'यसकारण मैले आफ्नै छोरीहरूलाई विष खुवाएँ'

'यसकारण मैले आफ्नै छोरीहरूलाई विष खुवाएँ'
२ नाबालिका छोरीको हत्यामा संलग्न अस्मितालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको यकिन भएको छ।  

सुन्दरहरैँचा-७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरू १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला परेका थिए। उनीहरूलाई आमा अस्मिता पौडेल (कार्की)ले विष खुवाएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। 

छोरीहरू मृत फेला परे पनि आमा अस्मिता भेटिएकी थिइनन्। घटनापछि फरार बनेकी उनलाई झापाको बिर्तामोड नगरपालिका-५ पूर्व-पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला बुधबार बिहान ४:३० बजेतिर फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा भेटिएकी अस्मितालाई विराटनगर ल्याएर उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ। 

नाबालिकाको शव भेटिएपछि घटनास्थल पुगेर एसपी कार्की आफैं अनुसन्धानमा खटिएका थिए। अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट ४ दिन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी कार्कीले दिए। ‘घटनाको ५ दिनपछि अस्मितालाई सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको हो। शारीरिक अवस्था निक्कै कमजोर छ,’ उनले भने, ‘उपचारका लागि अस्पताल भर्ना गरिएको छ। ज्यान मुद्दामा अनुसन्धान पनि अघि बढ्यो।’ 

अस्मिताले सँगै लिएर गएका २ नाबालिका छोरी मृत फेला परेपनि स्थानीय र प्रहरीले निरन्तर खोजी गर्दासमेत उनी भेटिएकी थिइनन्। अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका-५ घर भइ सुन्दरहरैँचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन्। आइङ्का र अपर्णा अस्मिता एवं अर्जुनका छोरीहरू हुन्। 

आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी अस्मिताले त्यही रात विष खुवाएर दुवै जनालाई मारेपछि आफू फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पति अर्जुनले बताएका थिए। 

अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरूको शवनजिकै फेला परेको थियो। ‘विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिएको पाइयो। भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगेको खुल्यो,’ बस्नेतले भने, ‘बिर्तामोडमा यतिका दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको भन्ने कुरा छ। मंगलबार राति चाहिँ १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको जानकारी आएको थियो।’

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मिता फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ। अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन्। 

‘मलाई पतिले धेरै तनाव दिन्थे। ‘मारेर गाड्छु’ भन्न थाले। ‘टर्चर’ सहन सकिनँ,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे। मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ। छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन।’ सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चाहिँ मर्छु होला भनेर छोरीहरूलाई समेत खुवाएको अस्मिताले बताएकी छन्। 

आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन्। ‘सुरुमा मैले विष खाएँ। त्यसपछि छोरीहरूलाई खुवाएँ। उनीहरू मरे। तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन। घरमा कहिल्यै मेलमिलाप भएन। मलाई लामो समयदेखि ‘टर्चर’ थियो। सहन सकिनँ।’ उनको भनाइ अनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो। 

तर, अस्मिता आफूले चाहिँ विष खाइन् कि खाइनन् भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने एसपी कार्कीले बताए। भने, ‘शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ। तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ। परीक्षणको प्रक्रिया अघि बढाइसकिएको छ।’  

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ। बाबु अर्जुन उनीहरूको काजकिरियामा छन्। केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो। 

नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो। त्यही ‘मेटासिट’ खुवाएर अस्मिताले नाबालिका छोरीहरूको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो। अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.