तीजका विकृति हटाऔं, आस्था जगाऔं
आजको लोकतान्त्रिक युगमा हरेक पक्षमा आएको परिवर्तनले तीज मनाउने चालचलन र प्रक्रिया परिवर्तन हुनु स्वाभाविक छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले भदौ १६ गते आनो सभाकक्षमा ‘बदलिँदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता’ विषयक कार्यक्रम आयोजित गरेको थियो। कार्यक्रममा वक्ताहरूले तीज संस्कृतिलाई विकृत बनाएर होइन, सुसंस्कृत ढंगले मनाउनुका विकल्प नभएको निष्कर्ष निकालेको थियो।
यस्तै थापागाउँको राधाकृष्ण मन्दिर सत्संग समितिले भदौ १४ गते को तीजका दरको कार्यक्रम गरेको थियो। सभ्य र शालीन ढंगले गरेको यस कार्यक्रमबाट प्राप्त सहयोग राशिका उपयोग राधाकृष्ण मन्दिरको पूजाकार्यमा गर्ने, समितिका अध्यक्षले बताए। यो प्रसंग यसको लागि उद्धृृत गरिएको छ कि तीजको दरको कार्यक्रम यसरी सार्थक बनाउनुपर्छ।
केही दिनअगाडि जिल्ला प्रशासन कार्यालयले एउटा विज्ञप्ति जारी गरेको थियो। तसथै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवद्र्घन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भडकला कार्यक्रम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध गरेको थियो । नत कानुनबमोजिम कारबाही हुने जानकारी गराएको थियो। यस्तो विज्ञप्ति जारी गर्नको पछाडि तीजको दरको कार्यक्रममा महिलाहरू भडकलो पहिरनमा भारी गरगहना लगाएर पार्टी प्यालेस तथा रेस्टुरेन्टमा पुग्ने र ठूलो स्वरमा देशी–विदेशी अश्लील र भडकलो स्वरको गीतसंगीतमा नाच्ने गाउने गर्छन् जसले समाजको वातावरणमा नकारात्मक असर पर्छ। यो सत्य हो कि आजकल तीजको दर खाने–खुवाउनेका नाममा विभिन्न विकृति भित्रिएको छ।
पहिलेपहिले दरका रूपमा मिठाई, खिर तथा दूधले बनेका परिकारको चलन थियो भने हिजोआज बढी माछा–मासुको प्रयोग हुन थालेको पाइन्छ। सहरी क्षेत्रमा तीज आउनु महिना दिन दिनअगाडि नै महिलामा दर खुवाउन चन्दा माग्ने र टिकट बेची रकम असुल्नेहरूको प्रतिस्पर्धा देखिन्छ। रेस्टुरेन्ट, पार्टी प्यालेसमा भव्यरूपमा तीजको दर खाने व्यवस्था हुन्छ। यसरी आयोजना गरिएका कार्यक्रमहरूमा धार्मिक भावनाले ओतप्रोत भई आपसी सद्भाव र पे्रम बाँड्दा राम्रो हुन्छ । तर दिदीबहिनीहरू एकै ठाउँमा जुटेर मनका भावना एवं सुखदुःख साटासाट गर्ने र दर खाने चलनले यतिखेर सामाजिक विकृतिको रूप धारण गरेको छ।
स्पष्ट छ तीज मनोरञ्जन प्रदर्शन गर्ने साधन बनिरहेको छ। यस्तो स्थितिमा सहरी क्षेत्रमा उच्च वर्गले आफ्नो धर्म–संस्कृति र परम्परालाई आधुनिकता दिने नाममा खाली नाचगान र खानेकुरामा मात्र केन्द्रित हुन खोज्छन्। विस्तारै ग्रामीण भेगका महिलालाई पनि त्यसको हावाले छुन थाल्छ।
तीज प्रत्येक वर्ष भाद्र शुक्लपक्ष तृतीयाको दिन उपवास बसेर उल्लासपूर्वक मनाइने पवित्र चाड हो। पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि यो चाडको सुरुवात भएको मान्यता छ। शिवजीलाई पतिका रूपमा पाएपछि उनले सो कार्यमा सहयोग पुर्याउने संगिनीहरूलाई भेला गरी नाचगान गरी भोज खुवाएकी थिइन् र सोही धार्मिक विश्वासअनुसार हिन्दु धर्मालम्बी महिलाहरू तीज व्रत बस्छन र तीजका दरमा गीत गाउने, नाच्ने र विभिन्न परिकार बाँडीचुँडी खाने गर्दछन्। पार्वतीलाई संगिनीहरूले हरण गरी लगेकाले त्यस दिनलाई ‘हरितालिका’ भनिएको हो। तर अहिले यो पर्वको हरिबिजोग गराइन थालिएको छ।
पहाडी क्षेत्रभन्दा तराईमा तीजको स्वरूप र मनाउने तरिका भिन्न छ। पहाडी क्षेत्रमा तीज विवाहित र अविवाहित सबै महिला र युवतीले मनाउँछन्। तर तराई क्षेत्रमा मात्र विवाहित महिलाहरू आफ्नो विवाहित जीवनको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। तर दर खाने–खुवाउने चलन छैन। व्रत बस्नका लागि नवविवाहिताहरू माइती जाने गर्दछन्। माइतीबाट भाइहरू, ससुरालीका सदस्यहरूलाई लगाइदिनका लागि गरगहना, साडी, लुगा र खाने सामग्रीहरू फलफूल, मिठाई, दही लिएर आउनुपर्छ। व्रतालुका लागि नयाँ साडी लगाउनु अनिवार्य छ तर रातो रंग जरुरी छैन। तीजमा लगाइने चुरा र निधारमा लगाइने सिन्दूर बिहेमा दिइएको लगाउनुपर्छ। भाद्र द्वितीयाको राति ३ बजे उठी हरेक व्रतालुको सरगही अर्थात् दहीचिउरा खाने गरिन्छ।
पहाडी क्षेत्रका महिलामा तीजको व्रतमा शिव मन्दिरहरूमा गएर दिनभर पूजा, नाचगान गर्ने चलन छ। तराई क्षेत्रमा भने पण्डित पुरोहितलाई घरमा बोलाएर बालुवाको शिव पार्वतीको प्रतिमा बनाएर पूजा गरिन्छ। पूजामा फलफूलसँग पिडिकिया (सुजी मैदाको परिकार) र ठेकुआ पकाएर चढाउँछन्। भगवान् शिव–पार्वतीको बिहेको कथा पण्डित सुनाउँछन्। पछि शिव–पार्वतीसम्बन्धी लोकगीत गाउँछन्। रातमा पूजा गरिसकेपछि व्रतालुहरूले जाग्राम बसी भोलिपल्ट दानपुण्य गरी समग्र पूजाको सामग्री र बालुवाको शिव–पार्वतीको प्रतिमा नदीमा बगाएपछि अन्न, जल आदि खाने गर्दछन्। तत्पश्चात् आफन्त र रिस्तेदारहरूको निम्ता दिएर प्रसाद र मीठो खानेकुरा खुवाउँछन्। तराईमा यस्तो पूजाको विधान छ। ब्राह्मण समुदायका महिला तीज मनाउँदैनन्। कायस्थ, क्षत्रीय र वैश्व समाजमा बिहे भएपछि अनिवार्य रूपमा यो व्रत बस्नुपर्छ।
आज राजधानी र पहाडी क्षेत्रमा जसरी तीजको दरको कार्यक्रममा महिलाहरू भडकलो पहिरनमा भारी गरगहना लगाएर पार्टी प्यालेस तथा रेस्टुरेन्टमा पुग्ने र ठूलो स्वरमा देशी–विदेशी अश्लील र भडकलो स्वरको गीत–संगीतमा नाच्ने गाउने गर्छन् तराई भेगका महिलालाई पनि त्यसको हावाले छुन थालेको छ। अर्काको देखासेखीका आधारमा पर्व परिष्कृत हुँदैन।
प्रायः तीजमा स्त्री निर्जला, निराहार व्रत बसेका हुन्छन् भने पति मद्यपान र मासु खान्छन् । स्पष्ट छ– जसको दीर्घायुको वा राम्रो पति पाऊँ भन्ने कामना गरेर महिलाहरू व्रत बस्ने गर्छन्। तर उनीहरूमध्ये अधिकांश यसको महत्त्व नबुझेर या जानी–जानी यस्तो विकृति अपनाउँछन्। पुरुषहरूलाई पनि स्वस्थ रहनको लागि निराहार व्रत बस्न उचित हुन्छ किनकि रिसर्चमा पनि आएको छ कि निराहार बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ। त्यसैले यसको लागि उनीहरूलाई पे्ररित गर्नुपर्छ।
आजको लोकतान्त्रिक युगमा हरेक पक्षमा आएको परिवर्तनले तीज मनाउने चालचलन र प्रक्रिया परिवर्तन हुनु स्वाभाविक छ। व्रतको नाममा फैलिएको विकृित हटाएर विविध समस्या निराकरण गरी यस पर्वलाई माया, ममता, आस्था, आदर, सम्मानको चाड बनाउनुपर्छ।