गोकर्णमणि दुवाडी गृह सचिव
काठमाडौं : सरकारले गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाएको छ। हाल राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा रहेका दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृहमा लैजाने सैद्धान्तिक सहमति गरे पनि निर्णय भने हुन सकेको थिएन। आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद्को बैठक गृह सचिव कसलाई बनाउने भन्ने बारेमा अनिर्णित भएको थियो। झन्डै आधा दर्जन सचिवलाई उछिन्दै दुवाडी गृह सचिव भएका हुन्।
मन्त्रिपरिषद् बैठकले आकांक्षीहरू धेरै भएपछि गृह सचिव छान्ने जिम्मा प्रधानमन्त्री र गृह मन्त्रीलाई दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच शुक्रबार भएको आन्तरिक छलफलपछि दुवाडीलाई गृहसचिव बनाउने सहमति जुटेको थियो।
गृह सचिवका लागि दुवाडीसहित दीपक काफ्ले, नारायणप्रसाद शर्मा दवाडी, मुकुन्द निरौला, हरि मैनालीलगायत आकांक्षी थिए।