क्याप्टेन थापाको ‘इन्टु द फायर’ विमोचन (फोटो फिचर)
काठमाडौं : क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन भएको छ। काठमाडौं स्वयम्भुस्थित सशस्त्र प्रहरी बलको सभाहलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त किताब विमोचन गरेका हुन्। विमोचन समारोहमा विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र ॐ आदि बाल गुरु पनि सहभागी थिए।
अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ द्वन्द्वकालमा नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित छ। किताबका बारेमा काठमाडौं पोस्ट अंग्रेजी दैनिकका सम्पादक विश्वास बराल र सञ्चारकर्मी विजयकुमार पाण्डेले टिप्पणी गरेका थिए। द्वन्द्वकालमा क्याप्टेन थापाले देशका लागि आफ्नो ज्यानको प्रवाह नगरेको र त्यही भोगाइलाई किताबमा चित्रण गरिएको उनीहरूको भनाइ छ।
'तपाइँले युद्ध नजिकबाट हेर्नुभएको छ। हामीले एक पटकमा एक पक्षको मात्र कल्पना गर्न सक्छौं। तर तपाइँले एकैपटक चारैतिरबाट हेर्नुभएको छ। त्यो दुःख र भोगाइ सहनुभएको छ। साँच्चै नै देशका लागि तपाइँको यो ठूलो योगदान हो,' सञ्चारकर्मी पाण्डेले भने।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि क्याप्टेन रामेश्वर थापालाई नजिकबाट चिन्ने बताए। पार्टी र अन्य कामका लागि क्याप्टेन थापाको हेलिकोप्टर धेरै चढेको भन्दै उनीहरूले देशका लागि गरेको योगदानको चर्चा गरेका थिए।