सुक्खा पहिरोको जोखिममा २७ घर
धनकुटा : साँगुरीगढी गाउँपालिका-७ डडुवाकी फूलमाया राईको हिजोआज निन्द्रा हराएको छ। घर नजिकैको पहिरोले कुन बेला घरवारी लैजाने हो भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। ‘राति सुत्दा पनि निन्द्रा लाग्दैन’, उनी भन्छिन्, ‘पहिरोले खेतबारी लग्यो भने जाने ठाउँ पनि छैन। खै के गर्नु अब।’
फुलमाया राईको घर नजिकै जिते राईको तीन रोपनी जग्गा छ। कुनै बेला उनको जग्गा टार बारी थियो। तर, अहिले भासिएर ४/५ फिटको डिल बनेको छ। उब्जाउ रहेको बारीमा गोलभेँडा र बोडी रोपेका छन्। यो सिजन बारीमा फलेको उत्पादन खान नपाइने हो की भन्ने त्रास मनमा भइरहेको जिते राई बताउँछन्।
डडुवाको पहिरोले यस क्षेत्रका २७ घर जोखिममा छन्। ती घरपरिवारका करिब एक सय रोपनी जग्गा पहिरोले भासिएका छन्। स्थानीय फूलमाया राई (फूलमायाको श्रीमान् तीर्थ राई घरधनी) को ८ रोपनी जग्गा र घर सबैभन्दा बढी जोखिममा छ।
स्थानीयको भनाइअनुसार डडुवाको पहिरो ‘सुक्खा पहिरो’ हो। खासगरी अत्यधिक वर्षामा पहिरो जान्छ। तर डडुवामा घाम चर्किएको बेला पहिरो खस्ने स्थानीय देवेन्द्र राईले बताए। उनी भन्छन्, ‘घाम चर्किएको बेला पहिरोमा माटो खसेको देखिन्छ।’
पानी नपर्दा पहिरोले माटो तान्छ। माटो तान्दै पहिरो बस्ती भएको ठाउँसम्म आइपुगेको छ। स्थानीय जिते राईका अनुसार करिब ७ वर्ष अघिदेखि डडुवामा पहिरो खस्न थालेको हो। २०७४ सालदेखि पहिरो खस्न थालेदेखि रोकिएको छैन। त्यो वेला माथिल्लो शिरको माटो मात्रै खसेको थियो। त्यसपछि अहिले निरन्तर खस्ने गरेको छ। अहिले पहिरो यति धेरै बढेको छ कि बढेर मानवीय तरिकाले रोकथाम गर्ने स्थिति छैन। यहाँका स्थानीयलाई पहिरोको त्रास छ।
यो क्षेत्रमा तरकारी बालीको खेती र उत्पादन धेरै राम्रो हुने गरेको छ। यहाँका स्थानीयको आम्दानीको मुख्य आयस्रोत समेत हो। किसानले गोलभेंडा, अदुवा, सुन्तला, एभोकाडोको व्यावसायिक खेती गरेका छन्। फलफूलका बोट बिरुवा भएको खेतबारी नै भासिएका छन्। जमिन १० फिटभन्दा तल पुगेको छ। जमिन चिराचिरा पर्न थालेको छ। फाटिन थालेको छ। घरका ज्येष्ठ नागरिक तथा बालबालिकालाई बारीमा एक्लै पठाउन डरलाग्दो हुने गरेको छ। जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।