१ हजार भत्ता लिन २ हजार खर्च

१ हजार भत्ता लिन २ हजार खर्च
सुन्नुहोस्

वीरगन्ज : पर्सागढी– ७ फुलकवलका महेश पासवानले २ सय रुपैयाँ अटोको भाडा तिरे। खाजा खानामा झन्डै साढे दुई सय खर्च गरे। अनि, आइपुगे, नारायणी अस्पताल। १ हजार भत्ता बुझ्न उनी बुधबार अस्पताल पुगेका थिए। तर, अस्पतालले असोजमा मात्रै भत्ता दिने अडान लिएपछि उनी रित्तो हात घर फर्के। 

घरबाट अस्पताल र अस्पताल बाट घर फर्किन उनको झन्डै १ हजार रुपैयाँ खर्च भयो। फेरि असोजमा यसैगरी घरबाट अस्पताल र अस्पतालबाट घर फर्किँदा अर्को १ हजार जति खर्च हुन्छ। १ हजार भत्ताका लागि उनले २ हजार खर्चिनुपर्र्ने अवस्था देखा पर्दै छ। त्यसैकारण, नारायणी अस्पताल परिसरमा उनी आक्रोश पोख्दै थिए ,‘१ हजार भत्ता लिन २ हजार खर्च कसले गर्छ ? उही बेला नै पाइँदैन भन्दिएको भए अहिले किन अस्पताल आउँथे र ?’

उनको कथा यस्तो छ– १५ दिनअघि नारायणी अस्पतालमा उनकी छोरीको जन्म भयो। अस्पतालले आमा सुरक्षा कार्यक्रमअन्तर्गत यातायात खर्चबापत १ हजार रुपैयाँ भत्ता दिने भनेको थियो। तर, त्यस बेला भत्ता दिएन। बुधबार भने भत्ता पाउने आशामा अस्पताल पुगेका थिए। तर, अस्पतालका कर्मचारीले दिएनन्। बरु, असोजमा आउनु भने। ‘आज गाडीभाडामा मात्रै ५ सय खर्च भई सक्यो,’ उनको आक्रोश थियो, ‘अब फेरि असोजमा आउनु भनेका छन्। फेरि ५ सय खर्च हुन्छ। दुई दिन मजदुरी गरे १ हजार कमाई हुन्छ। अनि १ हजार भत्ता लिन २ हजार खर्च कसले गर्छ र ?’ 

आमा सुरक्षा कार्यक्रमअन्तर्गत यातायात खर्चबापत सुत्केरी महिलाले पाउने भत्ता रकम वितरण कार्य वीरगन्जको नारायणी अस्पतालमा साउन १ गतेदेखि रोकिएको छ। त्यसैकारण पासवानजस्तै १ हजार बढी सेवाग्राही मर्कामा परेका छन्। अस्पतालमा जन्मिएका नवजात शिशु र सुत्केरी महिलालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै अस्पतालले उपलब्ध गराउनुपर्ने उक्त भत्ता रकम नारायणी अस्पतालले साउन १ गतेदेखि वितरण गरेको छैन। जसका कारण भदौ ११ गतेसम्म उक्त सुविधाबाट १ हजार ४८ सुत्केरी बञ्चित छन्। 

साउन २७ गते पासवानकी शिशु र पत्नीलाई डिस्चार्ज गर्ने बेला अस्पतालका कर्मचारीले चालू आर्थिक वर्षका लागि अस्पतालको खाता नखुलेकाले भदौ १० गते यातायात खर्च बापतको भत्ता रकम लिन आउनु भनेर पठाएका थिए। त्यहीअनुसार उनी बुधबार अस्पतालमा आउँदा फेरि कर्मचारीले त्यही जवाफ फर्काएर अब असोजमा आउन भने। त्यसपछि उक्त रकमका लागि अब फेरि अस्पताल नआउने बरु भत्ता नै नचाहिने भन्दै आक्रोश पोख्दै पासवान घर फर्किए। उनले भने, ‘यसरी बारम्बार झुलाउने नै भए सरकारले दिने नियम नै नबनाएको भए हुन्थ्यो। जेतनाके मुर्गी ना ओतनाके मसाला (जति मूल्यको कुखुरा छैन त्योभन्दा बढी त मरमसलामै लाग्ने) भयो।

पासवानको उक्त गुनासो लिएर पुग्दा अस्पतालका निमित्त मेसु डा. एनामुल हकले भने कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गत असार २४ मा बन्द गरेको अस्पतालको खाता हालसम्म पनि नखोलिदिएका कारण यस्तो समस्या भएको बताए। सुत्केरीलाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै उक्त भत्ता रकम दिनुपर्ने निर्देशीकामा उल्लेख छ।

तर, अस्पतालको खाता नखुलेका कारण सााउन १ गतेदेखि उक्त रकम वितरण गर्न नसकिएको उनले बताए। चालु आर्थिक वर्षका लागि साउन दोस्रो या तेस्रो सातामै खाता पुनः खोल्नुपर्ने भए पनि कोलेनिकाले त्यसमा ढिलाइ गरेका कारण आमा सुरक्षा कार्यक्रमअन्तर्गतको यातायात खर्च बापतको रकम वितरण गर्न नसकिएको हकले बताए। उनले भने, ‘अब यो समस्या छिट्टै समाधान हुन्छ। यदि कोलेनिकाले १÷२ दिनमा पनि खाता खोलेन भने पनि अस्पताल प्रशासनले अन्य कतैबाट रकमको जोहो गरेर उक्त सुविधा उपलब्ध गराउँछ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.