राष्ट्रपति पौडेलसँग फेम्बोसाका प्रमुख निर्वाचन आयुक्तको शिष्टाचार भेट
काठमाडौं : दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको सम्मेलनका लागि नेपाल आएका प्रमुख निर्वाचन आयुक्तहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टचार भेट गरेका छन्। शितल निवासमा फेम्बोसाको १२ औं सम्मेलनमा काठमाडौं आएकाका प्रमुख निर्वाचन आयुक्तहरूले आज संयुक्त भेट गरेका हुन्।
भेटमा राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच स्थापित गर्नका लागि निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताएका हुन्। उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच यसैबाट स्थापित हुने बताए।
उनले भने,‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शीर विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु।’
भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले फेम्बोसा १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। भिष्टाचार भेटमा भारत, पाकिस्तान, बङ्गलादेश, मालदिभ्सलगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
फेम्बोसाको १२ औँ सम्मेलनको उद्घाटनसत्रमा बुधबार भुटानका निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरेका थिए। दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को अध्यक्षता नेपालले पाएको हो।