मनसुनजन्य विपदबाट १३६ परिवार विस्थापित, ३ सय बढी परिवार जोखिममा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा यो वर्ष मनसुनजन्य विपदबाट १ सय ३६ परिवार विस्थापित बनेका छन् भने ३ सय ४८ परिवार उच्च जोखिममा परेका छन्।
सम्भावित विपदले १ सय ३६ परिवार आफ्नो थातथलो छाडेर विस्थापित बनेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। बाढी, पहिरोको सम्भावनाले पिरोल्दा जिल्लाको १२ मध्ये ७ स्थानीय तहका बासिन्दा विस्थापित हुनुका साथै जोखिममा परेका छन्। समितिलाई जिल्लाका स्थानीय तहहरूले बुझाएको प्रतिवेदनअनुसार बाह्रविसे नगरपालिका, भोटेकोशी, बलेफी, जुगल, त्रिपुरासुन्दरी, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बाढी तथा पहिरोको जोखिम बढेको छ।
यीमध्ये सबैभन्दा धेरै भोटेकोशी गाउँपालिकाका स्थानीय जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिका सूचना व्यवस्थापक अधिकृत रविराज धितालका अनुसार भोटेकोशीमा मात्रै २ सय २५ परिवार बाढी तथा पहिरोको जोखिममा रहेका छन्। तीमध्ये उच्च जोखिममा रहेका १० परिवार विस्थापित भएका छन्। उनीहरूलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको धितालले जानकारी दिए।
भोटेकोशी नेपाल–चीन सीमा रहेको गाउँपालिका हो। यो स्थानीय तह उच्च हिमाली भेगदेखि तल्लो पहाडी भेगमा पर्दछ। भिरालो जमिन, ठूला ठूला पहाड रहेका डरलाग्दो भीरहरू भएकाले यहाँ पहिरोको जोखिम बढी रहेको हो। चीन हुँदै बगेर आउने भोटेकोशी नदीमा कुनै पनि बेला पानीको बहाव बढेर बाढीको समेत सम्भावना रहेको छ। यहाँ २०७३ साउनमा ठूलो बाढी आएको थियो। त्यतिबेला नेपाल–चीन सीमामा रहेको गुलजार लिपिङ बजारका करिब २ सय घर भोटेकोशीमा मिसिएको थियो।
समितिका अनुसार भोटेकोशी गाउँपालिकाको वडा नं. १ लिस्तीमा २८ परिवार जोखिममा रहँदा २ परिवारलाई स्थानान्तरण गरिएको छ। त्यस्तै वडा नं. २ मा ५८ परिवार जोखिममा हुँदा २ परिवार विस्थापित छन्। वडा नं. ३ मा ५० परिवार, वडा नं. ४ मा ५८ परिवार, वडा नं. ५ मा ६० परिवार जोखिममा छन्। त्यस्तै बाह्रविसे नगरपालिकाका विभिन्न वडामा गरी ३२ परिवार जोखिममा रहँदा २६ परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरपालिकाका विपद व्यवस्थापन शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार वडा नं. १ मा ११, २ मा पाँच, ३ मा १०, वडा नं. ५ र ६ मा छ/छ परिवार जोखिममा छन्। तीमध्ये २६ परिवारलाई स्थानान्तरण गरिएको उनले जानकारी दिए। ‘सुनकोसी नदीमा आउन सक्ने बाढी र नगरका विभिन्न स्थानमा खस्न सक्ने पहिरो अध्ययन गरेर जोखिम पहिल्याइएको छ,’ उनले भने, ‘विस्थापित परिवारलाई आवश्यक टेण्ट, त्रिपाल तथा दैनिक आधारभूत आवश्यकताका सामग्री दिएर सुरक्षित स्थानमा राखिएको छ।’्
जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार बलेफीमा १५ परिवार, जुगलमा २८ परिवार विस्थापित भएका छन्। त्यस्तै हेलम्बु गाउँपालिकामा ३८ परिवार जोखिममा रहँदा २४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। तीन वर्षअघि असार १ र साउन १७ गते आएको मेलम्ची जस्तै बाढी अझै ठूलो आउन सक्ने विज्ञहरूको निष्कर्ष निकालेका थिए।
बाढीको विन्दु रहेको भेमाथाङमा अझै गेग्रानले भरिएको ठूलो चौर रहेको र त्यो कुनै पनि बेला बग्न सक्ने प्रारम्भिक निष्कर्ष विज्ञ टोलीको रहेको थियो। यहीकारण पनि हेलम्बु र मेलम्चीवासी भारी वर्षा भएसँगै आत्तिने गरेका छन्। मेलम्ची बाढीपछि सुरुआती विन्दु भेमाथाङको चौर २५ प्रतिशत मात्रै खसेको विज्ञहरूले जनाएका थिए।
हेलम्बुको शिरमा रहेको भेमाथाङ चौर कुनै पनि बेला फुट्न सक्ने सम्भावना भएकाले बाढी उर्लिन सक्ने अवस्था रहेको छ। पाँचपोखरी थाङपाल गाउँपालिकामा १९ परिवार विस्थापित भएका छन्। पालिकामा पर्ने याङ्ग्री लार्के नदीमा आउन सक्ने बाढी र भिरालो जमिनमा रहेको बस्तीले जोखिम बढाएको हो।
त्यस्तै मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकोशी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ। अझै पनि जिल्लाका विभिन्न भेगमा पानी पर्ने क्रम बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागले जिल्लाका विशेषगरी हिमाली भेगमा भारी वर्षा हुने गरेको जनाउँदै आएको छ। जसले विपद् निम्त्याउने सम्भावना देखिएको हो।