'जिब्रो थुत्ने' र 'मन्त्रीको पद नै बिक्री गर्ने' विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माओवादी सांसद पौडेल
काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै पौडेलले सरकारका प्रवक्ताजस्तो व्यक्तिले आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको बताए। उनले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरी प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
असभ्यतातर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली समृद्ध नेपालको नारा फगत नारामै सीमित हुने उनको भनाइ छ। त्यस्तै पौडेलले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्ने विषयमा कांग्रेस र एमाले मुछिएकाले उक्त दलहरूले प्रष्ट पार्नुपर्ने बताए। पदको किनबेजजस्तो मजाक जनताका बीचमा गर्न नपाइने उनले बताए।
त्यस्तै एमालेका नेता राजेन्द्र राईले सञ्चारमन्त्रीले जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएजस्तो नलागेको भन्दै त्यसो भन्नुभएको हो भने निकै गलत कुरा भएको बताए। जनताको प्रतिनिधिले त्यस्तो भन्न नमिल्ने उनको भनाइ छ।