निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ : खानेपानी मन्त्री
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गरेका छन्।
आज काठमाडौंमा आयोजित तीज तथा सौन्दर्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले महिला राष्ट्रपति, सभामुख, न्यायाधीश, र मुख्य सचिव पाइसकेकाले अब महिला प्रधानमन्त्री बन्ने मात्र बाँकी रहेको बताएका हुन्।
मन्त्री यादवले भने, ‘महिलाहरूले उच्चतम पदहरू हासिल गरिसकेका छन्, अब प्रधानमन्त्री पदमा महिला नेतृत्वको अपेक्षा गरिएको छ । निकट भविष्यमै देशले महिला प्रधानमन्त्री पाउनेमा म विश्वस्त छु।’
मन्त्री यादवले नेपालको संविधानले महिलाका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउँदै वर्तमान सरकार पनि महिलाका हकहितमा प्रतिबद्ध रहेको बताए। महिलाका लागि ३३ प्रतिशत आरक्षण सरकारी निकायहरूमा अनिवार्य हुनुपर्ने बताए। तीज पर्वको सन्दर्भमा मन्त्री यादवले यस पर्वले दिदी बहिनीहरूलाई दुःख सुख साटासाट गर्ने अवसर दिने र मिलनको पर्वको रूपमा महत्त्व राख्ने बताए।
अर्को प्रसंगमा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंवासीलाई २४ घण्टा खानेपानी उपलब्ध गराउन, ललितपुरमा मेलम्चीको पानी पुर्याउन र गोदावरीको पानी खुवाउन आवश्यक तयारी भइरहेको बताए।