प्रश्न महासंघको गरिमाको

प्रश्न महासंघको गरिमाको

पत्रकार भनेको त्यस्तो व्यक्ति हो जसले लेख, रचना, तस्बिर वा श्रव्यदृश्यको रूपमा सूचना संकलन गरी समाचारयोग्य रूपमा प्रशोधन गरेर जनतामाझ पुर्‍याउँछ भनेर विकिपिडियामा उल्लेख छ । पत्रकारले मुख्यतया गर्ने कार्य वा प्रक्रियालाई पत्रकारिता भनिन्छ । पछिल्लो समयमा पत्रकार को हो र को होइन भन्ने विषय पनि प्रश्नको रूपमा उठेको छ । पत्रकारले पत्रकारिता मात्रै गर्छन् कि अरू काम पनि गर्छन् भन्ने प्रश्नको जवाफ दिन गाह्रो भएको छ ।

विकिपिडियामै छ– ‘सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आमनागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो ।’ पत्रकार र पत्रकारितालाई सँगसगै हेर्दा समाजमा पत्रकारको ठूलो भूमिका छ । पछिल्लो समयमा आएर पत्रकारितामा पनि गलत तत्त्वको प्रवेश भएकाले कतै हामी चुक्यौं कि भनेर आफूभित्र पनि समीक्षा गर्ने विषय बनेको छ । पत्रकार स्वतन्त्र हुनुपर्छ र पत्रकारिता मर्यादित हुनुपर्छ भन्नेमा कुनै शंका छैन । पत्रकारितालाई व्यावसायिक बनाउने भन्दै पत्रकारिताको मूल मर्मलाई बिर्सिने परिपार्टी गलत बनेको छ ।

नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारको साझा छाता संगठन हो, जसको ६५ वर्ष लामो इतिहास छ । नेपाल पत्रकार महासंघको निर्वाचन केही समयमै हुँदैछ । पटक–पटक सर्दै आएको निर्वाचन गर्नैपर्ने बाध्यतामा महासंघ छ । अबको महासंघको नेतृत्व कस्तो हुने भन्ने बहस गर्ने बेला भएको छ । निर्वाचन अन्योलमा पर्दै गएकाले यसबारे कसैको पनि ध्यान पुगेको छैन । नेतृत्वमा पुग्ने एकमात्रै लक्ष्य लिएर हिँडेकाले महासंघलाई सही दिशामा डोहोर्‍याउन सक्दैनन् भन्ने पुष्टि भएको छ । पत्रकारको छाता संगठन भएकाले केन्द्रदेखि, प्रदेश र जिल्लामा पनि पत्रकारिता बुझेका, जानेका र गरेका मानिस नेतृत्वमा आउनुपर्छ भन्ने बुझाइ छ ।

कोरोना महामारीपछि थला परेको मिडियाको अवस्था यतिबेला कहालिलाग्दो बन्दैछ । कतिपय मिडिया बन्द भए भने सञ्चालनमा आएका पनि ‘धरमर’मा छन् । पत्रकारिता नै गरेकालाई अरू काम गर्न मन नलाग्ने र वैकल्पिक रूपमा अरू काम गरे पनि सन्तुष्ट नहुने भएकाले यो क्षेत्रबाट उम्किने सम्भावना पनि छैन । पत्रकारको अवस्था के छ, उनीहरू कसरी चलिरहेका छन् भन्नेतिर न त महासंघले न त अरू कुनै पार्टी निकट पत्रकार संघ संगठनले नै ध्यान दिएका छन् । यो बेलामा महासंघले जिम्मेवारी वहन गर्न नसकेको अनुभूति हुने गरेको छ ।

अहिले पत्रकार महासंघको निर्वाचन भएर अर्को नेतृत्व आइपुग्ने समय बितेको पनि धेरै भइसक्यो । आन्तरिक राजनीतिसँगै अन्य स्वार्थ समूहको जोडघटाउले यो मितिमा निर्वाचन होला भन्ने प्रस्ट आधार छैन । जस्तोसुकै असहज अवस्थामा पनि सक्रिय भएर व्यवसायमा लाग्नु पत्रकारको धर्म हो । पत्रकारले नेपालका विभिन्न आन्दोलन र क्रान्तिमा खेलेको योगदानको कदर गर्नैपर्छ । तर यसको निर्वाचन किन हुन सकेन ? के गर्दा निर्वाचन हुन सक्छ ? वा अहिले हुँदैन ? यी प्रश्न जटिल छन् । सम्बन्धित निकायसँग पनि कुनै जवाफ छैन । निर्वाचन अन्योलमा परिरहँदा कतै महासंघको गरिमा नै संकटमा पर्ने त होइन भन्ने शंका सुरु भएको छ ।

२०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रूपमा महासंघ छ । २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरियो । २०५३ जेठ २८ र २९ गते सुनसरीको धरानमा आयोजित वार्षिक साधारणसभाले विधान परिवर्तन गर्दै संघलाई महासंघ बनाएको थियो । २०५४ भदौ ३० गते भएको महाधिवेशनबाट महासंघको पहिलो सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्य चयन भए । हाल महासंघमा झन्डै १० हजार सदस्य छन् । २००८ जेठमा सत्यनारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुरसिंह न्यौपाने सचिव रहेको नेपाल पत्रकार संघ स्थापना गरिएको थियो । २००९ वैशाख २२ मा आर्य समाज मन्दिर भोटाहिटीमा भएको भेलाले पत्रकार संघको नेतृत्वमा विस्तार र पुनर्गठन गरेको देखिन्छ ।

स्थापनाको केही वर्ष नबित्दै नेपाल पत्रकार संघ निष्क्रियजस्तै हुन पुगेकाले २०१२ पुस १९ गते उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारको भेला भयो । २०१२ चैत १६ गते आयोजित भेलाले नेपाल पत्रकार संघ (२००८) को नेतृत्वमा पुनर्गठन गरी सभापतिमा कृष्णप्रसाद भट्टराईलाई चयन गरियो । यतिबेला भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो । यी घटनाक्रम हेर्दा पत्रकार महासंघको संस्थापक अध्यक्ष को हो भन्नेमा अन्योल छ । यसरी संघको पुनर्गठन भएको दिन चैत १६ लाई महासंघले स्थापना दिवसका रूपमा मनाउने गरेको छ ।

त्यसपछि संघको अध्यक्षमा दाताराम शर्मा (२०१३–१८), फत्तेबहादुर सिंह (२०१८–१९) भए । पशुपतिदेव पाण्डे (२०१९–२५), मणिन्द्रराज श्रेष्ठ (२०२५–२७), गोपालदास श्रेष्ठ (२०२७–३०), गोकर्णदेव पाण्डे (२०३०–३२), इन्द्रकान्त मिश्र (२०३२–३५), मञ्जुरत्न शाक्य (२०३५–३९), निर्मलकुमार अर्याल (२०३९–४३), मणिराज उपाध्याय (२०४३–४६), गोविन्दराज वियोगी (२०४६–४९), होमनाथ दाहाल (२०४९–५२), हरिहर विरही (२०५२–५४) भए । किशोर नेपाल (२०५४–५६), सुरेश आचार्य (२०५६–५९) सभापति भए । २०५६ मंसिर १९ गते सम्पन्न १९औं महाधिवेशनबाट सुरेश आचार्य सभापति र तारानाथ दाहाल महासचिव रहेको नेतृत्व चयन भयो ।

त्यसैबेलादेखि महासंघको पदावधि तीन वर्ष कायम गरियो । तारानाथ दाहाल (२०५९–६२), विष्णु निष्ठुरी (२०६२–६५), धर्मेन्द्र झा (२०६५–६८), शिव गाउँले (२०६८–७१) र डा. महेन्द्र विष्ट (२०७१–७४) नेतृत्वमा निर्वाचित भए । महासंघको मुख्य नेतृत्वलाई सभापति भन्ने गरिएकोमा २०६४ असार १५ गतेको चितवन भेलाले अध्यक्ष भन्ने व्यवस्था गर्‍यो । २०७४–७७ सम्म गोविन्द आचार्यले र त्यसपछि अहिलेसम्म विपुल पोखरेलले नेतृत्व सम्हाल्दै आएका छन् ।

२०६१ माघ १९ को ‘कू’पश्चात् राजनीतिक दलहरूले चक्रपथबाहिर र बढीमा नयाँबानेश्वरमा जुलुस निकाल्ने प्रयत्न गरिरहँदा पत्रकार महासंघले सुरुमा गौशाला अनि भृकुटीमण्डप, रत्नपार्क र बबरमहलजस्ता सत्ताद्वारा निषेधित क्षेत्रका केन्द्रभाग मै प्रदर्शन गर्ने आँट, हिम्मत र साहस गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा गरेको शाही घोषणालाई लोकतन्त्रविरुद्धको ‘कू’ भनेर औपचारिक धारणा राख्ने पहिलो संस्था पत्रकार महासंघ नै थियो ।

पत्रकारिता नै गरिरहेकाले पनि पत्रकार महासंघको सदस्यता पाउन पनि निकै संघर्ष गर्नु परेको छ । सदस्यता लिने र दिने कुरामा राजनीतिक रूपले बढी हेरिँदा सक्रिय पत्रकारले सदस्य पाउनुबाट वञ्चित हुनु दुःखको कुरा हो । अब आउने नयाँ नेतृत्वले अहिलेसम्मका गलत संस्कार त्यागेर महासंघको मूल मर्मअनुसार पत्रकारलाई साँच्चै पत्रकारको संगठनका रूपमा विकास गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.