वर्षौंपछि भैरहवा भन्सार सक्रिय

वर्षौंपछि भैरहवा भन्सार सक्रिय
सुन्नुहोस्

 भैरहवा : घटना १ : २०८० पुुस ६ गते यूपी ६४ टी १९३८ नम्बरको ट्रकमा १६ लाख २८ हजार रुपैयाँभन्दा बढी मूल्यबराबरको ५१ हजार ६ सय ९६ थान क्लोज अप ब्रान्डको टुथ पेस्ट भन्सार छलेर भारत लैजान खोज्दा भैरहवा भन्सार कार्यालयले बेलहिया नाका नजिकैबाट सामग्रीसहित ट्रक नियन्त्रणमा लियो। चालक फरार भए।

घटना २ : २०८१ वैशाख २६ गते १५ लाख २६ हजार रुपैयाँभन्दा बढी मूल्यबराबरको भारतबाट भन्सार छलेर भित्र्याइएको ३ सय ६३ केजी हुक्का फ्लेवर, जर्जेट २ सय ७५ मिटर, नेट इम्ब्रोइडरी २ सय ७५ मिटर, लेडिज सुट ७२ थान, रेशा साडी ८५ थानसहित लु २ ख १२५३ नम्बरको टिपर रुपन्देहीको बेथरी क्षेत्रबाट भन्सार कार्यालयले नियन्त्रणमा लियो। साथै चोरी पैठारी अभियोगमा टिपर चालक सञ्जित हरिजन र संलग्न दीपक पत्थकरट्टलाई पक्राउ गर्‍यो।

घटना ३ : २०८१ भदौ १३ गते भारतबाट भन्सार छलेर भित्र्याइएको साढे १० टन (२१० बोरा) चिनी लु २ ख २८३६ नम्बरको ट्रकमा पोखरा लैजाने क्रममा मायादेवी गाउँपालिकाको झुलनीपुरबाट भन्सार कार्यालयले नियन्त्रणमा लियो। साथै, ट्रक चालक शिवकुमार यादवलाई पनि पक्राउ गर्‍यो। 


यी प्रतिनिधिमूलक घटनाहरू मात्र हुन्। पछिल्लो समय भैरहवा भन्सार कार्यालयले चोरी पैठारी गरेर भित्र्याइएका विभिन्न सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आ–आफ्नै तरिकाले नियन्त्रणमा लागेका छन्। तर, भैरहवा भन्सार वर्षौंपछि सक्रिय भएको देखिएको छ। भैरहवा भन्सार निरन्तर फिल्डमै खटिएर ठूला परिमाणमा धमाधम सामग्री नियन्त्रण लिइरहेको सम्भवतः पहिलो पटक हो। 

‘हामीलाई सूचना आइरहेको छ, त्यसअनुसार भण्डारण गरेको देखि लिएर देशका विभिन्न सहरमा लैजान लागेको अवस्थामा भन्सार छलेर भित्र्याइएका विभिन्न सामग्री नियन्त्रण लिइरहेका छौं’, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने, ‘चाडपर्वमा कालोबजारी, कृत्रिम अभाव, जम्माखोरीसमेत गर्नका अहिले तस्करले लुकिछिपी चिनी, कपडालगायत सामग्री भित्र्याइरहेको पाइएको छ। जसअनुसार हामीले तस्करी गरेर भित्र्याइएको ती सामग्रीहरू नियन्त्रणमा लिइरहेका छौं।’ 

पछिल्लो एक सातामा मात्र देशका विभिन्न सहरमा लैजान लागिएका ३ ट्रकसहित ३३ हजार किलो चिनी कार्यालयले बरामद गरेको छ। भन्सारले दैनिकजसो गोदाममा छापा मार्ने र अन्य सहरमा लैजान बेलामा गाडीसहितका सामग्री नियन्त्रणमा लिइरहेको छ। ‘भन्सार छली नियन्त्रणका लागि सूचना आवश्यक हुन्छ’, उनले भने, ‘दिउँसो कार्यालयमा र तस्करी हुने समय राति हामी फिल्डमा खटिएर काम गर्दा परिणाम देखिँदैछ।’ उनले प्राप्त सूचनालाई गम्भीरताका साथ लिएर कारबाही गर्दा सूचकहरूको विश्वास जितेर काम गर्दा सूचनाहरू प्राप्त भइरहेको बताए।

सुराकीलाई पुरस्कारको व्यवस्था रहे पनि सामग्री नियन्त्रणका लागि पूर्वसूचना संकलन गर्न बजेट नभएको अवस्थामा पनि भन्सार छली नियन्त्रणतर्फ कार्यसम्पादन गरिरहेको उनको भनाइ छ। कार्यालयका अनुसार पछिल्लो साढे दस महिना (कात्तिक १ गतेदेखि भदौ १५) मा भन्सार कार्यालयले ४ करोड ५ लाख ३३ हजार बढी मूल्यबराबरको कपडा, चिनी, मटर, सुर्ती, टुथ पेस्ट, प्याज, हुक्का फ्लेवर, चुरोटलगायत विभिन्न सामग्री बरामद भएको छ। साथै, भन्सार छलीका सामग्री ढुवानीमा प्रयोग भएका २ करोड ३४ लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको ट्रक, पिकअप, कार, मोटरसाइकललगायतका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ भने चोरी पैठारी अभियोगमा ८ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। 

‘फिल्डमा पुग्दा सूचना दिने सूचक सम्पर्कविहीन हुने गर्दा कयौं पटक हामी खाली हात फर्किएका छौं,’ उनले भने, ‘तर, पनि फिल्डमा खटिरहँदा भन्सार छली नियन्त्रण गरिरहेका छौं।’ भन्सार छलीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न थालिएपछि केहीले तस्करी छाडेका छन् भने केही खोजीको सूचीमा रहेकोले क्षेत्रबाट फरार रहेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.