चरेशसहित २ जना पक्राउ
कपिलवस्तु : कृष्णनगर नाकाबाट लागूऔषध चरेस भारततर्फ ओसारपसार गर्ने २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-१ चैनपुर नौडिहवाका ६४ वर्षीय कलिसरा पुन र रुकुम पश्चिम जिल्ला वाफिकोट गाउँपालिका-७ मकामाका ४० वर्षीय भीमसेन खत्री रहेका छन्।
सीमा नाकाको कृष्णनगर नगरपालिका-२ यात्रु गेटस्थित नेपालबाट भारततर्फ जाँदै गरेकी कलिसरा पुनलाई प्रहरीले रोकी चेक जाँच गर्दा उनले बोकेको झोलामा १ किलो ४ सय ४६ ग्राम लागूऔषध चरेस भेटिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा प्रहरीले कृष्णनगर बसपार्कबाट भीमसेन खत्रीलाई पक्राउ गरेको थियो। पक्राउ परेका खत्रीको साथबाट १ लाख १० हजार भारतीय रुपैयाँ फेला परेको नायब प्रहरी उपरीक्षक हरि वलीले बताए।