्रहरीचौकीको भनाइ छ ।
ताक्लाकोटमा नेपालीलाई बजार छुट्टै
हुम्ला जिल्लाका विभिन्न स्थानबाट चीनको ताक्लाकोटमा रोजगारी गर्न जाने नेपालीहरूलाई चीन सरकारले छुट्टै बजारको व्यवस्था गरेको छ । झन्डै दुई सय नेपालीले होटल पसल व्यवसाय गर्दै आएका कैलाश व्यापारी संघका अध्यक्ष नाङमाछिरिङ लामाले जानकारी दिए । 'होटल पसल गरी व्यवसाय गर्ने नेपालीको संख्या २ सयको हाराहारीमा रहेको अध्यक्ष लामाले बताए । 'काम गर्न आउने मजदुरहरूको लेखाजोखा छैन । ताक्लाकोट विभिन्न गाँउमा पनि पसेका छन्', उनको भनाई छ ।
६१ सयले लिए सीमा पास
हिल्सानाका खुलेपछि हालसम्म जिल्ला प्रशाशसन कार्यालय हुम्लाले ६ हजार १३९ जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ । दैनिक हिल्सा प्रशासन कार्यालय हुम्लामा सीमाका लागि १० देखि १५ जनासम्मले पास लिने गरेका छन् । १९ सय ५ जना महिला र ४२ सय ३५ जना पुरुष गरी ६१ सय ३९ जनाले यो सूचना माग गर्दासम्म सीमापास लिएका छन्।
कुन-कुन पालिकाबाट कति जनाले लिए पास
७ वटा गाउँपालिका रहेको हुम्ला जिल्लाका नागरिकहरूले हिल्सा नाका र मुगु जिल्लाको नाक्चेलाग्नाका लागि सीमापास लिएका छन् । वि.सं. २०७८को जनगण्ना अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको जनसंख्या ३५ सय ८९ जना रहेको छ । जिल्लाको ताक्लाकोट जाने सीमापास ११ सय १३ जना महिला र १४ सय ९२ जनाले जिल्ला प्रशासन कार्यालयबाट सीमापास दिएको तथ्यांक छ।
यस्तै गरी सिमकोट गाउँपालिकाबाट ५९९ जना महिला र १२८२ जना पुरुष गरी १८८१ जनाले सीमापास लिएका छन् । खापुनार्थ गाउँपालिका ८७ जना महिला र ४१२ जना पुरुष गरी ५०५ जनाले पास लिएका छन् ।
यस्तै गरी सर्केगाड गाउँपालिकाबाट १५ जना महिला र ४२० जना पुरुष गरी ४३५ जना र चंखेली गाउँपालिकाबाट ६१ जना महिला र २४० जना पुरुष गरी ३०१ जनाले सीमापास लिएका छन् ।
अदानचुली गाउँपालिकाबाट १३ जना महिला र १६० जना पुरुषले सीमापास लिएका छन् । ताजाँकोट गाउँपालिकाबाट ११ जना महिला र १८८ जना पुरुष गरी १९९ जनाले सीमापास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
बसाइसराईको नाममा सीमापास
जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइसराईका नाममा पनि सीमापास दिने गरेको छ । नाम्खा गाउँपालिकामा बसाइसराई गरेका १० जना महिला र ५ जना पुरुष गरी १५ जनालाई चीनको ताक्लाकोट जाने सीमापास दिएको छ । यस्तै गरी सिमकोट गाउँपालिकामा बसाइसराइ गरेको नाममा जिल्ला प्रशासन कार्यालयबाट ७ जना महिला र ६ जना पुरुषले सीमापास लिएका छन् । जिल्लामा कार्यरत भन्दै ४ जना महिला र १८ जना पुरुषले पनि चीनको ताक्लाकोट भम्रणका लागि सीमापास लिएको तथ्य फेला परेको छ ।
नाकामा चिनियाँहरूको मनपरी
पाँच वर्षयता सीमामा भने चिनियाँहरूको मनपरी देखिएको छ । सीमा सञ्चालनमा कुनै नीति नियम छैन। स्थानीय व्यवसायीका अनुसार कुन बेला नाका बन्द गर्ने, कुन बेला खुला, कुन सामान बढी पठाउने, कुन कम पठाउने, वस्तुको कोटा कति तोक्ने जस्ता काम चिनियाँ पक्षको तजबिजीमा चल्ने गरेको छ । जसले हुम्लाको जनजीवनलाई असहजतातिर डोर्याउँदै छ ।
खाद्यान्न लुकाएर ल्याउँछन् हुम्ली
चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै भित्रिने मैदा पिठो नेपालीहरूले लुकाएर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो रहेको छ । 'धेरै सामान ल्याउन दिँदैन । दुई पिस बनाएर ल्याउनुपर्छ', नाम्खा गाउँपालिका–५ का निमा तामाङले बताए ।
नाम्खामा उत्पादन कम हुन्छ हिउँदमा खाने पिठो ल्याउन ताक्लाकोट पुग्नुपर्छ र दुई बोरा मात्रै ल्याउन पाइन्छ । त्यही पनि लुकाइलुकाई सीमा पार गर्नुपर्ने तामाङले बताए । 'चीनको भरमा दैनिक उपभोग्य वस्तुको भर पर्नुपपर्छ, त्यही पनि सहज छैन', उनले बताए ।