पलेशालाई सम्मान गर्दै प्रचण्डले भने - खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र कूटनीतिलाई प्रबर्द्धन गर्छ
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने बताएका छन्। खुलमटारमा आज पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै उनले जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताएका हुन्।
प्रचण्डले खेल क्षेत्रले राष्ट्रिय एकता,आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्ने बताए। ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ.’उनले भने,‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो।’
पलेशाको परिवारलाई विशेष बधाई दिंदै उनले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताए। प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ आयोजित बधाइ तथा सम्मान कार्यक्रममा पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने घोषणा गरेका छन्। राखेप सदस्य सचिव टंकलाल घिसिङका अनुसार ओलम्पिकमा पाइला चालेको दशकपछि पलेसाले नयाँ इतिहास रचेको बताउँदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको छ। सदस्यसचिव घिसिङले मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै एसियाली खेलकुदका लागि तयारी सुरु भइसकेको बताए।
पेरिसस्थित ग्रान्ड प्यालेसमा गत अगष्ट ३० मा भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् । पलेसाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा पलेसाअघि नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका थिएनन् ।