सामाजिक सञ्जालको दुरुपयोग
सूचना प्रविधिबाट अर्बपति बनेका मार्क जुकरबर्गले हालैमात्र अमेरिकी कंग्रेसका सदस्यहरूका थुप्रै प्रश्नहरूको सामना गर्नुपर्यो । उनको स्वामित्वमा रहेको लोकप्रिय फेसबुक नामको सामाजिक सञ्जालमा सेन्सर नगरिएका विषयवस्तुहरू छताछुल्ल आए, सामाजिक सद्भावमा आँच पुग्यो, राजनीतिक
स्वाभाविक रूपमा सामाजिक सञ्जाल एक्काईसौं शताब्दीको पहिलो चौथाइको वरदान र उपलब्धि हो । यसले विशाल विश्वलाई साँघुरो बनाइदिएको छ र एउटा सानो गाउँमा परिणत गरिदिएको छ । यो सूचनामूलक मात्रै छैन ज्ञानवद्र्धक र मनोरञ्जनको साधन पनि बनेको छ । हरेक चिजका दुइटा पाटा भए जस्तै यसका पनि प्रशस्त नकारात्मक पक्षहरू छन् । यो त खालि साधनमात्र न हो कसले कसरी प्रयोग गर्छ यसको परिणाम त्यसैमा भर पर्छ ।
अहिले हरेकको हात हातमा विश्व नै मुठी परेको छ । हिजो अप्राप्य र दुर्लभ ठानिएका चिजहरू सहज र सुलभ बनेका छन् । लाहुरेदाइले हातले लेखेको चिठी उनकी प्रियशी र बाबुआमाको हातमा पर्दा तीन महिना लाग्थ्यो । चिठी लेख्ने बेला सकुशल उनीहरूको प्रियजन आफन्तको हातमा पर्दा सम्भवतः युद्ध मैदानमा मृत्यु भइसकेको पनि हुन सक्थ्यो । तर आज चिठीको जमाना गयो ।
सामाजिक सञ्जालकै माध्यमबाट हजारौं किलोमिटर टाढाका आफन्तसँग संवाद, भलाकुसारी र क्षमतनकुशलका कुरा गर्न सकिन्छ त्यो पनि प्रत्यक्ष भिडियोमा सशरीर देखादेख गरेर । अहिले आएर जापानदेखि जमैकासम्म अनि ब्राजिलदेखि ब्रिसवेनसम्म । दुर्गम भनिएका नेपालका गाउँघरमा पनि प्रत्येकका हातमा मोबाइल फोन पुगेका छन् । मोबाइल फोन र यस्ता अन्य ग्याजेटहरूको प्रयोग गरेर थुप्रै सूचना र ज्ञान लिन सकिन्छ । यो शिक्षा प्राप्त गर्नको लागि शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ । इन्टरनेटको नेक्ससले सबै तहका, तप्काका उमेर समूहका मानिसहरूले प्रयोग गरेर आफ्नो रुचि र आवश्यकताबमोजिम प्रयोग गरेर उपयोग गर्न सक्छन् ।
तर यो प्रयोग गर्ने सन्दर्भमा सदुपयोगभन्दा दुरुपयोग बढी भएको छ । हालै प्रकाशित विद्यालय तहका दुइवटा नतिजाको टिठलाग्दो अवस्था हेर्दा त्यसमा हाम्रो शिक्षा प्रणाली शिक्षक, विद्यालयमात्र दोषी देखिँदैनन् तर मोबाइल फोनको सर्वउपलब्धता पनि एउटा दोषी देखिन्छ । त्यो पनि बलियो रूपमा । एसइई भन्ने १० कक्षा र विद्यालय तहको अन्तिम १२ कक्षाको परिणामले एकपल्ट सबैलाई झस्काइदियो । धेरैले धेरै निष्कर्ष निकाले । अधिकांशले शिक्षकलाई दोष दिए र गाली गरे । कसैले विद्यालय प्रशासन र राज्यको शिक्षा नीतिलाई जिम्मेवार ठाने । यी पनि कारण हुन सक्छन् । तर एउटा कारण यसो हुनुको पछाडि अभिभावकले पुल्पुल्याएर आफ्ना किशोर छोराछोरीलाई मोबाइल दिनु पनि हो । अहिलेको पुस्ताले किताब पढ्दैन ।
आफ्नै पाठ्यपुस्तक पनि । नोट बनाउँदैन । होमवर्क गर्छ गुगलबाट सर्च गरेर उत्तर खोज्छ किताबको पाठ पल्टाउँदैन । औसत र निम्न तहका विद्यार्थीले उसैको सार्छन् र गुरुलाई देखाउँछन् । गुरुहरूले त्यही चेक गर्छन् कतिले त्यही पनि नपढी रातो मसीले ठीक गरिदिन्छन् र कर्तव्य पूरा गर्छन् । जाँचकै बेला कतिले मोबाइल लुकाएर परीक्षा हलमा जान्छन् र लुकेर चिट गर्छन् । साह्रै कडा भए पनि डिजिटल वाच त लैजान्छन् नै जसमा सम्भावित उत्तरहरूको चिट बनाइएको हुन्छ मज्जाले उपयोग गर्छन् ।
विश्वमा अहिले इन्टरनेटबाट चल्ने फेसबुक, टिकटक, एक्सलगायत अनेकौं सामाजिक सञ्जालको साम्राज्य छ । जिज्ञासु र उत्सुक भनिने मानिसले यिनलाई उपयोग भन्दा बढी दुरुपयोग गरिरहेको छ । अश्लीलता सामान्य भयो । यसले धेरै समाजका सांस्कृतिक मूल्य मान्यतालाई भत्काइदिएको छ । यसैले गर्दा नेपाली संस्कृति पनि क्षयीकृत बन्दैछ । हाम्रो अग्र्यानिक कल्चर भत्केर छताछुल्ल पोखिएको हाम्रै आँखाले देखेका छौं । मानिस सामाजिक सञ्जालकै कारण झन् असामाजिक र आत्मकेन्द्रित बनिरहेको छ । अश्लील भिडियोको लागि सामाजिक सञ्जाल, कसैलाई गाली गर्न परे सामाजिक सञ्जाल, कसैको चरित्र हत्या गर्न सामाजिक सञ्जाल । केही ठगहरूले कसैलाई बार्गेनिङ गर्ने र ठग्ने काम पनि सामाजिक सञ्जालकै माध्यमबाट गरिरहेका छन् । यो ठगीको साधन पनि बनिरहेको छ ।
आज इन्टरनेट पाँच मिनेट मात्र बन्द भयो अथवा प्राविधिक जटिलताले सुचारु हुन सकेन भने विश्व नै ठप्प हुने स्थिति छ । तर पछिल्लो समयमा विकसित यस्ता सञ्जालहरू उपयोगी हुँदाहुँदै पनि प्रयोगकर्ताको लापरबाहीले हाम्रो सामाजिक सद्भावमा आँच आएको छ । यसलाई अनुगमन, नियमन र नियन्त्रण जरुरी छ । प्रायः मुलुकमा साइबर कानुन छन् । त्यसको परिपालना र दोषी उपर कडा कारबाही जरुरी छ । यिनीहरूले पनि पोस्ट गरिएका सामग्रीहरूको स्तर हेरेर सेन्सर गर्ने प्रविधिको विकास गरी जडान गर्नुपर्दछ । इन्टरनेट र सामाजिक सञ्जाल बन्दै गर्न र प्रतिबन्ध लगाउन सकिँदैन र बुद्धिमानी पनि होइन । त्यत्रो चिज विकास गर्ने मानिसले यसलाई साँच्चिकै ‘सामाजिक’ बनाउन किन सक्दैन ?
सामाजिक सञ्जालकै कारण दिनदिनै एकलकाटे, आत्मकेन्द्रित र झन् असामाजिक बन्दै गरेका हामीहरूलाई साइबर ल ले बाँध्न जरुरी छ । प्रहरीमा जनशक्ति नपुगे थपियोस् । यो विषय हेर्ने प्रहरीको सेल अझ सशक्त बन्नु पर्यो । हुन त अन्तैबाट सञ्चालित यस्ता सञ्जालहरू हाम्रो सहज नियन्त्रणमा छैनन् तर हाम्रा सम्बन्धितहरूले त्यहाँ सम्पर्क स्थापित गरेर नेपालकै लागि कस्ता सामग्री उचित कस्ता अनुचित भनेर जानकारी गराउनु पर्यो । सेन्सर गरेर मात्र सामग्रीहरू आउन । सम्भव भए नेपालबाटै नियमन गर्न मिल्ने गरी प्राविधिक स्टेसन खडा गरियोस् । अश्लीलता र ठगी कम हुन्थ्यो कि ?
अरूको चरित्र हत्या गर्ने र हुर्मत लिने काम बन्द हुन्थ्यो कि ? भत्केको सामाजिक सद्भाव फेरि कायम हुन्थ्यो कि ? मानिसमा लागेको नैतिकताको खडेरी अलि कम हुन्थ्यो कि ?