कतारका लागि प्रस्तावित राजदूत पौडेलले भने : श्रमिकको समस्या समाधान गर्न काम गर्छु
काठमाडौं : संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले संसदीय सुनुवाइ गरेको हो।
बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले नेपाल र नेपालीको सर्वोपरि हित रक्षा गर्नु र प्रवर्द्धन गर्ने, कतार सरकारसँगको सम्बन्ध विस्तार र सबल बनाउने सम्बन्धमा नेपाल सरकारको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने धारणा राखे। कतार र नेपालबीच भएका श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए।
रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिकको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगायतका काम गर्ने पौडेलले उल्लेख गरे।
यसअघि समितिले आइतबार र सोमबार इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल, चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरेको थियो। समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने जनाएको छ।
त्यस्तै भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्यतालिका समितिले बनाएको छ। सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।