मिथिलामा आज तीज र चौरचन मनाइँदै
महोत्तरी : तिथि एकै दिन परेकोले मिथिला क्षेत्रमा एकैदिन तीज र चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षका तृतीय तिथि र चतुर्थी तिथि आज शुक्रवार पर्न गएकोले मिथिलाञ्चलमा आजै एकैदिन तीज र चौरचन मनाउन लागिएको हो।
आज साँझ मनाइने चौरचन पर्वमा चन्द्रमाको विशेष रूपले पूजा हुने भएको छ । जसका लागि व्रतालुले नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरी लगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई पूजा गरी हातमा फल एवं पूजा सामग्री लिइ दर्शन गर्ने चलन रहेको छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरूले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यस पर्वलाई स्थानीयले चौरचन, चौठीचान र चौठीचन्द्र पर्व भन्छन्।
यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ सो माथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठानका परिकार खाजा, पिरुकिया, खीर, माटोको छाँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको छ ।
यस पर्वमा प्रयोग हुने माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घरको हुन्छ। यस तिथिमा चन्द्रमालाई नांगो आँखाले हेर्दा कलंक (अपनयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ दिएर चन्द्रमाको अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ ।
चौरचन पूजा विधि
पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । पर्वको दिन बिहानै आँगन गोबरले लिप्ने गरिन्छ । घर माटोले लिपिन्छ। घरको सम्पूर्ण परिवारलाई खाना खुवाइसकेपछि उपवास बसेका व्रतालु र घरको अन्य सदस्य मिलेर पर्वको लागि प्रसाद बनाउँछन्।
पर्व मनाउने क्रममा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञ स्थलमा द्वीप प्रज्वलन गर्दै उपवास बसेको व्रतालुले फलफूल र परिकारलाई प्रसादको रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।
चन्द्रमाको पूजा हुने यस पर्वमा आफ्नो घर आँगन खेत बारीमा फलेको कुराहरूलाई नै पूजामा समावेश गर्ने गर्दछ । नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रूपमा राखेर चन्द्रमालाईल चढाइने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
साँझको समयमा चन्द्रमा देखिनु भन्दा अघि नै दिनभरि उपवास बसेको व्रतालुले नुहाइ नया वस्त्र धारण गरी आँगनको दक्षिण पश्चिम कुनातिर सेतो माटोले चौका बनाउँछन्। यसपछि अर्वा चामल पिनेर त्यसले रेखा चित्रहरू बनाउँछन् ।
प्रार्थनापश्चात् सम्पूर्ण पुजा सामग्रीलाई एक एक गरी हातमा उठाएर चन्द्र देव भगवान्ला सुम्पिइनेछ। यो प्रक्रियालाई अर्घ पनि भनिन्छ । यसपश्चात् परिवारको सम्पूर्ण सदस्यले प्रणाम गरी सकेपछि व्रतालुले पूजालाई विसर्जन गर्दछ। पूजा स्थानमै रहेको नजको प्रसादलाई घरको दुई जना पुरुषले त्यो प्रसाद चढाएकै स्थानमा बसेर प्रसाद ग्रहण अर्थात् खाने चलन छ ।
नजको प्रसाद खाइसकेपछि त्यही स्थानमा खनेर जुठाएको पात गाड्ने चलन छ । त्यति मात्रै होइन प्रसाद खाएको मान्छेले हातसमेत त्यही धुने परम्परा छ । यस पश्चात् आफ्नो नजिकको आफन्त इष्टमित्रलाई बोलाइ प्रसाद अर्थात् यस दिन बनेका पकवान खुवाउने चलन रहिआएको छ।