किशोरीलाई कानुनी साक्षरता

किशोरीलाई कानुनी साक्षरता
सुन्नुहोस्

बेनी : प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ।  

बालविवाह, हिंसा र सामाजिक कुरीतिका विरुद्ध किशोरीहरूलाई संगठित गराउने, नेतृत्व र क्षमता विकास गर्ने, प्रतिकार र कानुनी उपचारका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तह, सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरेका हुन्।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले १८ वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको संख्या १९ प्रतिशत रहेको म्याग्दीमा बालविवाहका कारणले सिर्जना भएको हिंसा, विभेद र कुरीति न्यूनीकरणका लागि किशोरीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको बताए।

 
‘कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई मान्यता नदिए पनि १८ वर्ष भन्दा कम उमेरका गर्भवतीको संख्या १९ प्रतिशत हुनुको प्रमुख कारण बालविवाह नै हो,’ उनले भने ‘किशोरीहरूलाई कानुनी शिक्षा दिएर बालविवाह हुन नदिने र हिंसाबाट बचाउने उद्देश्यले प्रहरी, स्वास्थ्य, सामाजिक कार्यालय र स्थानीय तहको सहकार्यमा सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ।’

तीन/तीन वटा विद्यालयका १५/१५ जनाका दरले किशोरीहरूलाई एउटा विद्यालयमा जम्मा गरेर प्रशिक्षण दिने, किशोरी सञ्जाल बनाई सामाजिक कुरीति, बालविवाह र हिंसाको विरुद्धमा संगठित तथा कानुनी उपचार खोज्न अग्रसर हुन प्रेरित गरिएको थापाले बताए।   

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा घरेलु हिंसा सम्बन्धी १७ र महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध आठ वटा ठाडो उजुरी परेका थिए। सबै मिलापत्र भएको छ।     

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले किशोरीहरूलाई सचेत र सक्षम बनाउँदै सभ्य तथा सुरक्षित समाज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।  ‘किशोरीहरूलाई सही शिक्षा र कानुनी ज्ञान प्रदान गरि हिंसाबाट जोगिने, प्रतिकार गर्ने र हिंसा हुँदा कानुनी उपचार खोज्न सक्षम बनाउन लागिएको हो,’ उनले भनिन ‘किशोरीहरू हिंसामा नपरुन र परेकाले कानुनी उपचार खोज्न सक्षम हुन भन्ने कार्यक्रमको उद्देश्य हो।’ 

किशोरीहरू मार्फत समाजमा हिंसा, विभेद, कुरीति र बालविवाहको विरुद्धमा सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। बेनी सामुदायिक, वुद्ध एकेडमी र माउन्ट एभरेष्ट आवासीय माविका ४५ जना किशोरीहरूका लागि बेनी सामुदायिक माविमा तीन दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाको महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले बताइन्।  

‘प्रकाश मावि र म्याग्दी बहुमुखी क्याम्पसमा केन्द्र बनाएर प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ,’ उनले भनिन् ‘गत वर्षको कार्यक्रममा छुटेका विद्यालयका किशोरीलाई यसपाली समेट्ने लक्ष्य छ।’ कार्यक्रममा किशोरी स्वास्थ्य, किशोरीहरूको वर्तमान अवस्था, समाज विकासमा किशोरीको भूमिका, आत्मरक्षा र योग अभ्यासको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.