आधुनिक बागलुङ बसपार्क सञ्चालन

आधुनिक बागलुङ बसपार्क सञ्चालन
सुन्नुहोस्

बागलुङ : बागलुङ नगरपालिका-४ दावगरामा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ। काम थालेको २३ वर्षपछि बसपार्क सञ्चालनमा आएको हो। मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटन गरे। 

२०५८ सालमा बागलुङ नगरपालिकालाई कुल ५९ रोपनी जग्गा स्थानीयले दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो। जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने अन्य जग्गामा घडेरीका रूपमा जग्गाधनीलाई फिर्ता गर्नुपर्ने छ। 

ठेक्कापट्टाको कामले ढिला हुँदा २०७५ सालमा बसपार्कको शिलान्यास गरी २०७८ सालमा काम सम्पन्न गरिएको थियो। बसपार्क निर्माण सम्पन्न भएको चार वर्षपछि उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो। नगर विकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो। 

निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो। बसपार्कका सरोकारवाला, बसपार्क व्यवस्थापन समिति र बागलुङ नगरपालिका बीच मतभेद रहँदा कामले गति लिन सकेको थिएन। बसपार्कमा जान र फर्किनका लागि पहुँचमार्गको समस्या रहेको भन्दै सञ्चालनमा आएको थिएन। अहिले भएकै पहुँचमार्गका रूपमा रहेका सडकलाई स्तरीय बनाएर सञ्चालन गर्ने र पछि छोटो सडकको काम गर्नेगरी बसपार्क सञ्चालनमा ल्याएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बताए।

नगरपालिकाले जग्गाधनीलाई प्लटिङ गरेर जग्गा फिर्ता गर्नुपर्ने लगायतका १२ बुँदे सहमति छ। बसपार्क चलेसँगै जग्गा प्लटिङ गरी जग्गाधनीलाई फिर्ताको काम थाल्ने बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठको भनाइ छ। बसपार्क सञ्चालनमा आएपछि जग्गादाता र स्थानीयवासी हर्षित बनेका छन्। ४१ जग्गादाताले २३ वर्षअघि बसपार्क निर्माणका लागि जग्गा दिएका थिए।

बसपार्क सञ्चालनसँगै नगरपालिकाका नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ। उनले बसपार्क सञ्चालनमा नआउँदा चार वर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई वार्षिक १ करोड ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको बताए। 

दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ। नगरप्रमुख श्रेष्ठले जग्गादाताहरूलाई बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको बताए। नगरप्रमुख श्रेष्ठले जग्गादाताका नाममा जग्गा पास गर्दा खर्च लाग्ने भएकोले जग्गा पासको शुल्क छुट गरिदिन प्रदेश सरकारलाई अनुरोध समेत गरे। 

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बसपार्क सञ्चालनमा आउँदा आफू खुशी भएको बताए। उनले निर्माण सम्पन्न भएपछि पहुँचमार्गको अभावले समयमै बसपार्क सञ्चालनमा आउन नसकेको बताउँदै अहिले रहेको पहुँचमार्गबाटै अहिले सञ्चालन गर्ने र पछि मुख्यसडकमा निस्कनका लागि छोटो पहुँच मार्गको व्यवस्थापन गरिने बताए। ‘ठूला बस सञ्चालन गर्नका लागि यातायात व्यवसायीहरूले अहिले भएको पहुँच मार्ग साँघुरो हुने बताएका छन्,’ अध्यक्ष तथा जग्गादाता राजभण्डारीले भने,‘हामीले छोटो पहुँच मार्गका लागि ट्रयाक खुलेका छौं। मुख्य सडकमा जोडिनका लागि छोटो पहुँचमार्गलाई विस्तार गरेर सञ्चालनमा ल्याउने तयारी छ।’

उनले बस्तीका लागि नगरपालिकाले सडक, नाली, खानेपानी र विद्युतको व्यवस्था गरिदिनुपर्ने र घडेरीको नक्सांकन गरिदिएपछि व्यवस्थापन समितिले जग्गादाताहरूलाई उपलब्ध गराउने सहमति रहेको बताए। बसपार्कको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कमा आवतजावतका लागि पहुँचमार्ग कालोपत्रे गर्न नगरपालिकासँग गण्डकी प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले बसपार्कमा आउन र जानका लागि मुख्य सडकमा निस्कन पहुँच मार्ग असहज रहेको जानकारी आएको भन्दै उक्त सडक कालोपत्रे र विस्तारका लागि सहकार्य गर्ने बताए। 

मुख्यमन्त्री पाण्डेले जग्गादाताको जग्गा पासमा कर छुटमा प्रदेशको आर्थिक ऐनमा टेकेर दिनसक्ने जति छुट दिन आफू प्रतिबद्ध रहेको बताए। उनले आफूलाई सबै कर छुट दिन मन रहेको बताउँदै ऐनलाई आफूले कुल्चिन नमिल्ने र ऐनले दिन मिल्नेसम्म छुट दिन आफू प्रतिबद्ध रहेको बताए। 

मंगलबार बसपार्क मार्फत धौलागिरी गण्डकी यातायात सेवा प्रालिको बस काकडभित्ताका लागि छुटेको थियो। बसपार्कमा एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ। बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। बागलुङमा हाल बागलुङ नगरपालिका–३ मा चिप्लेटी बसपार्क सञ्चालनमा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.