त्यो तीज, यो तीज

त्यो तीज, यो तीज
गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेमा तीज गीतमा नाँच्दै स्थानीय महिला दिदीबहिनीहरू। तस्बिर : गंगा खड्का
सुन्नुहोस्

बुटवल : आज नेपाली महिलाहरूको महानपर्व तीज। महिला दिदीबहिनीका लागि वर्षदिनको दुःख, सुख साटासाट गर्ने पर्व पनि हो, तीज। यही पर्वले सबै नारीहरूलाई बिर्सिएका मन र मुटुलाई पनि जोड्ने गर्छ। छरिएर रहेका दिदीबहिनीहरूलाई वर्षदिनमा जुटाउने गर्छ। हिन्दु महिलाहरूको महान पर्व तीज सहर बजार मात्र होइन्, अझ बेग्लै रौनक गाउँमा छाउने गर्छ। 

फेरिँदो सूचना र प्रविधिले तीज पर्वलाई मौलिकतामा भन्दा आधुनिकतामा ढाल्दै गएको देखिन्छ। तीजलाई आधुनिकताले धेरै कब्जा गरिसक्यो। चारैतिर दिदीबहिनीहरूले गीत गाउने र बीचमा दाजुभाइले मादल बजाएर छमछमी नाँच्ने त्यो चलन अहिले विस्तारै हराउँदै गएको गाउँका बुढापाकाहरू सुनाउँछन्। 

‘हाम्रो पालाको जस्तो तीज अहिले छैन’, बुटवल उपमहानगरपालिका ११ देवीनगरमा बस्दै आएकी गुल्मीकी ५० वर्षीय पार्वती खड्काले भनिन्, ‘मौलिक तीजमा बर्सेनि ह्रास आउँदै आएको छ। यसको जगेर्नामा सबैले चासो दिनुपर्छ। ’ मौलिकपनको तीजले जति आनन्द दिन्छ त्यसलाई आधुनिक तीजले दिन नसक्ने उनको बुझाइ छ। 

संघीय संसद्मा गुल्मीका सांसद् चन्द्र भण्डारीले झन्डै दुई मिनेट यस वर्षको तीज पर्व र भित्रिएका तीज गीतलाई लक्षित गरेर आफ्नो धारणा राखे। उनको धारणा अहिले सामाजिक सञ्जालमा भाइरल छ। मौलिक तीज गीत र सबै नारीहरूको सम्मानमा उनले आफ्नो विचार व्यक्त गरेका थिए। 

भण्डारीले संसद्मा भनेका छन्, ‘यसपालिको तीजमा गायिका विष्णु माझीले एउटा गीत निकाल्नुभएको छ, आइन आमा यो तीजैमा !’ विष्णु माझीको यो गित सुनेर सायद यसपाली आँसु नझार्ने कमी भएको भण्डारीले सुनाएका छन्। गरिबी, पीडा र जस्तोसुकै समस्यामा पनि महिला दिदीबहिनीहरू छमछमी नाचिरहेको देखिएको भण्डारीले बोलेका छन्। 

तीजमा मौलिकताको खडेरी परिरहेको बेला वर्षमा एक दिन लोक गायिका माझीले बजारमा ल्याउने महिलाहरूको पीडा झल्किने तीज गीतले धेरैको पीडालाई भुलाउने गरेको छ। माझी उनै गायिका हुन्, जसले सधैं समाजको यथार्थ चित्रण गर्ने गरी गीत निकाल्ने गर्छिन्। 

‘लाइछु खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन, ज्वाइँले सौता हाल्या छैनन्’ माझीको गीतमा गाइएको यो टुक्का धेरै महिलाहरूले रुचाए। सांसद् भण्डारीले गायिका माझीले धेरै दिदीबहिनीहरूलाई छमछमी नचाउने गरी गीत सार्वजनिक गरेजस्तै सरकारले पनि नागरिकहरूलाई खुसी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए। 

यस्तो छ तीजको महत्व
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने गरिन्छ। अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ। तीजका दिन महिलाहरू व्रत बस्ने गर्छन्। 

चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भन्ने विश्वास छ। 

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतिकका रूपमा लिइन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास समेत छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.