सिटामोल पनि छैन बाजुरा अस्पतालमा

सिटामोल पनि छैन बाजुरा अस्पतालमा
सुन्नुहोस्

बाजुरा : सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले निःशुल्क उपलब्ध गराउँछन। तर, जिल्ला अस्पताल बाजुरामा यसकै अभाव छ। यसैकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरी बताउँछन्। 

जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी गिरीले बताए। सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए। ‘बच्चा बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गर्न गएको थिएँ। स्वास्थ्यकर्मीले औषधि लेखेर निःशुल्क औषधि पाउने ठाउँमा पठाए,’ पाध्यायले भने, ‘तर स्वास्थ्यकर्मीले औषधि सकिएको भने। अनि, निजी मेडिकलबाट किन्न बाध्य भएँ।’ निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै जवाफ दिएपछि आफूले निजी मेडिकलबाट औषधि किनेर ल्याएको उनले बताए। 

जिल्ला अस्पतालमा हाल मौसमी ज्वरो, रुघाखोकी, पखाला, भाइरल ज्वरो, दम, पे्रसरलागतका बिरामी बढी आउने गरेको सूचना अधिकारी गिरीले बताए। जिल्ला अस्पतालमा नयाँ भवन बनेपछि हाडजोर्नी, डेन्टल, जनरल सर्जरीलगायतका सेवाहरू सञ्चालन भएपछि बिरामीको चाप पनि बढ्दै गएको छ। जिल्लाका ९ वटै स्थानीय तहका साथै कर्णालीका हुम्ला, मुगु र कालीकोटका बासिन्दा पनि उपचारका लागि बाजुरा आउने गरेका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष औषधि खरिदका लागि १० लाख रुपैयाँ दिएको थियो। तर, उक्त बजेट अघिल्लो आर्थिक वर्षमै अपुग भएको अस्पताल प्रशासनको भनाइ छ। उक्त रकमबाट औषधि खरिद सँगै अस्पतालमा दैनिक प्रयोग गरिने एन्टी सेप्टी, बेटाडीनलगायतका औषधि खरिद गर्दा झनै अपुग भएको प्रशासनको भनाइ छ। यस वर्ष भने प्रदेश सरकारले औषधि खरिदका लागि एक थोपा बजेट दिएको छैन। ‘पुरानो औषधि सबै सकियो,’ गिरिले भने, ‘नयाँ किन्ने बजेट छैन। त्यसैकारण औषधिको चरम अभाव भयो।’ जिल्ला अस्पतालसँग सिटामोल किन्ने बजेट नहुँदा स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको अस्पताल प्रशासनको गुनासो छ। 

प्रशासनले बिरामी भर्ना पुर्जा, रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ल्याब सेवाबाट लिएको शुल्कले केही कर्मचारीको व्यवस्थापन गरिरहेको छ। त्यसरी गर्दा पनि जनशक्तिको अभाव छ। अस्पतालमा १८ जना कर्मचारीको दरबन्दी भए पनि अहिले मेडिकल अधिकृत, हाडजोर्नी तथा नशा रोग विशेषज्ञसहित १० जनाले मात्रैसेवा दिइरहेका छन्। 

सदरमुकाम मार्तडीमै रहेको जिल्ला अस्पतालमा अधिकांश औषधि अभाव भएपछि निजी स्वास्थ्य संस्थाबाट औषधि किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। अस्पतालमा ठूलो भवन बने पनि सेवा सुविधा भने राम्रो नभएको र एक्सरे, भिडियो एक्सरे, रगत परीक्षण ल्याब जस्ता सेवामा चर्को शुल्क लिने गरेको सर्वसाधारणको दुःखेसो छ। 

हरेक वर्ष सरकारले न्यून बजेट दिने र यस वर्ष त बजेट नै विनियोजन नहुँदा जिल्ला अस्पतालबाट निःशुल्क पाइने ९८ प्रकारका औषधिमध्ये २९ बढी प्रकारका औषधि अभाव रहेको अस्पतालका सूचना अधिकारी गिरीले बताए। औषधि खरिदका लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा अस्पतालले सधैं औषधि अभाव झेल्दै आएको उनले बताए। जिल्ला अस्पताल बाजुरामा हाल १ सय ५० देखि २ सय बढी बिरामी दैनिक आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.