विद्युतीय सवारीको प्रयोग बढाउन स्वदेशमै ब्याट्रीको फ्याक्ट्री खोल्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकलाई आर्थिक रूपमा सबल बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खड्काले दुई ठूला दल मिलेर बनेको अहिलेको सरकार स्थायी सरकार भएको भन्दै आर्थिक हिसाबले मुलुकलाई सबल बनाउने आवश्यकतालाई पूरा गर्न लागिपरेको बताएका छन्।
उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गरी आन्तरिक खपतलाई बढाउँदै बाह्य देशमा बिक्री वितरण गर्ने लक्ष्यलाई पूरा गर्न सबै सरोकारवालाहरूको साथ आवश्यक रहेको बताए।
मन्त्री खड्काले सोलार ऊर्जा उत्पादनका साथै विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनका लागि स्वदेशमा नै ब्याट्रीको फ्याक्ट्री खोल्नुपर्नेमा जोड दिए। वातावरणमैत्री ऊर्जा उत्पादनमा समेत सरकारको सकारात्मक साथ रहने उनको भनाइ छ।
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले काठमाडौंको भृकुटीमण्डपमा संयुक्त आयोजना गरेको एक्स्पो भाद्र २३ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर लगायतका विद्युतीय उपकरणका स्टल राखिएका छन्।