तीजमा उठेका प्रश्नहरू
नेपाली महिलाहरूको मौलिक पर्व, तीज। संस्कृतिभित्र विकृति देखिएपछि प्रश्नहरू धेरै आउन थालेका छन्, केही वर्षदेखि। तीज लामो भयो र मौलिकता पनि गुमायो। पार्टी प्यालेस कहिलेसम्म माइती बन्छ नेपाली दिदीबहिनीका लागि ? सकिएला धान्न ? कम्मर मर्काई—मर्काई बाबु, दाजुभाइकै घर आँगनीमा नाचिनुपर्ने हो। तर देश गरिबीको पिडामा छ र महिला पुरुषहरू धेरै या मलेसियामा छन् वा खाडीमा। युरोप, अमेरिकामा पनि होलान्, यत्ति हो गाउँ, घर खालि, सहरियाहरू मन्दिर गएर दिन बिताउनु परेको छ। आयआर्जन वा रोजगारी छैन, छ त सामाजिक सञ्जालको रोजगारी।
बाबुको मुख हेर्ने पर्व कुशेऔंसी सकिनासाथ हिन्दुु नारीको एकलौटी पर्व तीज विशेष सुरु हुनुपर्ने हो। तीज पर्वलाई ‘हरितालिका’ भनिन्छ, जुन यसपालि भदौ २१ मा छ, तर धेरै समयअघिदेखि नै दर खाइयो, दर दरिलो वस्तु हो र तीजमा व्रत बस्ने अघिल्लो रात्रिमा खाने हो। पर्वतराज हिमालय र मेनका पुत्री पार्वतीले शिवसँग बिहे गर्ने इच्छाले निष्ठापूर्वक हरितालिका व्रत बसेर सो उद्देश्य पूरा गर्न अघिल्लो दिन तीन अञ्जुली पानी पिएर दर खाएकी थिइन्, जसको कारण तीज आरम्भ भयो। त्यसको मौलिकता सकिने गरी हिजोआज काम भइरहेको छ।
एकान्तस्थलमा गई शिवको प्रार्थना गरेको कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका को अर्थमा यस दिनलाई हरितालिका भनिएकोे कुरा भविष्यपुराणमा वर्णित छ। भाद्रशुक्ल तृतीया नै तीज वा हरितालिका हो, अन्य दिन भोजभतेर मात्र हुन्छ, आहार पनि सात्विक हुनुपर्छ, हिजोआज धेरै विकृति देखियो आहारमा पनि, यो हाम्रो संस्कृतिविरुद्ध छ।
यस पर्वभरि प्रायशः विवाहित स्त्रीहरू माइतीघरमा बसेर पूर्ण स्वतन्त्र रूपमा तीजपर्व मनाउने गरिनुपर्ने हो। छोरीहरूलाई तीज विशेषमा दाजुभाइले माइतीमा विशेष निम्ता गर्ने चलन छ। बाबुको मुख हेरेपछि तीजको निम्तो लिने हो। वर्षभरिका दुःख, कष्टलाई बिर्सेर हँसी, ठट्यौली गर्दै श्री शिवको अनुष्ठान गर्दै मनाइने पर्व तीजमा रसिला, मीठो र व्यंग्यात्मक गीतहरू गाउने, नृत्य गर्ने पनि चलन हो। तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने हो, साँझ साथीहरूसाथ बालुवाको शिवलिंग बनाई महादेव–पार्वतीको पूजा गर्ने हो।
दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिंगमा उमामहेश्वरको पूजा गर्ने, सके षोडशोपचारविधिले, नसके यथाशक्ति यथाभक्तिले। तीजका दिन रंगीन, सौभाग्यका कपडाहरूले सजिने हो, ठाँटिएर देवस्थल शिवमन्दिरमा जाने हो। पशुपतिनाथ मन्दिर, कुम्भेश्वर, गोकर्णेश्वर त्यसैका लागि तय भएका हुन्, काठमाडौं उपत्यका बाहिर पनि यत्रतत्र मठ, मन्दिरहरू बनेका छन्। तीजको व्रतले पतिको दीर्घायु, परिवारको कल्याण र आफ्नै पनि सुख, समृद्धिको आशीष मिल्नेछ। यसको चलन आज होइन पौराणिक कालदेखि सुरु भएको हो, बीज तŒवलाई मर्न दिनु हुँदैन।
तीजको पूर्णता चौथीमा अगस्त्य र लोपामुद्रालाई अर्घ दिएर, चौथीकै दिन गणेश जयन्तीको विशेष उपासना गरेर र पञ्चमीका दिन विशेष स्नान गरी सप्तर्षिको पूजा र कथा श्रवणबाट हुन्छ। भाद्र शुक्ल चतुर्थी श्रीगणेशको धर्ती अवतरित दिन हो। सती अरुन्धतीसहित सप्तर्षिहरू कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूको विशेष व्रत उपासाना, दर्शन पूजन गरिने हुनाले तीज समापनको दिनलाई ऋषिपञ्चमी भनिएको हो। काठमाडौंको टेकुस्थित सप्तर्षिथानमा सो दिन पाइला राख्ने ठाउँ हुन्न, व्रतालुहरू ओइरिएरै त्यहाँ पुग्छन्, नाच, गान त भव्य नै हुन्छ।
प्रकृतिको विधान छ, नारीधर्म, रजस्वला भनौं मासिक धर्म। सिर्जनालाई निरन्तरता राख्न निश्चित विधानहरू तोकेको छ, धर्मशास्त्रले र त यस्तो अधिकार केवल महिलामा मात्र छ। अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रवाट झिकी विभिन्न चार स्थानमा राखियो, नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा।
नारी रजस्वलाका समयमा स्पर्श दोष लाग्ने भयो, पानीको पहिलो छालमा नुहाउन नहुने, अग्लो भागमा अक्सिजन नहुने, आगोको पहिलो ज्वालामा खाना पकाउन नहुने कारण यसैले गर्दा हो। रजस्वलाको समय खाद्यान्न सामग्रीहरूबाट पर रहनुपर्ने र चार दिनमा स्नान गरेपछि मासिकधर्म दोष निवारण हुने कुरा शास्त्रमा वर्णित छ। नारी रजस्वलाले रक्त शुद्धि गराउने हुन्छ। रजस्वलाको चार दिनपछिको जोर रात्रिको सम्भोगले पुत्र र बिजोर रात्रिले पुत्री पैदा हुन्छन्, यो क्रम १६ दिनसम्म मात्र जारी रहन्छ र सन्तानोत्पादनका लागि अर्को मासिक धर्म आवश्यक पर्छ। हिजोआज टेस्टट्युब बेबीका लागि यो नमिल्न सक्छ।
स्त्रीहरूको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरूको पूजा, कथा श्रवण गर्नुपर्ने हुन्छ। पूजा गर्नुअघि नदीमा गई विशेष स्नान गर्ने, वर्षभरिका अशुद्धिहरू हटाउन ३ सय ६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ। मन्दिर जान नसक्नेले घरमै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन्। नारीजातिमा प्रतिमास देखा पर्ने रजोधर्ममा ब्रह्महत्या दोष रहने र त्यसको निवृतिहेतु ऋषिहरूको दर्शन, पूजा गर्नुपर्ने हुन्छ। मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन, जनैपूर्णिमामा सप्तर्षि पूजा गर्छन् पुरुषहरूले र नारीहरूले तीजमा। नारीहरूको गलामा ब्रह्सूत्र हुन्न र त्यसको विकल्प भनेको तीजको सप्तर्षि पूजा नै हो।
माता अरुन्धतीले ब्रह्मसूत्र खोज्नु भएन र उहाँकै नाममा सौभाग्य अर्पण गरिन्छ, ऋषिपञ्चमीको पूजा गर्दा। ऋषिपञ्चमी व्रतीले यसदिन एक छाक खाने, नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदिले हविष्यान्न भोजन गर्नुपर्छ। महिनावारी भएका बखत अञ्जानमा भएका त्रुटिहरूको प्रायश्चित गर्ने एकमात्र सरल उपाय हो यो। यसले तेज वृद्धि हुने, दीर्घायु, निरोगीे र पूर्ण सौभाग्यवती गराउँछ। तीज आफैं भडकलो भएको होइन, बनाइएको हो। हाम्रा दिदीबहिनीहरू हुने खाने मात्र होइन हुँदा खाने पनि छन्, सुनको भाउ के छ ? कपडाको भाउ के छ सबै हेर्नु जरुरी छ।
भडकलो हुँदा समाजलाई नै असहज हुन्छ। मौलिकपना हराउँदै जान लागेकोमा धर्म संस्कृति र संस्कारविद्हरू चिन्ता प्रकट गर्दैछन्। एक, दुई महिनाअघिदेखि भडकलो रूपमा दर खाने चलन चल्यो। चाडवाडको दिन आफू खुसी गर्नु स्वाभाविक हुन सक्छ, परन्तु आफ्नो धर्म, संस्कृति, संस्कार विपरीत आर्थिक रूपमा ढाडै सेक्नु राम्रो हुन्न। कतिपय स्थानीय प्रशासनहरूले सूचना जारी गरेरै यस्ता कार्यमा ध्यानाकर्षण पनि गराएका छन् तर पालन भएको छैन। गीतका उच्च स्वरले ध्वनि प्रदूषण हुन्छ, खानपानमा ध्यान नदिँदा रोग लाग्छ।