सत्ता बहिर्गमनको पीडा : सरकारविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिँदै प्रचण्ड

सत्ता बहिर्गमनको पीडा : सरकारविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिँदै प्रचण्ड
सुन्नुहोस्

जब–जब ‘प्रचण्ड’ कमजोर हुन्छन्, सत्ताबाट हट्छन्, तब—तब उनले ‘उथलपुथल’ को वाण चलाउँछन् । कहिले कुनै पार्टी फुटाउँछन् त कहिले शक्ति आर्जन गर्न गठबन्धन फेर्छन् ।

काठमाडौं : माओवादी केन्द्र सरकारमा होस् या प्रतिपक्षमा, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्दोलनकै भाषा बोल्छन् । यतिखेर भने सत्ता गठबन्धनविरुद्ध माओवादीले आन्दोलनको तयारी गरिरहेको छ । सत्ताबाट बाहिरएको छटपटीमा ‘प्रचण्ड’ छन् ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित बैठकमा ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भइरहेकाले आरोप लगाउँदै त्यसको सशक्त प्रतिकार गर्ने बताए । केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक भएको थियो । जहाँ उठेका जिज्ञासाको जवाफ दिँदै ‘प्रचण्ड’ले सडक र सदनबाट आन्दोलन चर्काउने बताए ।

जब–जब ‘प्रचण्ड’ कमजोर हुन्छन्, सत्ताबाट हट्छन्, तब—तब उनले ‘उथलपुथल’ को वाण चलाउँछन् । कहिले कुनै पार्टी फुटाउँछन् त कहिले शक्ति आर्जन गर्न गठबन्धन फेर्छन् । यसपल्ट भने त्यो ‘उथलपुथल’को तीरको वाणलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सशक्त प्रतिरोध गरे । अनि असार २८ गते ढल्यो प्रचण्ड नेतृत्वको सरकार । अनि बन्यो, ओलीको नेतृत्वमा नयाँ सरकार । कांग्रेसले साथ दियो ।

अहिले सबै ‘कार्ड फेल’ हुँदै गएपछि फेरि शक्ति आर्जन गर्न प्रचण्ड योजना बुनिरहेका छन् ।

सत्ताबाट बहिर्गमन भएपछि ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई त्रर्साउँदै संसद्को रोष्टमबाट अर्को बोली बोले, ‘दुई तीहाईको दम्भ देखायो भने बंगलादेश र श्रीलंकाको हाल हुन्छ ।’ उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएको आरोप पनि प्रचण्डले खेपेका थिए ।

पार्टी कमजोर भएपछि कांग्रेससहितको गठबन्धन बनाएर ३२ सिट जितेका थिए । त्यसैलाई उपयोग गर्दै कहिले कांग्रेसको साथमा त कहिले एमालेको वैशाखी टेकेर प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री पनि बन्न सफल भए । तर, अहिले सबै ‘कार्ड फेल’ हुँदै गएपछि फेरि शक्ति आर्जन गर्न प्रचण्ड योजना बुनिरहेका छन् । एकातिर एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी एकता गर्न फकाइरहेका छन् भने अर्कोतिर सत्ता बार्गेनिङका लागि जनताको साथ लिन सडक आन्दोलन गर्ने तरखरमा ।

प्रचण्डले बुधबार पार्टी मुख्यालयको पार्टी बैठकमा भने, ‘जुनसुकै बेला पनि सडक आन्दोलन हुन्छ । तयार भएर रहनुस् ।’ पश्चिम नेपालका प्रदेशहरूमा पार्टीको बैठकहरू सकेर उनी काठमाडौं फर्किएका छन् । त्यसलगतै सत्ता गठबन्धविरुद्ध प्रचण्डले सडक आन्दोलन गर्ने मुडमा पुगेका छन् ।

‘दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको छ । संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्न तयार रहनुस्’, बैठकमा प्रचण्डले भने, ‘वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम सुरु गरेको छ ।’

यता प्रचण्डले सरकारविरुद्ध अफवाह फैलाइरहेको एमाले पार्टीको बैठकले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताएका छन् ।

मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा उनले श्रीलंका र बंगलादेश हुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । ‘माओवादी अध्यक्ष प्रचण्डले नेपाल पनि श्रीलंका र बंगलादेश बन्ने अभिव्यक्ति दिँदै आएका छन्’, ओलीले पार्टी बैठकमा भने, ‘माओवादीको जारी परामर्श बैठकमा प्रचण्डले कांग्रेस–एमाले गठबन्धनप्रति शंका व्यक्त गर्दै उक्त अभिव्यक्ति दिइरहेका छन् ।’

सत्ता गठबन्धनलाई कमजोर बनाउन माओवादीले सडकदेखि सदनसम्म प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनका लागि अन्य प्रतिपक्षी दलहरूलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

पार्टीले सडक आन्दोलनको पनि तयारी गरिरहेको उनले पुष्टि गरे । ‘सरकारले भ्रष्टाचारका फाइलहरू बन्द गरिरहेका छन् । लोकतन्त्रको सवालमा दुई दलीय सरकार त्यति इमान्दार देखिएन’, माओवादीमा उपाध्यक्षसमेत रहेको सापकोटाले भने, ‘फेरि जनजीविकाको सवालमा पनि केपी ओली सरकार त्यति इमान्दार र गम्भीर देखिएन । यसकारण जनतामा असन्तुष्टि बढ्दै छ ।’

संविधान संशोधनमार्फत कांग्रेस र एमालेले आन्दोलनबाट प्राप्त उपलब्धिहरू खोस्ने योजना बनाएकाले त्यसको प्रतिवाद गर्ने उपाध्यक्ष सापकोटाले बताए ।‘जनताले ठूलो बलिदान दिएर प्राप्त गरेको हकअधिकार खोस्ने कोसिस नगरोस् । त्यसलाई अझ विकास गरौं’, उनले भने, ‘अग्रगमन र परिवर्तन तिर जाने विकास गर्ने कुरा तयार छौं । तर, खोस्ने तिर गयो भने सडक, सदनमा जमेर प्रतिकार गर्छौ । हामी त्यसको तयारी गरिरहेका छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.