केन्द्रका मन्त्रीलाई रारामा प्रतिबन्ध लगाउनुपर्ने हो कि
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल मुलुककै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा छ। रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस तालको लम्बाइ ५ किलोमिटर र चौडाइ करिब ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ। प्रकृतिको उपहारको रूपमा सिर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुंगीले समेत थप शोभा दिएका छन्।
रारातालमा सिस्ने हिमाल र कान्जिरोबा हिमालको मनोरम दृश्य देखिन्छन। साथै अन्यत्र कहीँ नपाइने ‘असला’ जातको माछा पाइन्छ। संसारमा नीलो पानी रारातालमा छ। भनिन्छ, यहाँ पुगेपछि ढुंगाकै मन भए पनि पग्लिन्छ रे ! रारामा २ सय ३६ प्रजातिका चरा पाइन्छन्। जेठदेखि असोजसम्म विभिन्न फूलहरू पहिरिएर स्वर्गकी अप्सरा झैं देखिने रारातालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइ दिएका हुन्छन्।
यो ताल मुगुको मात्र नभई समग्र देशको गौरव बोकेको पर्यटकीय स्थल हो। यसको संरक्षण तथा प्रचार गरी अन्तर्राष्ट्रिय तहमा प्रचार गर्न सकिए प्रशस्त पर्यटक भित्रिने र यस क्षेत्रमा आर्थिक गतिविधि बढाउने निश्चित छ। तर, संघीय सरकारले राराको प्रबद्र्धनका लागि बजेट, नीति तथा कार्यक्रममा उपेक्षा गर्दै आएको छ। संघीय सरकारका मन्त्रीहरूलाई रारा घुम्न आउँदा नगरपालिकाले स्वागत गर्नुपर्ने, खाने बस्ने व्यवस्था मिलाउनुपर्ने, गाडीमा तेल हालिदिनुपर्छ । तर, रारा प्रबद्र्धन तथा यहाँको पूर्वाधार विकासका लागि हरेक वर्षको बजेटमा नसमेटिनुले निकै दुखित छौं। त्यसैकारण संघीय सरकारका मन्त्रीहरूलाई रारामा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको छ।