विपद् व्यवस्थापनमा सक्षम बन्दै वीरेन्द्रनगर
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका विभिन्न प्रकारका विपद्को उच्च जोखिममा छ। वीरेन्द्रनगरमा बाढी, पहिरो, डुबान, भूकम्प र खडेरीलगायतका प्राकृतिक विपद्को जोखिम छ। तर, यस्ता विपद्को जोखिमलाई न्यूनीकरण गर्दै उचित व्यवस्थापन गर्नेतर्फ वीरेन्द्रनगर नगरपालिकाले आफूलाई सक्षम बनाएको हो।
कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको यो नगरपालिकाले विपद्जन्य जोखिमको न्यूनीकरण गर्न र विपद्का घटनाको व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गरेको छ। विपद् व्यवस्थापनका लागि आवश्यक नीति निर्माण, दक्ष जनशक्तिको व्यवस्थापन, उपकरण र प्रविधिको जोहो नगरपालिकाले गरेको छ। नगर क्षेत्रमा कुनै विपद्का घटना भइहालेमा त्यसबाट पीडित बनेकाको उद्धार, राहत र पुनस्र्थापनाका लागि पनि वीरेन्द्रनगरले आफूलाई तयारी हालतमा राखेको हो। प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ। नगरभित्र रहेका खोला किनारमा समेत बस्ती फैलिएको छ। जहाँ बाढीका कारण बर्सेनि स्थानीयहरू घरबारविहीन हुने समस्या छ।
जोखिम न्यूनीकरण गर्न नगरपालिकाले नगरभित्रका आँपखोली, खोर्केखोला, इत्रामखोला र नेवारेखोलालगायतका खोलामा तटबन्ध लगाउन थालेको हो। धेरै जोखिममा रहेका वडा नं १ को आँपखोली, वडा नं १२ को इत्रामखोला र खोर्केखोला किरारमा रहेका बस्तीलाई जोगाउन हाल तटबन्धन गरिएको छ। वीरेन्द्रनगर–१ निवासी लक्ष्मी खत्री भन्छिन्, ‘आँपखोलीमा तटबन्धन बनेपछि ढुक्कले निदाउन थालेका छौं, खहरे खोलामा आउने बाढीले बर्सेनि दुःख दिन्थ्यो। बाढीले घरबार नै बगाउने समस्या थियो। खोलामा तटबन्धन बनेपछि अब वर्षातमा हामीलाई कुनै त्रास हुँदैन।’ वीरेन्द्रनगरभित्र रहेका खोलामा वर्षात्को समयमा बाढीको उच्च जोखिम हुन्छ। तर, त्यसबाट बस्तीलाई सुरक्षित राख्न नगरपालिकाले खोलाहरूमा तटबन्ध लगाएर बाढीको जोखिमलाई न्यूनीकरण गर्ने प्रयास थालेको हो।
डुबानबाट जोगाउन मौसमी सूचना प्रणाली
वीरेन्द्रनगरको तल्लो भाग वर्षात्मा डुबानमा पर्छ। यसले हरेक बर्ष धनजनको नोक्सान हुन्छ। डुबानको यही समस्या समाधानका लागि नगरपालिकाले मौसमी सूचना प्रणाली स्थापना गरेको छ। यसले तल्लो क्षेत्रमा पानीको सतह बढ्नेबित्तिकै स्थानीयलाई पूर्वसूचना दिन्छ। यदि डुबान भइहालेको खण्डमा उद्धारका लागि नगरपालिकाले दुइटा रबर बोट (डुंगा) र लाइफ ज्याकेट पनि तयारी अवस्थामा राखेको छ। विपद् व्यवस्थापन र पूर्वतयारीका लागि नगरपालिकालाई यूएसएआईडीको तयार नेपाल परियोजनाले आर्थिक र प्राविधिक सहयोग गरेको छ।
वीरेन्द्रनगर—९ को तल्लो पर्सेनीस्थित मिलनचोकमा मौसमी सूचना प्रणाली जडान गरिएको छ। वर्षात्को समयमा वीरेन्द्रनगर उपत्यकाको सबै पानी तल्लोतटीय क्षेत्रबाट निकास हुन्छ। त्यही क्रममा नगरको तल्लो भाग बर्सेनि डुबानको समस्या झेल्न बाध्य छ। यही समस्याबाट जोगिन नगरपालिकाले मौसमी प्रणाली जडान गरेसँगै यसले डुबानको पूर्वसूचना दिन थालेको हो। पानीको सतह बढेर खतराको संकेत पार गर्न थालेमा यो प्रणालीमार्फत साइरन बज्छ। साथै डुबानको जोखिम बढेको भन्दै स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको सन्देश यो प्रणालीले प्रवाह गर्छ। जसले गर्दा तल्लो तटीय क्षेत्रका नागरिक डुबान हुने अवस्था आएमा सुरक्षित स्थानमा जाने गर्दछन्। यसले डुबानको सम्भावित जोखिम र नोक्सानलाई न्यूनीकरण गर्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ।
आगलागी नियन्त्रणका लागि दमकल र दक्ष जनशक्ति
वीरेन्द्रनगरमा आगलागी पनि चुनौतीको रूपमा रहेको छ। आगलागीकै कारण ठूलो धनजनको नोक्सान हुने गर्छ। यस्ता आगलागीका घटना न्यूनीकरण गर्न नगरपालिकाले दमकल सञ्चालन गरिरहेको छ। यस्तै तालिम प्राप्त दक्ष अग्नि नियन्त्रकहरू पनि तयारी अवस्थामा राखिएका छन्। हाल एउटा दमकल सञ्चालन गरिरहेको नगरपालिकाले यसै वर्ष अर्को दमकल पनि थप्न लागेको हो। नगरपालिकामा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरी भन्छन्, ‘विपद् कतिबेला आउँछ थाहा हुँदैन, तर हामी सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र उद्धारका लागि पूर्वतयारीको अवस्थामा छौं। आगलागी नियन्त्रणका लागि हामीसँग हाल एउटा दमकल छ, यो आर्थिक वर्षमा अर्को ठूलो क्षमताको दमकल खरिद गर्ने तयारी छ।’
यसै वर्ष अर्को दमकल खरिद गर्न ८० लाख बजेट विनियोजन गरिएको छ। अब आउने नयाँ दमकल ठूलो क्षमताको हुने र पानी पनि धेरै अट्नेवाला हुने भएकाले ठूलो आगलागी नियन्त्रणमा सहज हुने गिरीको भनाइ छ। नगरमा जनघनत्व बढेसँगै आगलागीको जोखिम बढेको भन्दै उनले आगलागी नियन्त्रणका लागि नै नगरपालिकासँग हाल तालिम प्राप्त १२ जना दक्ष जनशक्ति रहेको बताए। अत्याधुनिक पोसाकसहित खटिने अग्नि नियन्त्रकहरू चौबिसैघण्टा तयारी हालतमा हुने उनको भनाइ छ। सम्भावित आगलागीको जोखिम न्यूनीकरणका लागि नगरपालिका सक्षम रहेको उनको दाबी छ।
खोज र उद्धारमा खटाउन नगर प्रहरी भर्ना गरिँदै
वीरेन्द्रनगरले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति पनि व्यवस्थापन गरेको छ। आगलागी नियन्त्रणका लागि दक्ष अग्नि नियन्त्रक छन्। त्यसैगरी नगरपालिकाले विपद् व्यवस्थापनमा परिचालन गर्ने गरी यसै वर्ष नगर प्रहरी भर्ना गर्न लागेको हो। यसैवर्ष नगर प्रहरी भर्ना गरिने नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले बताए। उनका अनुसार केही महिनाभित्र कम्तीमा २५ जना नगर प्रहरी भर्ना गरिनेछ। उनले भने, ‘वीरेन्द्रनगरलाई अब नगर प्रहरी आवश्यक भयो, चाँडै हामी भर्ना लिन्छौं। इन्सपेक्टरको नेतृत्वमा नगर प्रहरी खटिनेछन्, यसले पनि नगरको काममा सहज हुनेछ।’
नगर प्रहरीलाई बजार व्यवस्थापन र विपद्को समयमा खोज, उद्धार र राहतको काममा खटाइने छ। यसले विपद्का घटना भएको खण्डमा खोज र उद्धारको काममा हुने जनशक्तिको अभावलाई टार्ने नगरपालिकाको विश्वास छ। यस्तै नगरपालिकाले हरेक वडामा विपद्को समयमा खोज तथा उद्धारका लागि तालिम प्राप्त स्वयंसेवक पनि खटाएको छ। यस्ता स्वयंसेवकहरू २५ जना छन्। उनीहरूले हाल विपद्को समयमा खोज तथा उद्धारको काम गर्छन्। यस्तै हरेक वडामा आवश्यक सूचना प्रवाह गर्न सञ्चार सेट पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ। विपद्का कारण टेलिफोन सेवा अवरुद्ध भएकोमा यी सञ्चार सेटले काम गर्ने भएकाले सहज हुनेछ।
भूकम्पप्रतिरोधी संरचना अनिवार्य
भूकम्पको जोखिम कम गर्न नगरपालिकाले भूकम्प प्रतिरोधी संरचना र भवन निर्माणलाई अनिवार्य गरेको छ। यस्तै प्राकृतिक विपद्को जोखिमलाई न्यूनीकरण गर्दै वीरेन्द्रनगरलाई हरित सहरको रूपमा विकास गर्ने योजना रहेको मेयर मोहनमाया ढकालले बताइन्। वीरेन्द्रनगरलाई मानवमैत्री सहरको रूपमा विकास गरिने उनको भनाइ छ।। यसका लागि विपद् व्यवस्थापनमा काम गरिरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘भूउपयोग नीतिअनुसार काम गर्छौं, नगरका जोखिमयुक्त स्थानको पहिचान गरेर मानव बस्तीलाई सुरक्षित बनाउने काम हुन्छ। सन् २०३० सम्ममा वीरेन्द्रनगरलाई हरित सहरको रूपमा विकास गर्नेगरी काम गरिरहेका छौं, भूकम्पप्रतिरोधी संरचना र भवन निर्माणलाई पनि अनिवार्य गरेका छौं।’ नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक नीति निर्माण गरेको छ भने राहत र विपद् कोषको पनि व्यवस्थापन गरेको छ। विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा वीरेन्द्रनगर अब सक्षम रहेको मेयर ढकालको भनाइ छ।
खडेरी छल्न पोखरी निर्माण
वीरेन्द्रनगरका लागि अर्को सम्भावित विपद् खडेरी हो। वीरेन्द्रनगरमा पर्याप्त पानीका मुहान नभएकाले पनि खडेरीको सामना गर्नुपर्ने बाध्यता छ। तर खडेरीको सामना गर्न नगरपालिकाले रिचार्ज पोखरीहरू निर्माण गर्न थालेको हो।
वर्षात्को समयमा यिनै पोखरीमा जम्मा भएको पानीलाई खडेरीको समयमा प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ। नगरभित्र कपितय स्थानमा यस्ता पोखरीहरू निर्माण भइसकेका छन्। जहाँ वर्षात्को पानी जम्मा गरिन्छ। उक्त पानी खडेरीको समयमा स्थानीयले सिँचाइमा प्रयोग गर्दै आएका छन्। यस्ता पोखरीहरू उत्तरी जलाधारमा निर्माण गरिने भन्दै नगरपालिकाले यसले जमिनको सतहमा पानी सञ्चित हुन सहयोग पुग्ने जनाएको छ।