मेरो जस्तो दुःख नहोस् कसैलाई
हिँड्ने मन कसलाई हुँदैन ? संसार देख्ने र घुम्ने सपना झन् कसलाई पो नहोला र ? तर, सोचे जस्तो कहाँ छ र जिन्दगी ? सामान्य मानिसकै जीवन सोचेजस्तो, सम्झेजस्तो हुन्न भने अपांगता भएकाहरूको सवालमा के होला ?
भदौको पहिलो साता। राजधानी काठमाडौंको नयाँ बानेश्वर। अर्थात्, संसद् भवनको पश्चिम गेट। यो एउटा यस्तो थलो हो जहाँ नीतिनिर्माण हुन्छ। उनै तीन करोड नेपाली र सिंगो नेपालको आवाज बोक्ने सांसदहरूको आउजाउ गर्ने सडक। जुन सडकको फुटपाथमा भिख माग्दै गरेका भेटिए, एक वृद्ध। ‘केही सहयोग दिनुहोस् हजुर !’ दश औंला जोडेर बिन्ति बिसाइरहेका ती वृद्ध देश विकासका लागि कसैसँग याचना गरिरहेका थिएनन्, थिए त केवल दुई गाँसका लागि अनुनय विनय। जो भन्दै थिए, ‘तपाईं नै मेरो भगवान् हो।’ फुटपाथमा छन् उनी कपडाको एउटा टालोमाथि। छेउमा लडेको छ बैशाखी। अनि उनको दाहिनेपट्टि ठिङरंग उभिएको छ दाहिने कृत्रिम खुट्टा। सेतै फुलेको दाह्री। त्यस्तै कपाल। लगाएका लुगाले पहेंलपुर मानिस भन्दिए हुन्छ। चिन्तित अनुहारमा पंक्तिकार देशको मुहार खोजिरहेछ। एउटा भुइँमान्छे जसभित्र व्यक्तिमात्र होइन, देशको कथा अटाएको छ। जसरी देशले सीमा गुमाएर अधकल्चो बनेको छ, ठीक त्यसैगरी उनी दाहिने खुट्टा गुमाउन बाध्य रहेछन्। अपांगता भएका उनै वृद्ध सडकमा असरल्ल बैशाखी र कृत्रिम खुट्टो देखाएर जीवन बचाउने आधार खोजिरहेछन्।
सामान्य व्यक्तिले त केही दिन सक्ला नसक्ला तर देश नै बनाउने सयौं सांसद, मन्त्री अनि प्रधानमन्त्री समेतले ओहोरदोहोर गर्ने सडक भएकाले उनले अपेक्षा कम पाल्ने पनि कुरो भएन सायद। मनले भन्दो हो, कसैको त दृष्टि पर्ला अवश्य कुनै दिन। दिनेभन्दा उनको दयनीय अवस्था हेर्दै मुख खुम्चाएर बाटो लाग्नेकै संख्या अधिक थियो। गरिखान शरीरले नदिएपछि अरूको आस गर्नुको विकल्प पनि त छैन उनीसँग। सडकमानवमुक्त बनाउँछु भनेर लागि पर्ने संघसंस्थादेखि सरकार सम्मलाई उनको गरिबीले गिज्याइरहे झैं लाग्थ्यो। यी सबै दृश्यले करुणा पोतेर मेरो मनको क्यानभास भरिपूर्ण बन्दै आयो। वृद्धको जीवनदशा नियाल्ने मनको तीव्र इच्छालाई म पनि कसरी नकार्न सक्थेँ र ? बुबाआमासँग हिँड्ने बालबालिकाले पो बरु ती वृद्धलाई ५—१० रुपैयाँ दिइरहेका थिए। ‘बाबु ! धन्यवाद, नानी ! आशीर्वाद। बर्सौं बाँच्नू’, जबर्जस्ती अनुहार खुसी पार्दै भन्दै थिए, ‘मेरो जस्तो दुःख तिमीलाई नहोस् !’ बाटो हिँड्ने बटुवालाई नमस्कार गर्नु र सहयोग माग्नु ती वृद्धको दैनिकी रहेछ सायद यो जीवन बाँच्नुको नियति।
‘तपाईंको नाम ?’ वृद्ध बोलेनन्। अहँ मुखै खोलेनन्। सायद जरुरी ठानेनन्। सायद धेरैले यसरी नै सोधे तर केही दिएनन्। बोली फुटाउने दृढ भावना जाग्यो सायद ममा। अर्को प्रश्न गरेँ, ‘बुवा, तपाईंको घर कहाँ हो ?’ ‘बाराको कलैया’ (अक्मकिँदै)। बुबा सम्बोधन उनका लागि ‘प्रिय’ बन्यो सायद। उनीसँग नजिकिने बाटो खुल्यो। अझ नजिक पार्ने मनसायले थपेँ, ‘मेरो घर पनि त महोत्तरी हो।’ उनी सहज बने सम्भवतः मधेसकै मान्छे भएर होला। ‘तपार्इं जनकपुर जानुभएको छ ?’ धर्मकर्म र संस्कृति जोडेँ। ‘गएको छु, विवाहपञ्चमीमा तर धेरै पहिले। अब त हिँड्नै सक्दिनँ। खुट्टा छैन।’ ‘तपाईंको खुट्टा कसरी... ?’
हरेक मानिसका कथा हुन्छन्, व्यथा हुन्छन्। लेखिदिने हो भने यस्ता हजारौं, लाखौंको किताब बन्छ यहाँ। पूरै ‘कहानी’ लेख्न नसकुँला ‘केही’ त लेखौं भन्ने लाग्यो। बुद्ध बा पनि तानिए मसँग मानौं उनी फलाम अनि म चुम्बक। अचानक आगो भए उनी। रिसाए। खै किन थाहा छैन। जीवनको दुःख सम्झिन नचाहेर होला वृद्धको हात भुइँमा बज्रियो।
यो मनले त्यो मन पढ्यो। भन्यो, घाउमा नुनचुक छर्किने काम पो भयो कि ? उनको अनुहारको आकृतिले व्यस्त नयाँ बानेश्वरमा सन्नाटा छाए झैं लाग्यो। भुइँमा ओछ्याइएको पहेंलो रंगको गम्छामा रातो रंगले लेखिएको थियो, जय सीता राम, ‘जय सीता राम।’ साँझको बेला थियो। सबैलाई घर फर्किने चटारो।
दुस्साहस बटुलेँ र प्रश्न पुनः हुत्याएँ, ‘बा’ तपाईं खुट्टो कसरी काटियो ?’ ‘किन भन्नु ? को हो तिमी ?’ ‘पत्रकार’। उनी मसँग झन् रिसाए। अलि पर गएँ। गाडीको टी, टी आवाज आयो। उनको मनमा डर पैदा भयो सायद। उनलाई लाग्यो, ‘महानगरको प्रहरी आयो।’ तर, नेपालको झन्डा फरर गर्दै हुइँकिएको गाडी भीभीआईपीको थियो। खै को थिए कुन्नी कालो सीसाले सबैका आँखा छोपिदियो। भित्रबाट बाहिर त पक्कै देखिन्थ्यो तर हेर्ने फुर्सद कसलाई ? काठमाडौंमा अपांगता भएका व्यक्तिहरूलाई सडकमा माग्न दिइँदैन अचेल। गीत गाएर जिउन पनि अनुमति छैन देशको राजधानीमा। माग्ने र गाउने र पसल थाप्नेलाई महानगरका मेयर बालेनको प्रहरीले लखेटिहाल्छ। पिकअप भ्यानमा कोचिहाल्छ। वृद्ध रिसले चुर भएकाले थप अब कुरा गर्ने आँट आएन। तर, उनलाई गरेको प्रश्नको उत्तर भने आयो। उनले नम्र हुँदै टाढैबाट भने, ‘खेतीकिसानी गर्दा खुट्टो गुम्यो। मागेर बाँचिरा’छु। तर त्यो पनि सबैलाई सैह्य नहुने रै’छ।’
जे कामको पर्खाइमा यो सन्दर्भ जोडिइरहेको थियो, उनै साथी चित्रकार हरिओम मेहतासँग भेट भयो। पाँच तल्लामाथि उक्लियौं तर सडकका उनै वृद्धमा मन पोखियो। उनी को हुन् ? कसरी सडकमा आए ? साथीलाई पनि सोधेँ, ‘यी बुद्ध’बा आज मात्रै यहाँ बसेका हुन् कि सधैं आउँछन् ?’ ‘म आजै देख्दै छु।’
केही समयपछि माथिबाट नियालेँ। वृद्ध बाटो लागिसके छन्। उनलाई लागेको होला लगातार एकै स्थानमा बस्नुहुन्न ! सुरक्षित हुन्न। सायद नगर प्रहरीले कैयौंपटक पक्रेर गाडीमा कोचेको होला। अघि बजेको साइरनले झस्काउँदाको अन्दाजले त्यही संकेत गरेको थियो। नजिकैको संसद् भवनमा ‘हाम्रा’ सांसद र नेताज्यूहरूलाई सत्ताको खेलले यस्ता नागरिकलाई हेर्ने फुर्सद नै छैन। कहिलेकाहीँ त लाग्छ, माननीयहरूले यस्ता भुइँमान्छेका सवालमा कहिले बहस गर्लान् र ? सडकबाट लखेट्नु पक्कै समस्याको समाधान होइन। सबै प्रकारका अपांगता भएका व्यक्तिका बारेमा राज्य र सरकारले अबचाहिँ सोच्नैपर्छ। लोकतन्त्रमा नागरिकहरू सडकमा मगन्ते जीवन बाँचेको सुहाउँछ र राष्ट्रपतिज्यू ? प्रधानमन्त्री अनि मन्त्रीज्यू ?