मनुष्यको अचेतनमा बसेको सबैभन्दा ठूलो प्रेरणा नै अमरताको तलास हो। अनेकौं कष्ट सहेर पनि अस्तित्वलाई निरन्तरता दिने यो अन्तर्निहित प्रवृत्ति अवर्णनीय छ। दही मथेर नौनी निकाले झैं एउटा देहको अवसानपछि जीवनको अर्कोे सिलसिला सुरु गर्न आफ्नो सबीज सुधा रसलाई अर्कोे शरीरमा संक्रमित गराउँदै जाने अविरल प्रपञ्च हो नयाँ जन्म। सन्तान मातापिताका प्रतिरूप हुन्। ‘आफूलाई सन्तानको प्राणमा जीवित राख्दै जाने’ यो क्रम स्वतःस्फूर्त प्रवाहको रूपमा प्रलय पर्यन्त चलिरहनेछ।
श्रीमद्भागवत पुराणअनुसार सृष्टिको आरम्भमा भगवान्को प्रेरणाले ‘ब्रह्माण्डरूप अण्ड’को प्रादुर्भाव भएको थियो। आज जे जति प्राणी छन्, ती सबैले त्यही प्रथम अण्डबाट निष्पन्न भई जन्मजन्मान्तरको यात्रापछि अहिलेको अवस्था हासिल गरेका हुन्। विज्ञानले यस जगत्मा अवस्थित समस्त जीव–जगत्लाई प्रथम सार्वभौम सामान्य पूर्वज (लास्ट युनिभर्सल कमन एन्सेस्टर अर्थात् ‘लुका’)को वंशवृक्षका साझा सन्तान मानेको छ। सारा प्राणमय जीव–जगत्को एकमात्र साझा पूर्वज त्यही अण्ड या लुका हो। आजपर्यन्त त्यही आदिम पिता समस्त
जीवको प्राणमा अमर भएर बसिरहेको छ।
मनुष्य सबैभन्दा खुसी आफ्नो सन्तान पैदा हुँदा हुन्छ। उसले सन्तानको जीवनलाई आफ्नो जीवनको रूपमा देख्छ। सन्तान हुर्काउने सिलसिलामा उसले आफैंलाई हुर्काइरहेको हुन्छ। सन्तानको पीडालाई आफ्नै पीडा र सफलतालाई पनि आफ्नै मानिरहेको हुन्छ। पिताले सन्तानको अनुहारमा आफ्नै अनुहार, व्यक्तित्वमा आफ्नै व्यक्तित्व र वाणीमा पनि आफ्नै महसुस गर्छ। यही मानवीय प्रवृत्तिलाई दृष्टिगत गरेर नै सन्तानलाई ‘आत्मज’ भनिएको होला। मानवीय चैतन्यको यही अभौतिक आयामले नै सृष्टिलाई यहाँसम्म पुर्याएको हो।
पूर्वजहरूको अमरता भौतिक देहमा मात्र सीमित नभई सांस्कृतिक संरचनामा पनि संक्रमण हुँदै आएको पाइन्छ। जब कृष्ण कन्हैयाको राधासँग बिछोड भयो, उनले प्यारो बाँसुरी बजाउन छाडे। कन्हैयाले बजाउन छाडे पनि बाँसुरीले बेवारिसे हुनु परेन। बाँसुरी बजाउने जिम्मा अरू ठिटाहरूले लिए। जुन प्रकृतिले राधा र कृष्ण प्रेममय कुञ्जभित्र पस्दा सारा सौन्दर्य उनीहरूकै स्वागतमा समर्पण गर्थी, त्यो पनि क्रमशः पुस्तान्तरण हुँदै गयो। राधाले भनेकी थिइन् रे, ‘हाम्रो वियोग कसैलाई योगदान बन्छ भने मलाई मञ्जुर छ।’ एक दिन सबैले आफ्नो प्यारो वर्तमानको निकुञ्जलाई छाडेर भविष्यको हकमा योगदान गर्नै पर्छ। अग्रजहरूले आसन छोड्दै जानु र अनुजहरूले ग्रहण गर्दै जानु अविरल सांस्कृतिक अमरताको बन्दोबस्त हो।
हाम्रा ‘पिताहरू’ बिहान ओछ्यान छाड्नुअघि दुवै हत्केला अनुहारतिर फर्काएर यो मधुर सूक्ति गायन गर्थे– ‘कराग्रे बसते लक्ष्मीः करमध्य सरस्वती...’ जे शक्ति छ, यिनै दुइटा हातमा छ। यिनै हातबाट कर्मको कमाल गर्नु छ। परि श्रममा विश्वास गर्नेमाझ एउटा सर्वमान्य भनाइ थियो, ‘जसले काम गर्छ, उसैले मात्र खान पाउँछ।’ ‘बा’हरू मनुष्य जीवनलाई चैतन्य स्वरूप मान्थे। कसैले वृद्धावस्था के हो भनेर सोध्यो भने दैवज्ञ पिताको उत्तर हुन्थ्यो, ‘कर्मशील, सहनशील र निरभिमान रहँदै महाप्रस्थानको तयारी।’ त्यसैगरी धैर्यवान् मानिस को हो ? भन्ने प्रश्नमा बुझकी पिताको उत्तर हुन्थ्यो, ‘जो सुखमा मात्तिन्न र दुःखमा आत्तिन्न।’
अनि मृत्यु के हो ? भन्ने जिज्ञासामा विवेकशील पिताको सहज उत्तर हुन्थ्यो, ‘मृत्यु होइन बाबै देहावसान ! प्रत्येक देहावसान मनुष्यको अमरताको पुस्तान्तरण हो। प्रत्येक पिता सन्तानको प्राणमा प्रवेश गरेर अमर हुन चाहन्छ। ‘अमृतस्य पुत्राः’ भन्ने उपनिषद् वचनले जीवनको अविरल निरन्तरताको सन्देश दिन्छ। जीवन एक यात्रा हो। यात्राका क्रममा बिदा भएर जाने र आउने दुवैथरी पात्रहरू ‘अमृतस्य पुत्राः’ हुन्। जानेलाई बिदा गर्दाको आँसु र आउनेलाई स्वागत गर्दाको हाँसो त फगत एउटा रिवाज मात्र हो।
श्वेताश्वतर उपनिषद् भन्छ, ‘...शृण्वन्तु विश्वे अमृतस्य पुत्राः आ ये धामानि दिव्यानि तस्थुः।’ वर्तमानमा जति पनि मानिस छन्, ती सबै अमृततत्व धारण गरेका दिवंगत मातापिताका अमर सन्तान हुन्। प्रत्येक मनुष्यमा पूर्वजको हंस अन्तर्निहित हुन्छ। त्यसैले नै वेदान्तले ‘वयं अमृतस्य पुत्राः’को सन्देश दिएको हो। ‘अमृतस्य पुत्राः’ जीवनको अविच्छिन्नतासम्बन्धी अत्यन्तै गहिरो मानवीय चेतना हो। मनुष्य मात्र होइन, सारा जीवजगत्ले पूर्वजको अमरताको प्रतिनिधित्व गरिरहेको हुन्छ।
कोइली आफ्ना पूर्वजहरू झैं सुरिलो गानमा रमाउँछ। बिरालो आफ्ना पूर्वजहरू झैं न्याउरा सार्न र तातोमा सुत्न रुचाउँछ। कुकुरमा स्वस्फूर्त सजगता र स्वामीभक्ति हुन्छ। काग र गिद्धले संक्रामक फोहोर खाएर वातावरणलाई सुकिलो पारिदिन्छन्। सारिकालाई बाँसघारीमा हल्ला गर्न रमाइलो लाग्छ। परेवाका पिता र परपिता शान्तिप्रिय गान्धीजस्ता थिए। कुखुराको भालेले सबेरै बासेर नारदले झैं जगत्लाई जगाउँछ। यी सबै प्राणी दिवंगत मातापिताले नयाँ स्वरूप धारण गरेका पाखण्डहीन अध्यात्मवादी हुन्।
पिताका लागि जीवनका सामान्य आवश्यकता पूरा गर्न सके त्यही सौभाग्य हो। आकांक्षा त राजाका पनि अपूर्ण नै रहन्छन् भने सामान्य पिताको के कुरा। पिता सन्तानलाई बर्कतले भ्याएसम्म अधिकतम दिन चाहन्छ र सन्ततिबाट न्यूनतम अपेक्षा गर्छ। तैपनि परापूर्वदेखि नै पिताहरूलाई पर्दै आएको मुख्य समस्या पारिवारिक सन्तुलन हो। अत्यन्तै धनाढ्य र विवेकी पिताले पनि पारिवारिक सन्तुलन मिलाउन नसकेर कष्ट भोगेका पौराणिक, ऐतिहासिक र अधुनातन प्रमाणहरू छन्। कुमार कार्तिकेयले पिता महादेवको आदेश अनुरूप निकै परि श्रम गरेर पृथ्वीको चक्कर लगाए। परन्तु सारा पृथ्वी घुमेर हाजिर हुन आउँदा उनी पराजित घोषित भइसकेका थिए। यो कथाको सन्देश के हो भने बहादुरी मात्र नभई समझदारी र बुद्धिमत्ता पनि उत्तिकै महŒवपूर्ण कुरा हुन्। गणेशले मातापिताको परिक्रमा गरेर उनी परिवारप्रति कति समर्पित र निष्ठावान् छन् भन्ने देखाइदिए।
पारिवारिक सन्तुलन कायम गर्न कति मुस्किल छ भन्ने कुरा महादेवको परिवारका भिन्न व्यक्तिसम्बन्धी प्रतीकहरूलाई हेर्दा थाहा हुन्छ। शिवजी सर्पको माला लगाउँछन्, तर गणेशको वाहन सर्पको मन पर्ने आहारा मुसो छ। जगदम्बा पार्वती सिंहवाहिनी हुन् भने शिवजी सिंहको आहारा नन्दीको सवारी गर्छन्। महादेवको घाँटीमा सर्प लहराउँछ, उता पुत्र कुमार सर्पको काल मयूरमाथि चढेर संसार विचरण गर्छन्। भाइ कुमारको वाहन द्रुतगामी मयूर छ भने दाजु गणेशको भने निम्छरो मुसो। महादेवले परिवारलाई वैभवशाली बनाउने चेष्टा गरेनन्। छोराहरू पनि आपसमा प्रायः परपरै बसे।
उता बुद्धिमानी र पराक्रम दुबै गुणले युक्त कृष्णले भने सन्तति मात्र होइन, कुटुम्बलाई समेत परम वैभवशाली बनाएर एकै ठाउँमा जम्मा गरेर राखे। बुद्धिहीनको हातमा शक्ति र सम्पत्ति पुग्यो भने पराक्रम पनि अहंकारमा रूपान्तर हुँदो रहेछ। कृष्णले आर्जन गरेको सम्पत्तिको दम्भले गर्दा कृष्णको कुटुम्ब कालान्तरमा आपसमा लडेर सखाप भयो। साधारण पिताको परिवार पनि महादेव र कृष्णको जस्तै हो। धनआर्जन गर्न सकिएला, किन्तु पारिवारिक सन्तुलन मिलाएर राख्न साह्रै कठिन छ। यी दुवै घटना पौराणिक अतीतले प्रत्येक पितालाई प्रदान गरेका कालजयी सन्देश हुन्।