आत्मकथा बेच्दै महावीर वीरगन्जमा

आत्मकथा बेच्दै महावीर वीरगन्जमा
सुन्नुहोस्

वीरगन्ज : २१ वर्षअघि बन्द गरिएको वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आर्थिक श्रोत जुटाउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन वीरगन्ज आइपुगेका छन्। पुन आफ्नो आत्मकथा लेखिएको पुस्तक बेच्ने देश दौडाहा अभियानमा छन्।

बिहीबार बिहान वीरगन्जको व्यस्त चोक घण्टाघरमा आफूले लेखेको किताब बेच्दै गरेको अवस्थामा भेटिएका पुनले भने, ‘अहिलेसम्म १ लाख ३० हजार बढी थान यो किताब बेचिसकेको छु। त्यसबाट ९ करोड ७५ लाख रुपैयाँ जम्मा पनि भइसकेको छ।’

३ लाख थान किताब बेच्ने लक्ष्य राखेका पुनले भने, ‘अहिलेसम्म ३४ जिल्ला पुगेर किताब बेचिसकेको छु। अब ४३ जिल्लामा पुग्न बाँकी छ। ३ लाख किताब बेच्न सकियो भने साढे २२ करोड रुपैयाँ जम्मा हुन्छ। त्यतिले कृषि औजार कारखाना मज्जाले फेरि पहिलेकै जस्तै चल्छ।’

२०८० पुष २३ मा बैतडीबाट किताब बेच्ने अभियान सुरु गरेका पुनले अहिलेसम्म पुगेको हरेक जिल्लामा मानिसले स्वःस्फूर्त रूपमा आफ्नो किताब किन्ने गरेको बताए। उनले भने, ‘सबैभन्दा बढी मेरो यो किताब रुपन्देही जिल्लामा १७ हजार थान बिक्री भयो। आशा छ ५/६ दिनको वीरगन्ज बसाईमा त्यो रेकर्ड वीरगन्जले तोड्नेछ।’

सोभियत संघ रुसको सहयोगमा २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्ण रूपमा बन्द गरिदिएको थियो। दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउन भन्दै सरकारले २०७९ भदौं ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्‍यो।

त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ गते सम्झौता भयो। उक्त सम्झौता पत्रमा कारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो। 

कारखाना पुनः सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मत सम्भार गरी पुन सञ्चालनमा ल्याउन ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियो।

तर अर्थ मन्त्रालयले आवश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आफैं अगाडि सर्दै आफ्नो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुसदेखि देश दौडाहा अभियान सुरु गरेका हुन्। 

अध्यक्ष पुनले अहिलेसम्म कारखानाको मर्मत सम्भारमा आविष्कार केन्द्रको झण्डै साढे २ करोड रुपैयाँ खर्च भइसकेको जानकारी पनि गराए।

आविष्कार केन्द्रले कारखाना जिम्मा लिएको २३ महिनामा कारखानामा रहेका पुराना उपकरण र मेशिनहरू मर्मत सम्भार गरेर हालसम्म १० किसिमका कृषि औजारहरू परीक्षणका रूपमा उत्पादन पनि गरिसकेको पुनले बताए। 

धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन उत्पादन गरिएको उनले बताए।

आविष्कार केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.