एमबाप्पेले खोले गोलको खाता
म्याड्रिड : साविक विजेता रियल म्याड्रिडका स्टार फरवार्ड काइलिन एमबाप्पेले स्पेनिस ला लिगामा पहिलो गोल गरेका छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता टुङ्ग्याउँदै यस सिजन रियल म्याड्रिड पुगेका एमबाप्पेले आइतबार राति रियल बेटिसविरुद्धको खेलमा गोल गर्दै ला लिगामा गोलको खाता खोलेका हुन्।
फ्रान्सका कप्तानसमेत रहेका एमबाप्पेले आइतबार राति रियल बेटिसको पोस्ट्मा दुई गोल गरेका थिए। उनकै दुई गोलको मद्दतमा रियल म्याड्रिडले २–० को जित निकालेको थियो। यस सिजनमा रियलको दोस्रो जित हो। अहिलेसम्म चार खेल खेलेको रियलले दुईमा जित र दुई बराबरीको नतिजासहित आठ अंक जोडेको छ। चार खेल नै खेलेको बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ।
ला लिगाको पछिल्लो तीन खेलमा भने एमबाप्पेले गोल गर्न सकेका थिएनन्। उनले रियलबाट खेलेको यूईएफए सुपर कपअन्तर्गत एटलान्टाविरुद्धको खेलमै गोल गरेका थिए। ला लिगामा उनले २५औं प्रहारमा गोलको खाता खोलेका हुन्। एक पेनाल्टीसहित उनले विपक्षी पोस्ट्मा २६ प्रहार गरेका छन्।