'इन्टु द फायर' विमोचनमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले के भने?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन्। क्याप्टेन रामेश्वर थापाको पुस्तक 'इन्टु द फायर' विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेशजस्तै हुनसक्ने धम्कीबाट आफू नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताए।
श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ति उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ दिए। नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप लगाए। आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको उनको भनाइ छ।
उनले आफूलाई पदको कुनै लोभ नभएको पनि बताए। आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनु अघि नै सहजरूपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए। उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा सामाजिक अराजकतामात्रै भएको र यसले समाजलाई बेथितितर्फ लैजाने बताए। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुनेगरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनीरूपमा रोक्ने बताए।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्याप्टेन रामेश्वर थापाले नेपालको राजनीतिमा ठूलो भूमिका खेलेको बताए। सशस्त्र जनयुद्धमा मात्र होइन, देशलाई राजनीतिक अस्थिरता हुनबाट रोक्न क्याप्टेन थापाको ठूलो योगदान रहेको उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले के भने?
इतिहासको एउटा खण्डको हामीले उद्घाटन गरेका छौं। पुनः स्मरण गरेका छौं। 'इन्टु द फायर' ६ वर्ष अगाडि 'बारुदमाथि उड्दा' शीर्षकमा नेपाली ग्रन्थमा लेखिएर प्रकाशित भएको थियो। त्यसमा केही रचनाहरू थपेर इन्टु द फायर प्रकाशित भएको हो। यस कार्यका लागि क्याप्टेन रामेश्वर थापालाई बधाई दिन चाहन्छु। अहिले बस्दाबस्दै मैले क्याप्टेन थापालाई भने, 'तपाईँले योभन्दा बढी विस्तृतमा लेख्नुपर्ने कुराजस्तो लाग्छ। विस्तृत लेख्नुस्।'
प्रत्यक्ष वर्णन सजिलो कुरा पनि होइन। महाभारतको युद्धको वर्णन गर्न तत्कालीन काव्यकार र साहित्यकारहरूले दिव्यदृष्टिको कल्पना गरेर लेखेका थिए। तर, यहाँ दिव्यदृष्टि होइन, प्रत्यक्ष भोगेर, विभिन्न अपरेशनहरूमा सहागी भएर शान्ति व्यवस्था कायम गर्न र देशमा हिंसा अन्त्यका लागि नेपाली सुरक्षाकर्मीलाई साथ दिएर उहाँले आफ्नो ज्यान हत्केलामा राख्नुभयो। उहाँ सेना वा प्रहरीको व्यक्ति पनि होइन। तर, सेनाको व्यक्तिभन्दा उहाँले देखाएको बहादुरी कम लाग्दैन। म उहाँको प्रशंसा पनि गर्न चाहन्छु। तलबको लागि हो भने उहाँले रेस्क्यु गरेर त्योभन्दा बढी कमाउनुहुन्थ्यो होला। अरु काम गर्दा पनि आम्दानी त भइहाल्थ्यो होला। तर, उहाँले आफू र आफ्नो हेलिकोप्टर नै जोखिममा राख्नुभयो।
साधारण गरिबी भोगिरहेको एउटा पारिवारिक स्थितिबाट आफ्नै हेलिकोप्टरको मालिकको रूपमा उहाँ त्यसै उठ्नुभएको होइन। जोखिम मोलेर पुगेको हो। उहाँले आफ्नो सुरक्षाभन्दा देशको सुरक्षा र शान्तिको पक्षमा, अमन चयनको पक्षलाई महत्त्व दिनुभयो। आम जनताको जीवनको रक्षाका लागि आफ्नो जीवनलाई अप्ठ्यारोमा पार्न तयार हुनुभय। यो साँच्चै नै प्रशंसनीय छ।
दुनियाँमा पूरै स्थायी केही पनि हुँदैन। दुनियाँ गतिशील र परिवर्तनशील छ। परिवर्तन भइरहन्छ। राजनीति, राजनीतिक दल र लिडरसीप पनि परिवर्तन हुन्छ। मैले भन्ने गरेको छु, समाजको सुव्यवस्थाका लागि मानव जातिले विकास गरेका कुराहरूमध्ये एउटा राजनीति र अर्को राजनीतिक दल हो। राजनीति र राजनीतिक दलको परिकल्पना र मानव समाजको व्यवस्थापनमा सबभन्दा ठूलो उपलब्धि हासिल गरेको छ। पहिले सत्ताहरू उब्जिए। पछि राजनीतिक दल उब्जिए। विभिन्न खालका सिस्टमहरू पनि उब्जिए। आधुनिक समयमा जति समाज विकसित हुँदै जान्छ, त्यसलाई व्यवस्थापन गर्न पुराना ढाँचाका राज्यले मात्र सक्दैन। त्यसकारण राजनीतिक दल चाहियो।
३५ सालमा बीबीसीलाई दिएको इन्टरभ्युमा बीपी कोइरालाले राष्ट्रिय एकताको प्रश्न राजनीतिक दलले गरेका हुन् भनेर दिनुभयो। किनकि एउटै नारा, एउटै झन्डा, एउटै उद्देश्य र एउटै विचारमा आबद्ध गरेर पूर्वदेखि पश्चिमसम्म, दक्षिणदेखि उत्तरसम्म। सबै पेसा व्यवसायीका जनतालाई, सबै जाति भाषाका जनतालाई एकताको सूत्रमा बाँध्ने भनेको राजनीतिक दल अनि राजनीति हो। राजनीतिक दलले राष्ट्रिय एकता, राष्ट्रिय भावना अगाडि बढायो। तर, एउटै चेन्ज, एउटै भाषा र एउटै तरिका सधैं हुँदैन। एउटै व्यक्तिले निर्देशित गर्छ भन्ने पनि हुँदैन। प्रकृतिले पनि त्यो कुरा मान्दैन।
मैले सधैं नेपालको मै नृतृत्व गर्छु। मै प्रधानमन्त्री हुन्छ भनेर हुन्छ र? मलाई मन नपराउनेहरूका लागि म खुसीको खबर भनिदिन चाहन्छु। अब म मेरो यसपटको प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन बाँकी छ। त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी खाउँ होइन कि बरु समयमै हस्तान्तरण गरौं भन्ने छ। अर्थात् राजनीतिलाई घृणा गर्ने भन्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा, विधिको शासनलाई घृणा गर्छु भन्ने कुरा सामाजिक अराजकतामात्रै हो। त्यसले समाजलाई राम्रो ठाउँमा पुर्याउँदैन। घृणाको राजनीति, अराजकता अथवा संस्कारहीन तरिका हो। ती कुराले समाजलाई बेथितितिर लान्छ। अराजकताले छिन्नभिन्न समाज हुन्छ। हामीले गर्न खोजेको समाज भनेको डेमोक्रेटीक समाज हो। त्यो भनेको हाम्रो सकारात्मक जीवन पद्धति, शान्तिपूर्ण जीवन पद्धति, राम्रो कुराहरू गर्ने जीवन पद्धति। आफ्नो र अरुको अधिकारको सम्मान गर्ने पद्धति।
विजयजीले पक्राउ परेकाहरूलाई छोडिदिनुस् भन्नुभयो। छोडिदिसकेकै छ। गल्ती गर्ने हो भने पक्रिन नि सक्छ। त्यो मेरो काम पनि होइन। त्यसका लागि आ-आफ्नो निकाय छ। नेपालमा अब उपरान्त कसैलाई पनि पक्राउ नगर्नू, जेसुकै अपराध गरे पनि कसरी भन्न सक्छु र? फेरि रुल अ ल को कुरा पनि आउँछ। म रुल अफ लको कुरा गर्छु। अन्याय कसैलाई हुन दिन्न। तर, समाजलाई थिति र विधिमा ढाल्नुपर्छ। कानुनको राज त हुनुपर्छ। कानुनी राज्य त चलाउनुपर्छ। कानुन न्यायपूर्ण हुनुपर्छ। अन्यायपूर्ण कानुन हुनु हुँदैन। अधिनायकवादमा अन्यायपूर्ण कानुन बनाएर संवैधानिक र कानुनमाथि नै थिचोमिचो गरेर चलाइन्छ। यस्ता संविधानहरू पनि हामीले देखेका छौं। ती अन्तर्गत बनेका संवैधानिक कानुहरू पनि देखेका छौं। त्यही कानुनको आधारमा अधिनायकवाद लादेको पनि हेरेका छौं।
डेमोक्रेसी राज्येमात्र मान्ने कुरा होइन। डेमोक्रेसी राज्यको पनि जीवन पद्धति हुनुपर्छ। समाजको पनि जीवन पद्धति हुनुपर्छ। हरेक संघसंस्था र व्यक्तिहरूको पनि जीवन पद्धति हुनुपर्छ। लोकतन्त्र परिपूर्ण हुनुपर्छ। राजनीतिक स्वतन्त्रता भएरमात्र हुँदैन। म के स्पष्ट पार्न चाहन्छु भने अहिलेको सरकारले कुनै पनि प्रकारको, कसैमाथि अन्यायपूर्ण ढंगले आफ्नो हितलाई, आफ्नो सत्ता स्वार्थलाई कुनै पनि कुरालाई केन्द्रमा राखेर कसैमाथि अन्याय, अत्याचार गर्दै गर्दैन भन्ने प्रतिबद्धता सरकार प्रमुखको हैसियतले म भन्न चाहन्छु। तर, अरुको हितको पनि रक्षा हुनुपर्यो। सभ्य मान्छेलाई पनि सुन्नसक्ने भाषा त बोलिदिनपर्यो नि। देख्ने मान्छेले पनि देख्ने खालको दृश्यमा सीमित रहन पर्यो नि।
माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेका बेला। अन्धाधुन्द मान्छे मारिरहेका बेला, लुटिरहेका बेला मैले विरोध गरे। न मसँग सेना थियो न प्रहरी, तैपनि मैले व्यक्तिगत तवरमा चर्को विरोध गरे। त्यो मेरो सत्यप्रतिको निष्ठामात्रै हो। तपाइँहरूले गलत गर्दै हुनुहुन्छ, बन्द गर्नुस् भन्ने कुरा मैले लगातार भने। विरोध गरिरहेँ। मैले कसरी वार्ताबाटै समाधान गर्न सकिन्छ भनेर ५८ साल भदौ २५ गतेको कान्तिपुरमा लेख पनि लेखेको थिएँ। सेना समायोजन पनि होस्, द्वन्द्व व्यवस्थापन होस्। उनीहरूलाई कसरी संसदमा ल्याउन सकिन्छ भन्ने कुरा होस्। पछि जेजे कुरा भए, त्यो मैले ५८ सालमै भने। मैले संबाद पनि गराउने कोसिस गरेँ। संबादको माध्यमबाट समस्या समाधान गरौं। मान्छे मारेर हिंसा फैलाएर हुँदैन भने। माओवादीले हिंसा नरोक्ने हो भने यो बिना रोकटोक बढ्दै जाने भए। हिंसाको प्रवृत्ति र मनोबल बढ्दै जाने भए। त्यसकारण रोक्न पनि पर्यो। राज्यले पनि रोक्न प्रयास गर्यो। राज्य मुकदर्शक भएर बस्न सक्दैन। यस मामिलामा क्याप्टेन रामेश्वर थापाको योगदान प्रशंसायोग्य छ।
यसका अन्य पक्षहरूको कुरा गर्दा कतिपयलाई अप्रिय लाग्नसक्छ। किताबमा त मुख्य-मुख्य घटनामात्र मात्रै वर्णन गरिएको छ। घटनको अन्तर्यमा पस्ने वितिकै कतिलाई मन नपर्ने हुन्छ। एकबारको जिन्दगी, त्यत्रो हेलिकोप्टर, बल्दाबल्दैको अवस्थामा बाँचेर आउनुभएको छ। फागुको जिन्दगी डराउनुपुर्ने आवश्यकता नै छैन। सत्यको अवलम्बन गर्नुस्, अगाडि बढनुस्। म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ। ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बाँचियो। फागुकै जिन्दगी हो। त्यसैले मलाई पनि कुनै डरभर छैन।
हिजोतिर हो क्यार, प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने? मैले लुटपाट गरेको छ र खुट्टा कमाउने? श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक, चर्को स्वरमा भन्दैहुनुहुन्छ राम्ररी सिक। म भन्न चाहन्छु, राम्ररी सिक। आजको समयमा बेथिति चलाउन सकिँदैन। बंगलादेशमा जे भयो त्यही नेपालमा हुन्छ भन्ने छैन। नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। यहाँ आफ्नो इतिहास र परम्परा छ। लोकतन्त्र हामीले लडेर ल्याएका ह्यौं। अहिलेको संविधान हामीले लेखेका हौं। यो प्रणाली हामीले ल्याएका हौं। यसलाई विकास, परिमार्जन र अझ प्रभावकारी बनाउँदै लैजान्छौं। जनताको पक्षमा बनाउँदै लैजान्छौं। तर, जो लोकतन्त्रविरुद्ध लडे उनकै ठूलो कुरा। हिन्दीमा एउटा भनाइ छ, उल्टा चोर कोतवालको डाँटे। त्यतापट्टि म जान चाहन्नँ। नेपालमा अब कहिल्यै पनि त्यस किसिमको हिंसा सम्भव छैन। त्यस प्रकारको हिंसा हुन दिइँदैन पनि। कसैले गर्न खोजे पनि त्यो सम्भव छैन। अनि उल्टै हामीलाई तर्साउन खोज्ने? हामी त बारुद्धका बीचबाटै यात्रा गरेर आएका हौं। आजदेखि होइन। आधा सताब्दीभन्दा धेरै समयदेखि।
म ६ दसकदेखि देश बनाउने अभियानमा लागेको छु। म फेरि भनिरहेको छु। आफ्नो हक नलाग्ने, आफ्नो कमाइबाहेकको, कानुनसम्मत, न्यायसम्मत, आफ्नो पसिना र कमाइले आर्जन गरेकोबाहेक अरु सम्पत्तिमा लोभ गरेको छैन, गर्दिनँ। भ्रष्टचार गरेको छैन, गर्दिनँ, गर्न दिन्न भन्ने मेरो अठोट छ। नेपालमा त के हुने रहेछ भने ३५ क्वीन्टल सुन ल्याउने रहेछ, अनि पशुपतीमा पितल राखेर सुन चोर्यो भन्न लगाउने। संसदमै किन बोल्ने भनेको त ३५ क्वीन्टल सुन ल्याउनुरहेछ। म भन्न चाहन्छु, मैले जानी जानीकन झुट बोलेको छैन, बोल्दिनँ। कसैको अधिकार हनन गरेको छैन, कसैको अहित गरेको छैन। इमोरल काम गरेको छैन। तसर्थ म ढुक्क छु।
अहिले देशको अर्थतन्त्र एकदमै अप्ठ्यारोमा छ। गत वर्ष २४ प्रतिशतले राजस्व घटेको रहेको छ। त्यो साह्रै खतरनाक कुरा हो। एक चौथाइ राजस्व घट्छ भने हामी कता जाँदैछौं भन्ने प्रश्न उठछ। तर, यस स्थितिलाई अन्त्य गरिनेछ। तथ्य, आँकडा र उपलब्धिमा देखिनेगरी परिवर्तन ल्याउँछौं। यसटक ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल भएका छन्। आगामी वर्ष ७० प्रतिशत पास हुने बनाउँछौं। त्यसका लागि दक्ष शिक्षकहरूबाट मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन गरिनेछ। परिवर्तन ल्याउने बाटो खोजिरहेका छौं। गरिबीको दुस्चक्रमा नेपाललाई पर्न दिन्नँ। यसबाट अगाडि बढाइन्छ बढाइन्छ। २० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि छन्। तर, कतिपयलाई रमाइलो भएको छ। सपथ गरेर फर्किन पाएको छैन, सत्तोसराप गरेर हैरान छ। तर, मेरो ध्यान त्यता छैन। जनतालाई कसरी बढीभन्दा बढी सेवा उपलब्ध गराउन सकिन्छ भन्ने कुरामा मेरो ध्यान छ।
कांग्रेस सभापति देउवाले के भने?
रामेश्वर थापाजीलाई मैले धेरै पहिल्यैदेखि चिन्दै आएको छु। उहाँको हेलिकोप्टरमा म धेरै पटक घुमेको छु। कहिले पार्टीको काममा गएको छु। कहिले अन्य काममा पनि गएको छु। मलाई व्यक्तिगत रूपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यसकारण केपी शर्मा ओलीको पार्टीको नजिकको भने पनि सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो रामेश्वर थापा। उहाँको बारेमा जति भने पनि कम हुन्छ। उहाँको स्वास्थ्य र जे कामको थालनी गर्नुभएको छ, त्यसले आगामी दिन झन् राम्रो गर्दै जाओस्। उहाँलाई मैले सबैको भलो चाहने व्यक्तिको रूपमा लिएको छु। उहाँले नेपालको राजनीतिमा ठूलो भूमिका खेल्नुभएको छ। ठूला दललाई एक ठाउँमा ल्याएर राजनीतिक अस्थिरता हुनबाट रोक्नुभएको छ। म मेरो पार्टी र व्यक्तिगत तर्फबाट पनि क्याप्टेन थापालाई धन्यवाद दिन चाहन्छु।