संसद भवन निर्माणमा ढिलाइ भएपछि सभामुख असन्तुष्ट
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन्।
बिहीबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले तोकिएको समयमा संसद भवन निर्माण हुनसक्ने नदेखिएको भन्दै निर्माणको कार्यप्रति असन्तुष्टि जनाएका हुन्।
सभामुख घिमिरे, उपसभामुख, विभिन्न दलका प्रमुख सचेतकहरूले संयुक्तरूपमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका थिए। सभामुख घिमिरेले निर्धारित चैत १० गतेसम्मको समयमा संसद भवनको निर्माण सम्पन्न हुने नदेखिएको बताए।
संसद भवनको निर्माण कार्य हेर्दा सम्पन्न हुँदा झनै डेड वर्ष लाग्ने देखिएको उनको भनाइ छ। सभामुख घिमिरेले भवनको निर्माणको काम छिटो सम्पन्न गरेर कामकारबाहीहरू नयाँ भवनबाट गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि प्रतिकुलताका कारण निर्माण कम्पनीलाई काम गर्न कठिन देखिएको बताए।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवनमा १२ वटा भवन निर्माण गर्ने गरी चार वर्ष अघि सम्झौता गरेपनि समयमा नै कार्यसम्पन्न हुन नसकेको बताए। उनले पछिल्लो पटक चैत १० गतेसम्म थप गरिएको म्यादभित्रै काम गर्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिएको जिकिर गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ।