गाँजा तस्करी गर्ने गाडी वकिल र प्रहरीको मिलोमतोमा छोडियो

गाँजा तस्करी गर्ने गाडी वकिल र प्रहरीको मिलोमतोमा छोडियो
सुन्नुहोस्

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला सरकारी वकिल कार्यालयको मिलेमतोमा गाँजा लुकाउन र तस्करी गर्न प्रयोग भएको गाडी छोडेको पाइएको छ। गाँजा तस्करीमा प्रयोग भएको गाडी छोड्न जिल्ला सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय धनुषाले मिसिल नै तयार पारेर छोडेको पाइएको हो। 

गत जेठ १३ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट सुरक्षामा खटिएको प्रहरी टोलीले राति पौने तीन बजे ढल्केबरबाट जनकपुरधामतर्फ आइरहेको सिल्भर कलरको स्कारपियो गाडी खानतलासी गर्दा ४१.५ किलोको ६ वटा पोकामा करिब २ सय ५० किलोग्राम गाँजा बरामद गरिएको थियो। गाँजासँगै बागमती प्रदेश १–०२७ च १९७७ नम्बरको स्कारपियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको थियो।

स्कारपियो गाडीमा सवार चार जनामध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि एक जना फरार भए। बरामद गाडीबाट ६ वटा पोकामा करिब अढाइ क्विन्टल गाँजा बरामद गरियो। सुरक्षाकर्मीले गाडी र गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाए। तर, सरकारी वकिलको कार्यालयले तयार पारेको मिसिलमा गाँजा ओसार–पसारमा प्रयोग गरिएको गाडी सञ्चालक जिल्ला सर्लाही हरिवन नगरपालिका १० का रितेश श्रेष्ठको बयानको आधारमा छाडिएको छ। श्रेष्ठले आफ्नो बयानमा भनेका छन्, ‘मैले मेरो गाडी लागूऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको एउटा समाचार पोर्टलमा पढेर थाहा पाएको हुँ।’ तर, त्यस दिन कुनै पनि अनलाइन पोर्टलमा यो समाचार प्रकाशन भएको थिएन।’

घटनामा सर्लाही हरिवन नगरपालिका–२ बस्ने २३ वर्षीय विशाल ठोकरसहित उनको काकाको छोरा २० वर्षीय अर्पण ठोकर र हरिवन नगरपालिका–८ बस्ने ३० वर्षीय प्रेम श्रेष्ठ भन्ने नेत्रबहादुर श्रेष्ठ पक्राउ परेका थिए। सर्लाहीकै अनिल लामा फरार भए। प्रहरीको मिसिलमा सर्लाहीका लामाले भनेका छन्, ‘पक्राउ परेका ठोकरद्वयलाई ८ हजार र गाडी चालक श्रेष्ठलाई भाडाबापत ५० हजार दिन्छु भनेका थिए। तीनै जनालाई सर्लाहीबाट जनकपुरधाम विमानस्थलसम्म छाड्ने कुरा भएको छ।’ पक्राउ परेकाहरूले बयानमा भनेका छन्।

जिल्ला न्यायाधिवक्ता सुदीप दंगालले गाडी सञ्चालकले आफ्नो गाडी भाडामा लगाएको र गाँजा ओसार–पोसारका बारेमा जानकारी नरहेको बताएपछि गाडी छाडेको तर्क प्रस्तुत गरे। न्यायाधिवक्ता दंगालले गाडी भाडा वा अन्य प्रायोजनका लागि प्रयोग गरिएको जसमा गाडी धनीको संलग्नता नदेखिएकाले गाडी छाडेको समेत बताए। तर, यातायात कार्यालय सर्लाही, मलंगवाका प्रमुख राकेश यादवले कुनै पनि रातो नम्बर प्लेटका सवारीसाधन भाडामा लगाउन नपाउने यातायात विभागको निर्देशिकामा उल्लेख रहेका कारण रातो नम्बर प्लेटका सवारी साधन भाडामा लगाउन नपाउने बताउँछन्। ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गाडी भाडामा लगाउने हो भने कालो नम्बर प्लेट राख्नुपर्ने अनिवार्य व्यवस्था छ’, उनले भने, ‘रातो नम्बर प्लेट गाडी भाडामा चलाउनेलाई नेपाल सरकारले तोकेअनुसार कारबाहीको भागी बन्नुपर्छ।’

सरकारी वकिलको कार्यालयले तयार पारेको मिसिलमा पटक–पटक त्यो स्कारपियोको संलग्नता गाँजा तस्करीमा गरिए पनि गाडीका सञ्चालकको कुनै संलग्नता नरहेको उल्लेख छ। कानुनी प्रावधानले गरेको व्यवस्थालाई समेत सरकारी वकिल कार्यालयले बेवास्ता गरेकाले उक्त सवारी साधनलाई बचाउन लागेको स्पष्ट बुझ्न सकिने कानुन व्यवसायीहरूको भनाइ छ।

लागूऔषध ऐन २०३३ को दफा १४ को १ (घ)को ५ मा दश किलो ग्रामदेखि माथि बरामद गरिए दुई वर्षदेखि १० वर्षसम्मको कारबाही हुने व्यवस्था छ। साथै दफा १८ (क) मा बरामद गरिएको सम्पत्ती जफ्त हुने उल्लेख छ। 

घटना लुकाउन प्रपञ्च 
जिल्ला प्रहरी कार्यालय धनुषाले सामान्यभन्दा सामान्य घटनाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन नभए कम्तीमा प्रेस विज्ञप्ति जारी गर्ने गरेका छन् । तर, यस घटनाको जानकारी कुनै पनि सञ्चारमाध्यम वा प्रेस विज्ञप्तिमार्फत गराइएको छैन। यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले गाँजा तस्करीबारे पुष्टि गरे पनि प्रेस विज्ञप्ति सम्बन्धमा बोल्न मानेनन्। उनले भने, ‘गाडीसहित अढाइ क्विन्टल गाँजा बरामद गरिएको थियो। पछि सरकारी वकिलको कार्यालयको पत्रअनुसार गाडी छाडियो। सबै घटनाका बारेमा जानकारी नै दिनुपर्छ भन्ने छैन।’ 

घटनालाई ढाकछोप गर्न प्रहरी सुरुदेखि नै लागेका कारण घटनामा संलग्न प्रहरीहरूलाई यस विषयमा जानकारी कसैलाई नदिन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भूवनेश्वर तिबारीले सर्कुलर गरेको स्रोतको भनाइ छ। स्रोतले भन्यो, ‘पक्राउ गर्ने टोलीले मोबाईलमा खिचेको फोटो र भिडियो समेत जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिलिट गर्न लगाइयो।’

धनुषा जिल्लामा केही दिनयता घरेलु तथा लत्तापकडाका साथै लागूऔषध तथा मदिरा भारत ओसार–पोसारका घट्ना बढेको छ। तर, यस्ता धेरै घटनाहरू प्रहरी प्रशासनले ढाकछोप गर्न भित्रबाट नै प्रयास गरिरहेको पाइन्छ। तस्करबाट अवैध रकम असुल गरेको भन्दै अहिले मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी यज्ञविनोद पोखरेलमाथि छानबिन भइरहेको छ।

डिआईजी मात्र नभई धनुषा जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, डीएसपीलागायतका सुरक्षा निकायले समेत यहाँ घुमुवा प्रहरी राखेर तस्करीको लाइन खोल्ने गरेको स्रोतको भनाइ छ। उनीहरू अवैध रकम असुल गरिए पनि उनीहरूमाथि कसैले कुनै कारबाही प्रक्रिया अगाडि नबढाएका कारण नेपाल सरकारले पाउनुपर्ने करोडौं रुपैयाँको राजस्व गुम्दै आएको छ। 

११ प्रहरी कारबाहीमा 

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलको खातामा अस्वाभाविक कारोबार भेटिएपछि एक बिचौलियासहित ११ प्रहरी कारबाहीमा परेका छन्। मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको बैंक खातामा अस्वाभाविक कारोबार भेटिएपछि छानबिनमा एक बिचौलियासहित ११ जना प्रहरी हेडक्वार्टर तानिएका हुन्।

 स्रोतका अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्देशन तथा प्रत्यक्ष निगरानीमा डीआईजी पोखरेलमाथि भएको छानबिनमा भ्रष्टाचार र अनैतिक धन्दामा डीआईजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एक प्रहरीलाई बयानका लागि छानबिन समितिले हेडक्वार्टरमा झिकाएको छ।

डीआईजी पोखरेलमाथि भइरहेको छानबिनका क्रममा जितेन्द्र कर्ण नाम गरेका बचौलियामार्फत लेनदेन गरेकाले उनलाई पक्राउ गरिएको छ। डीआईजी पोखरेलले कर्णमार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ। लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौंबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौं लगेको धनुषा प्रहरी स्रोतले जनाएको छ।

यसैगरी डीआईजी पोखरेल निकटस्थ मानिने मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाइएको छ। छानबिनका लागि प्रधान कार्यालय धनुषा जिल्लास्थित सीमा प्रहरी चौकी दुवहीमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद यादव, सप्तरीस्थित मोहवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरजकुमार साह, जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार बच्चेलाल यादव, कोशी प्रदेशस्थित भोजपुर बालांगामा कार्यरत हवल्दार बृजेस मुखियालाई हेडक्वाटर तानिएको स्रोतको दाबी छ। 

यसैगरी हेडक्वाटर तानिनेहरूमा इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर, धनुषामा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेश लाल कायस्थ रहेको प्रहरी स्रोतको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.