‘चोरीमा संलग्न’ गाडी छाडिए
परासी : नदीजन्य पदार्थको अवैध चोरी निकासी आरोपमा पक्राउ परेका नवलपरासी सुनवल नगरपालिकाका तीन वटा सरकारी सवारी साधनलाई छाडिएको छ । गत साता अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा स्थानीयबासीले सुनवल नगरपालिकाका २ वटा टिपर र एक जेसिभीलाई पक्राउ गरि वन कार्यालयलाई बुझाएका थिए ।
ठेक्का नलागेको अवस्थामा नगरपालिकाका उक्त गाडीहरू तुरिया खोलामा पुगेर नदीजन्य पदार्थ उत्खनन् गरेपछि स्थानीयले वन कार्यालयलाई बुझाएका थिए । तीन चालकसहित पक्राउ परेका सवारी साधनमाथि डिभिजन वन कार्यालयले ‘बिना इजाजत नदीजन्य पदार्थको ओसारपसार’ कसुरमा मुद्दा प्रकृया अघि बढाएको थियो । ५ दिनको म्याद थप गरेर प्रकृया अघि बढिरहँदा वन कार्यालयले सुनवल नगरपालिका वडा नं. ४ का अध्यक्षको रोहबरमा उनीहरूलाई छाडिएको सुनवल सब डिभिजन वन कार्यालयका रेन्जर प्रजिम्स श्रेष्ठले बताए ।
‘सरकारी वकिलको राय लिएर अदालतमा मुद्दा दर्ता हुन्छ । तबसम्म चाहिएको बखत उपस्थित गराउने शर्तमा सवारी साधन र चालकलाई छाडिएको छ,’ रेन्जर श्रेष्ठले भने । सवारी साधनलाई वन कार्यालयले पक्राउ गरेपछि केही दिन नगर क्षेत्रको फोहोर उठ्न सकेको थिए ।
नगर क्षेत्रको एक धार्मिक क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा जाने बाटोमा ग्राभेल आवश्यक भएकाले खोलामा गएका सवारी साधनलाई केही व्यक्तिले रिसिइबीका कारण समातेर बुझाएको नगर प्रमुख बिमला अर्यालले बताइन् ।
‘सामाजिक कार्यका लागि सबैको सल्लाहमा ग्राभेल लिन पठाउँदा केही व्यक्तिले प्रतिशोधका कारण सवारी साधन पक्राउ गरेर गलत सन्देश दिन खोजे,’ नगर प्रमुख अर्यालले भनिन् । नियम कानुन सबैलाई लाग्ने भन्दै स्थानीयले ती सवारी साधनलाई समेत कारबाहीको माग राखेर वन कार्यालयमा बुझाएका थिए ।
पछिल्लो पटक नगर क्षेत्रमा अवैध रूपमा संकलन गरी राखेका नदीजन्य पदार्थलाई नगरपालिकाले जफत गर्ने अभियान सुरु गरेको छ । त्यही अभियानबाट आत्तिएका व्यक्तिले पक्राउ गर्न लगाएको नगर प्रमुख अर्यालको दाबी छ । अभियानबाट अहिलेसम्म करिब ९ लाख बराबरको नदीजन्य पदार्थ जफत गरिएको नगरपालिकाका राजस्व शाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिए।