गुमनाम विवस

गुमनाम विवस
सुन्नुहोस्

यूएई : युनाइटेड अरब इमिरेट्स (यूएई) को विकसित सहर दुबईबाट एक सय किमी टाढा रहेको अर्को राज्य हो, फुजराह। त्यही फुजराहको एउटा घरमा प्राइभेट सेक्युरिटीको काम गर्दै गुमनाम दिनचर्या बिताइरहेका छन्, चर्चित गीतका एक सर्जक। अर्थात गीतकार सुरज गैरे ‘विवस’।

जिन्दगीको के छ र भर, अजम्बरी को नै छ र भावीले लेखेको, कसले छ देखेको जन्म र मृत्युबीचको कुरा, हुँदैन सबै चाहेका पूरा खबर पठाइ आइदिए काल, आउनु है भन्थे म अर्कै साल निर्देशक दिनेश राउतद्वारा निर्देशित नेपाली चलचित्र सेल्फी किङमा अभिनेता विपिन कार्कीको जीवन्त अभिनय रहेको यो गीत युट्युब र अन्य सामाजिक सन्जालमा निकै चर्चित छ। गायक केतन क्षत्रीको गायकी र सुवास भुसालको संगीतले गीतलाई सर्वसाधारणको मनमनमा टाँसिदिको छ। हालसम्म युट्युबमा यो गीतलाई ७८ लाख पटक हेरिएको छ। सेक्युरिटीको काम गर्दागर्दै आफ्नै जिन्दगीको भरमा नपरेका गीतकार गैरे विगत १२ वर्षदेखि यही पेसामा रमाइरहेका छन्। न त उनलाई नेपालमा कसैले चिन्छ न त यूएईमा रहेको नेपाली समुदायले। केवल उनले लेखेको गीत चर्चित छ। र, यही १२ वर्षले उनलाई चर्चित गीतको गुमनाम गीतकारको उपमा दिएको छ।

धुजाधुजा पा¥यौ मुटु सिएर हिंडेको छु

खुसी दिँदा दियौ आसुँ पिएर हिँडेको छु 

१८ वर्षको उमेरमा विदेश लागेका सुरजले रचना गरेका झन्डै ५० भन्दा बढी गीतहरूमा चर्चित गायकहरूले स्वर भरेका छन्। नौ वर्ष अघि रिलिज भएको ‘धुजा धुजा पा¥यौं मुटु’ गीत पनि निकै हिट भएको थियो। गायक शिव परिवारको स्वर र दीपक शर्माको संगीत रहेको निकै चर्चित यो गीतको गीतकार पनि गैरे नै हुन्। गैरेले रचना गरेका गीतहरूमा चर्चित गायक प्रमोद खरेल र अन्जु पन्तले समेत स्वर भरेका छन्। यसैगरी सन्तोष केसीको संगीत रहेको ‘मृत्यु कहाँ’ बोलको गीतमा रामकृष्ण ढकालको स्वर रहेको छ भने ‘मन पराएँ मैले’ गीतमा मेलिना राईले स्वर दिएकी छन्।

आधुनिक र लोक आधुनिक लयमा गैरेले लेखेका कयौं गीतहरू चर्चित छन्। उनका गीत जति नै चर्चित भए पनि उनी भने विदेशमा मात्रै होइन, नेपालमा पनि गुमनाम नै छन्। त्यसो त गैरे नेपालमा गीत लेख्दालेख्दै बेरोजगारी भएर विदेश भासिएका होइनन्। विदेशमा बस्दाबस्दै देशको मायाले ओतप्रोत जाग्दा गीतकार बनेका हुन्। ‘कहिलेकाहिँ मनभरी कुरा खेल्छन्, निकै भावुक बन्छु। तिनै मनको भावलाई शब्दमा उतार्छु। गायक र संगीतकारहरूले मन पराइदिनु हुन्छ। अन्तत: नियतिले विदेशमा बस्ने एउटा सेक्युरिटी गार्डलाई गीतकार बनाइदिन्छ’, गैरेले भने, ‘खै ! भावीको लेखान्त भनेकै यही त होला नि। सानोतिनो गीतकार नै पो बनेछु।’

उनी विदेशिनु पर्ने कारण पनि अन्य आम नेपालीहरूको जस्तै छ, घरको आर्थिक समस्या। घरको समस्या टार्नु जेठो छोरोको कर्तब्य पनि त हो। त्यसैले सन् २०१२ को अन्त्यतिर उनी दुबई हानिए। मनमा भने भव्य दुबई सहर थियो। तर, उनी दुबईभन्दा एक सय किमी टाढाको कम विकसित राज्य फुजराहमा पुगे। ‘सानुबुवाले यतै आउ राम्रै हुन्छ भन्नुभयो। अनि आएँ’, गैरे भन्छन्, ‘फुजराह आउँदा कान्छो भाइ २ कक्षामा पढ्थ्यो। अहिले इन्जिनियरिङको अध्ययन पूरा ग¥यो। मेरो खुसी पनि यही हो।’

२०५० माघमा स्याङ्जाको वालिङमा जन्मिएका गैरेको घर अहिले कावसोतीमा छ। १२ कक्षासम्म अध्ययन गरेका उनका तीन भाइ र तीन दिदीबहिनी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.