कर्णाली राजमार्गमा अघिअघि पिच, पछिपछि पहिरो

कर्णाली राजमार्गमा अघिअघि पिच, पछिपछि पहिरो

वीरेन्द्रनगर : भदौ १२ गते मुसलधारे पानी पर्‍यो। कर्णाली राजमार्गको दैलेख खण्ड पूर्णरूपमा क्षतिग्रस्त भयो। खिड्कीज्यूलादेखि कालीकोटको खाँडाचक्रस्थित हुल्मसम्मको करिब १९ किलोमिटर सडक पूर्णरूपमा अवरुद्ध भएपछि यातायात ठप्प छ। स्याउलगायत स्थानीय उत्पादन बजारसम्म नपुग्दा बिग्रेर करोडौंको क्षति पुगेको छ। बिरामीलाई उपचार र अन्यलाई आवातजावत गर्न निकै समस्या छ। कर्णालीको लाइफ लाइन यो राजमार्गको आधा दर्जन ठाउँ पहिरोले बगाएको छ। 

बर्खा लागेसँगै यस वर्ष पनि कर्णाली राजमार्ग पटक–पटक अवरुद्ध भयो। पहिरो पन्छाउँदै केही समय खुल्ने र फेरि पहिरोको चपेटामा पर्ने क्रम चल्यो। भदौ १२ को बर्खाले भने राजमार्गमा ठूलै क्षति पुर्‍याएको छ। जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। हरेक वर्ष पहिरो खसिरहने गगने खोलामा यस वर्ष ठूलै पहिरो गएको छ। गगने खोलाको पहिरो पन्छाउन र सडक निर्माण गर्न निकै कठिन छ। 

अघिअघि पिच, पछिपछि पहिरो 

सडक डिभिजनले हरेक वर्ष कर्णाली राजमार्गमा बिग्रेको सडक पिच गर्छ। तर, यस्तो पिच हप्ता दिन पनि टिक्दैन। विभागले अघिअघि सडक पिच गर्दै जान्छ, पछिपछि पहिरो खस्दै जान्छ। त्यसैकारण हप्ता दिनमै सडकमा पिचको नामोनिसान भेटिँदैन। जसका कारण यो राजमार्गको यात्रा जोखिमपूर्ण हुन्छ। त्यसमाथि हरेक वर्ष आउने बाढी र पहिरोका कारण पटक—पटक अवरुद्ध हुने, कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइट दिने ठाउँ नपुग्दा जाम हुने, सडकमा परेका ठूलाठूला खाल्डाहरूले सवारीसाधन चल्न निकै कठिन हुने, सडकहरूमा ट्राफिक संकेतहरू नहुँदा दुर्घटना बढ्ने गर्छन्। अनेक जोखिमका कारण चालक र यात्रु हैरान हुन्छन्। 

राजमार्ग खुल्न अझै हप्ता दिन 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी वीरबहादुर वलीले अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै एक हप्ता लाग्ने बताए। उनले भने, ‘जिल्ला प्रहरी कार्यालय दैलेख र कालीकोटको टोलीलाई स्थलगत रूपमा निरीक्षण गर्न पठाएका छौं। सरसर्ती हेर्दा धेरै ठाउँमा पहिरो गएको छ। दहीखोलामा गएको बाढीले पक्की पुल नै बगाएको छ। दैलेखको खिड्कीज्यूलादेखि कालीकोटको हुल्मबजारसम्मको लामो दूरीकै सडक ठाउँ–ठाउँमा अवरुद्ध भएकाले यति समयमा सडक सुचारु हुन्छ भन्न सकिने अवस्था छैन्।’ 

प्रहरीका अनुसार कर्णाली राजमार्गको सुर्खेत, कालीकोट र जुम्ला खण्डका दर्जनौं ठाउँमा कठिनपूर्ण सडकले यात्रा निकै जोखिमपूर्ण छ। दर्जनौं ठाउँमा पहिरो खस्ने समस्या छ। कतिपय ठाउँमा पहिरोका कारण राजमार्गको नामोनिसान नै छैन। सडक पूरै खाल्डाखुल्डी र हिलाम्मे छ। हिलो र खाल्डाखुल्डीमा गाडी फसे निकाल्नै धौ धौ हुन्छ। सडकको अवस्थाका कारण सवारीसाधनको बिजोग उस्तै छ। कर्णाली राजमार्गको दहीखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ। कालीकोट र दैलेखको सिमाना दहीखोलादेखि जुम्लासम्म दहीखोला, गगने खोला, काले खोला, एसमोड, जितेबजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, रारालीलगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ। 

null

कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो। सडक अवरुद्ध भएपछि यात्रुले पनि सास्ती भोगेका छन्। तस्बिर : बिस्नप्रसाद न्यौपाने।

कर्णाली राजमार्ग हेर्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जीटीले भौगोलिक अवस्था र स्थानीयले जथाभावी सडक खन्ने गरेकाले कर्णाली राजमार्ग बर्सेनि अवरुद्ध हुने गरेको बताए। उनले भने, ‘राजमार्गको सबैभन्दा ठूलो पहिरो गगने खोलामा गएको छ। उक्त पहिरो कालीकोटको शुभकालिका गाउँपालिकाले खनेको ग्रामीण सडकमा बगेको पानीले नै पहिरो फुटेको छ। हामी अवरुद्ध सडकलाई खुलाउने प्रयासमा छौं।’

तर, जीटीले सडक कहिले खुल्छ भनेर अनुमान गर्नै नसकिने अवस्था रहेको बताए। वर्षा पनि रोकिएको छैन। फेरि पनि पहिरो खस्न सक्ने जोखिम उत्तिकै छ। कर्णाली राजमार्गमा हरेक वर्ष निर्माण गरिएका संरचनाहरू वर्षा लाग्यो कि बग्ने गर्छन्। अहिलेको गगने खोलाको पहिरोले त सडकको बेस नै भत्काएको छ। ‘नयाँ बेस फेला पारेर सडकको ट्र्याक खोल्नै मुस्किल छ,’ जीटीले भने, ‘गगने खोलाको पहिरो अध्ययन गरी दीर्घकालीन रोकथामका लागि सडक विभागअन्तर्गत जेसु अर्थात् भू–वातावरण तथा सामाजिक एकाइ शाखालाई पत्र लेखी पठाएका छौं। अब वर्षा सकिनेबित्तिकै उक्त शाखाको टोली आएर अध्ययन गर्छ।’ 

राजमार्गको स्तरोन्नति कहिले ? 
सुर्खेतबाट साबिकको कर्णाली जोड्ने पहिलो राजमार्ग हो–कर्णाली राजमार्ग। यसको निर्माण भएको दुई दशक पुग्न लाग्यो। कर्णाली राजमार्गले चिनिने सुर्खेत जुम्ला सडकखण्ड सुर्खेतको 

बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ। कर्णाली भ्रमणमा आउँदा पूर्वराजा ज्ञानेन्द्र शाहको ‘हुकुम’ अनुसार नेपाली सेनाले दु्रत गतिमा सडकको ट्र्याक खोलेको थियो। २०६३ साल चैत ३० गते पहिलो पटक जुम्लामा गाडी पुगेको थियो। राजाको हुकुम पूरा गर्न नेपाली सेनाले द्रुत गतिमा खोलेको साँघुरो ट्र्याकमै वटाशील प्रविधिले कालोपत्रे गरिएको राजमार्ग अहिलेसम्म स्तरोन्नति भएको छैन। राजमार्गमा कालोपत्रेको नाम 
निसाना नै देखिँदैन।

१८ वर्षसम्म उस्तै सडक 
कर्णालीमा यातायात सेवा पुगेसँगै यहाँका नागरिक र बाहिरबाट आउने नागरिकको आवतजावतले तिला र कर्णालीका उजाड बगरहरू बजारीकरण भए। यहाँका खोकाहरू होलसेल बिक्रेतामा रूपान्तरण भए। पैदलयात्रा गरेर २६ दिन लगाएर जाने हाटबजार घरआँगनमा आयो। विगतमा हिँडेका गोरेटा बाटाहरू जोडिए। ठाउँठाउँमा होटेलहरू खोलिए। बगरको बालुवामा हटेरु (नुनतेल किन्न हाटबजार जाने) ले खाना पकाएर खाने दिन पनि गए। मानिसहरू हाटबजार जाँदा होटलमा पैसा तिरेर खाना खान थाले।

स्थानीय युवा जगतजंग विष्टले भने, यसले गाउँमा यातायात सेवा पुगेपछि गाउँहरू सहरसँग जोडिँदा कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव दिलायो। सहरबाट आएका गाडीमा लामखुट्टे पनि कालीकोट, जुम्ला हुँदै मुगुसम्म पुग्यो। मुगु, जुम्ला र कालीकोटका स्याउ, सिमी, फापरलगायतका स्थानीय बालीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुगे। यो राजमार्गले सहरका वस्तुहरू गाउँमा, गाउँका वस्तुहरू सहरमा, सहरको संस्कृति गाउँमा, गाउँको संस्कृति सहरमा बाँड्यो। तर २०६३ सालमा राजाको आदेश पालना गर्न नेपाली सेनाले ट्र्याक खनेको कर्णाली राजमार्ग मुलुकमा लोकतान्त्रिक गणतन्त्र हुँदै संघीय शासन प्रणाली सञ्चालनका १८ वर्षसम्म पनि यो राजमार्ग जस्ताको तस्तै छ। विष्टले भने, कर्णालीमा न लोकतान्त्रिक गणतन्त्र आयो ? न संघीयता आएको नै अनुभूति भयो। null

जोखिमयुक्त कर्णाली राजमार्गका कारण यहाँका विकट बस्तीका नागरिकहरूले धेरै सास्ती भोग्नु परेको छ। कर्णाली राजमार्गअन्तरगत बढीजसो कालीकोट र केही दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरू बाढी र पहिरोको उच्च जोखिममा छन्। साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भिरै भत्केर कणाली नदीमा परिएला कि भन्ने पिर छ। साँघुरो जीर्ण यो राजमार्गमा यात्रा गर्ने कैयौंले ज्यान पनि गुमाएका छन्। 

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बमले कर्णाली राजमार्ग अवरुद्व हुँदा माथिल्लो कर्णालीको विकास निर्माणसमेत प्रभावित भएको बताए। उनले भने, ‘कर्णालीमा निर्माणका कामहरू समयमै सम्पन्न हँुदैनन् भनेर आलोचना हुन्छ। कर्णाली राजमार्ण पूर्णरूपमा ठप्प भएको पाँच दिन भयो। अझै राजमार्ग खुल्न कति दिन लाग्ने हो। विकास निर्माणका आयोजनाका सामानहरूका ट्रकहरू बीचबाटोमै अलपत्र परेका छन्।’

उनले अवरुद्ध सडक खोल्नै ढिलाइ भएको बताए। ‘मुलुकमा तीन तहका सरकार छन्,’ महासचिव बमले भने, ‘तर कर्णालीमा सरकार भएको अनुभूति भएन। हरेक वर्ष राजमार्ग अवरुद्व हुन्छ। यसले नागरिकहरूलाई सास्ती भइरहेको छ। यसको दीर्घकालीन समाधान कहिले हुन्छ ? ’

जताततै पहिरो 

यसै त भिरालो र कठिन भौगोलिक अवस्था, त्यसमाथि सडक डिभिजनको चरम लापरबाही र साँघुरा सडकका कारण बर्खाको बेला कर्णालीका अधिकांश राजमार्गको यात्रा निकै कष्टकर हुन्छ। विभिन्न राजमार्गमा धेरै ठूला जोखिमयुक्त मोड, बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्, जथाभावी गुणस्तरहीन विकासले गर्दा कर्णालीवासीहरूलाई हरेक वर्ष यहाँका राजमार्गमा यात्रा गर्दा निकै सास्ती खेप्नु परेको छ। 

बर्सेनि दुर्घटना
प्रहरीका अनुसार कर्णाली राजमार्गमा हालसम्म झन्डै २ सय ५७ जनाभन्दा बढी यात्रुले ज्यान गुमाइसकेका छन्। जसका कारण कर्णाली राजमार्गलाई मृत्युमार्गका रूपमा पनि चर्चा गरिन्छ। यो राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुवाहक बस, ट्र्याक्टर, मिनी टाटा, मिनी ट्रक, जिपलगायत साना ठूला गरी २ सय ३५ भन्दा बढी सडक दुर्घटना भएका छन्। कर्णालीमा साँघुरो सडक, ओभर लोड बोक्दा ब्रेक फेल हुने, ट्राफिकलाई छलेर ट्राफिक नियम उल्लंघन गर्ने, तीव्र गतिमा सवारी चलाउने, पुराना गाडीहरू कन्डिसन जाँच नगरी गुडाउनेजस्ता कारण यो राजमार्गमा बढी दुर्घटना भएका छन्। 

प्रदेश प्रहरी कार्यालयका अनुसार सडकमा जेब्राक्रस बनाउन, ट्राफिक संकेतहरू राख्नेलगायतका स–साना कामहरू पनि कर्णालीमा गरिएका छैनन्। जसले गर्दा सडक दुर्घटनाको जोखिम उच्च छ। त्यस्तै सानासाना कामका लागि सरकारले प्रहरीलाई नै बजेट दिँदा छिटो, छरितो कामहरू हुन्थ्यो। सडक अवरोध भयो, दुर्घटना भयो लगायतका समस्या आए नागरिकहरू प्रहरीलाई गाली गर्छन्।

तर, सडकमा गर्नुपर्ने कामका लागि सबै सडक डिभिजनहरूले गर्नुपर्ने हो। उनीहरू समयमा नै ती कामहरू गर्दैनन्। प्रहरी सडकमा बसेर आफ्नो ड्युटी गर्छन्। प्रहरीसँग सम्बन्धित कामहरू प्रहरीलाई दिँदा हुन्थ्यो। त्यस विषयमा जिम्मेवार निकायहरू सकारात्मक छैनन्। जसले सडकका समस्या जस्ताका त्यस्तै छन्। नागरिकले सास्ती खेपिरहेका छन्। दुर्घटनाहरू बढिरहेका छन्। मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन्। 

शाखा सडकको हालत पनि उस्तै 
कर्णाली राजमार्गमा ५० शाखा सडकहरू जोडिन्छन्। ती सडकमा पनि पहिरो खस्ने समस्या उस्तै छ। अव्यवस्थित रूपमा स्थानीय सरकारले धमाधम सडक खनेर मुख्य राजमार्गलाई अवरोध गर्ने काम गरेका छन्। एक प्राविधिकले भने, ‘कर्णाली राजमार्ग नै राजमार्ग जस्तो छैन। न्यूनतम मापदण्डहरू पनि पूरा गरेको राजमार्ग छैन। त्यसबाट स्थानीय सरकारहरूले पनि जथाभावी धमाधम डोजर प्रयोग गरेर सडक खन्छन्। त्यसको प्राविधिक इस्टिमेटबिनै जहाँ पायो त्यहीँबाट सडक जोड्छन्। यसले थप समस्या सिर्जना गरेको छ।’ पहिरो जाने र सडक अवरोध हुने मुख्य कारण साँघुरो सडक, अव्यवस्थित रूपमा काटिएका शाखा सडक, भिरालो जमिन, अत्यधिक वर्षा हुन्। जसका कारण राजमार्ग अवरोध हुने र यात्रुहरूले सास्ती खेप्नु परेको छ।

दैलेखका समाजसेवी एवं सामाजिक अभियन्ता दीपा बोहोराले भनिन्, ‘पहिलेका मानिसहरू त काल नआएर बाँचेका मानिसहरू हौं भनेको सुन्थ्यौं। जति बेला रोग र भोकको समस्या थियो। तर अहिले कर्णाली राजमार्गमा यात्रा गर्दा काल नआएर बाँचियो भन्ने चलन छ। सडक निकै जोखिमयुक्त छ। यात्रा सुरु भएपछि गन्तव्यमा पुग्नै मुस्किल पर्छ।’ सडक स्तरोन्नतिको काममा सम्बन्धित निकायले लापरबाही गरिरहेको बोहोराको भनाइ छ। यस राजमार्गलाई दुई लेनको बनाएर बिग्रिएको ठाउँमा कालोपत्रे मात्र गर्ने हो भने यात्रा निकै सहज हुने उनको भनाइ छ। 

संघले उपेक्षा गर्‍योः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णालीको जीवनसँग जोडिएको कर्णाली राजमार्गको स्तरोन्नतिका लागि केन्द्र सरकारले उपेक्षा गरेको बताए। उनले कर्णालीको समस्याबारे गम्भीर ढंगले केन्द्रमा पहल गरिएको भए पनि संघले समस्या सम्बोधन गर्नका लागि गम्भीरता नदेखाएको बताए। ‘हाम्रा कुरा संघ सरकारलाई जति भने पनि समस्या समाधानको पाटोमा कुनै प्रगति भएको छैन।’

मुख्यमन्त्री कँडेलले विगतका प्रदेश सरकारहरूले कालीकोटको पिलीको वनमा युद्ध पर्यटकीय स्थलका नाममा करोडौं बजेट खर्च गरे पनि कर्णाली राजमार्गको समस्या समाधान गर्न सक्रियता नदेखाएको आरोप लगाए। ‘मैले सरकारले नेतृत्व गरेको दिनदेखि नै कर्णाली राजमार्गको सबाललाई पहिलो प्राथमिकता दिएर तत्कालीन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको सरकारलाई घचघच्याएको थिएँ,’ उनले भने,‘ तर केही पनि सुनुवाइ भएन। चालू आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गको समस्या समाधानका लागि बजेटसहित कार्यक्रम आउँछ भन्ने विश्वास गरेका थियौैं। त्यो पनि भएन।’

कर्णाली राजमार्ग कर्णालीको विकास र समृद्धि ओसार्ने मार्ग अर्थात् आर्थिक गतिविधिको पनि पहिरो आधार भएको मुख्यमन्त्री कँडेलको भनाइ छ। ‘यस विषयमा प्रदेश सरकार गम्भीर छ,’ उनले भने, ‘यो राजमार्ग स्तरोन्नति गर्ने मुख्य दायित्व संघ सरकारकै हो। हामीले पनि पटक—पटक पहल गरेका छौं। तर, परिणाम आएको छैन। हाम्रो कोसिस जारी छ। अहिले पनि कर्णालीका आवश्यकताहरू र तत्काल समाधान गर्नुपर्ने सबालहरूको प्राथमिकीकरण गर्ने हो भने कर्णाली राजमार्गको स्तरोन्नतिको सबाल पहिलो नम्बरमा आउँछ। संघ सरकारको यस विषयमा गम्भीर ध्यानाकर्षण हुनुपर्छ।’ 

कर्णाली राजमार्गको स्तरोन्नतिका लागि केन्द्र सरकारले उपेक्षा गरेको छ। हामीले जति भने पनि केन्द्र सरकारले सुनुवाइ गरेन।  

यामलाल कँडेल, मुख्यमन्त्री, कर्णाली प्रदेश 

भौगोलिक अवस्था र स्थानीयले जथाभावी सडक खन्ने गरेकाले कर्णाली राजमार्ग बर्सेनि अवरुद्ध हुने गरेको छ।  
वीरबहादुर जीटी, सूचना अधिकारी, सडक डिभिजन कार्यालय जुम्ला

दैलेखको खिड्कीज्यूलादेखि कालीकोटको हुल्म बजारसम्मको लामो दूरीकै सडक ठाउँ–ठाउँमा अवरुद्ध छ। त्यसैकारण सडक कहिले सुचारु हुन्छ भन्न सकिने अवस्था छैन। 
वीरबहादुर वली - एसएसपी, प्रदेश प्रहरी कार्यालय 


कर्णालीका लागि सरकार भएको अनुभूति भएन। हरेक वर्ष राजमार्ग अवरुद्ध हुन्छ। यसले नागरिकहरूलाई सास्ती भइरहेको छ। 
मानव बम - महासचिव, निर्माण व्यवसायी महासंघ   कर्णाली 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.